२०८१ माघ २४
बुटवल ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन । उनले गठबन्धनलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताउँदै कार्यकर्तालाई पनि प्रतिवद्ध भएर मतदान गर्न आग्रह गरे ।
नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले शनिबार बुटवलमा आयोजना गरेको चुनावी आमसभामा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा मात्रै नभएर गठबन्धन प्रदेश र प्रतिनीधि सभा निर्वाचनसम्म पनि कायम रहने बताए ।
उनले शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने र आफ्नै पार्टीको भविश्य पनि राम्रो हुने बताए ।
‘यो राष्ट्रिय आवश्यकताको गठबन्धन हो । गठबन्धनको भविष्यका लागि उम्मेदवारहरूलाई जिताउनु आवश्यक छ । संघीयता, गणतन्त्र र लोकतन्त्रलाई स्थायी रूपमा बचाउन पनि गठबन्धन आवश्यक छ ।’ उनले भने–‘गठबन्धन दहरूबीच तालमेल गरेर उम्मेदवारी दिइएको छ । गठबन्धनका सबै साथीहरूलाई शंका उपशंका नगरी जिताउनुपर्छ ।’
देशको स्थायी विकास गर्न, सुकुम्वासीको समस्या समाधान गर्नदेखि राजनीतिक व्यवस्थाहरु जोगाउन पनि गठबन्धन बनेको प्रधानमन्त्री देउवाले प्रष्ट पारे । बुटवलवासीलाई एमालेका उम्मेदवारलाई मत नदिन आग्रह गर्दै उनले भने–‘एमालेलाई जिताएर के गर्नुहुन्छ ? ओलीजीले संसद् विघटन गरेको गरेकै गर्नुभयो । अदालतले न्याय गरेर संसद् पुनःस्थापना ग¥यो तर चल्न दिइएको छैन ।’
प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुदान भएको भन्दै अन्य देशसँग पनि अनुदान सहयोग लिएर देशको विकास गर्न आवश्यक रहेको बताए । उनले एमसिसि परियोजनाले धेरै फाईदा बुटवललाई हुने पनि उल्लेख गरे ।
त्यस्तै काँग्रेस नेता रामचन्द्र पौडेलले अब घरघरमा र अस्पतालका वेडवेडमा पुग्ने मेयर चाहिएको बताउंदै बुटवलमा त्यसको नेतृत्व खेलराज पाण्डेयले गर्ने बताए । उनले भौगोलिक दृष्टिकोणले पनि बुटवललाई स्मार्ट सिटी बनाउन आवश्यक रहेको बताउँदै गठबन्धनका उम्मेदवारले जिते त्यसमा केन्द्रबाट आफूहरुको पनि सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । एमालेको नक्कली राष्ट्रवादका कारण देशले धोका पाएको र नेपाली जनता ठगिएको उनले बताए ।
उनले केपि ओेली प्रबृत्तिको अन्त्यका लागि आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलिय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
एमालेलाई मनोरञ्जन दिलाउंछ भनेर भोट दिने ?
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले एमालेसँग मत माग्ने कुनै आधार नभएको बताएका छन । उनंले एमाले अध्यक्ष ओलीले मिठा हावा गफ मात्रै गरेको र मनोरञ्जन दिलाउने काम मात्रै गरेको आरोप लगाए । उनंले राजनीति खेलवाड र मनोरञ्जन गर्ने थलो नभएको भन्दै गम्भीर बन्न आग्रह गरे ।
’आफ्नो दुई तिहाइको सरकार ढाल्ने अनि गफ गरेर हुन्छ,’ उनले भने, ’गफ गर्ने र मनोरञ्जन गर्छौं भनेर भोट माग्ने ?
गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले बुटवलबाट लुम्बिनी प्रदेशको स्थायी राजधानी सार्नेहरुलाई भोट नदिन आग्रह गरेका छन । जनआन्दोलनमा निभाएको क्रान्तिकारी भूमिकालाई हेरेर कांग्रेस नेतृत्वको सरकारले बुटवललाई अस्थायी राधानी तोकेको तर एमालेले राजधानी दाङ पु¥याएको बताउँदै गृहमन्त्री खाँणले भने–‘स्थायी राजधानी बनाउँछौ भनेर भोट मागेकाहरुले राजधानी कहाँ पु¥याए ? अब राजधानी सारेको ठीक हो भनेर भोट दिने कि गलत हो भनेर नदिने सोच्ने बेला भएको छ ।’
गृहमन्त्री खाँणले एमाले उपाध्यक्ष विष्णु पौडेलप्रति कटाक्ष गर्दै सुकुमबासीको नाममा आफैंले बुटवल र काठमाडौंमा जग्गा लिएको पनि आरोप लगाए । ‘सुकुमबासीलाई व्यवस्था गर्नुभयो कि आफ्नो व्यवस्था गर्नुभयो ?’ उनले प्रश्न गर्दै भने–‘सुकुमबासीको हैन आफ्नो नामको लालपुर्जा हातमा आयो, बुटवलमा मात्र हैन काठमाडौंमा पनि ।’
कुनै दल कमजोर भएर नभई संविधानको रक्षा, विधिको शासन, नागरिकका हक र प्रेस स्वतन्त्रताको रक्षाका लागि पाँच दलबीच गठबन्धन भएको उनको भनाई थियो । उनले बुटवलमा खेलराज पाण्डेय जत्तिको क्रियाशिल र जनतामा भिजेको अर्को उम्मेद्वार नभएको दावी गर्दै बुटवलको प्रतिष्ठा जोगाउन पाण्डेय सहित गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।
त्यस्तै माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल बलदेव, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महत, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नवराज सुवेदी, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष रश्मीराज नेपाली, माओवादी केन्द्रका रुपन्देही जिल्ला अध्यक्ष निर्मल जिसीलगायतले पाच दलीय गठबन्धन आवश्यकताको आधारमा संविधान र व्यवस्थाको रक्षाको लागि निर्माण भएको भन्दै गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।
एनीहरुले एमाले सरकार काण्डैकाण्डमा जोडिएको र अब केका लागि भोट दिने ? भनेर प्रश्न गरे । रेल, पानीजहाज, घरघरमा ग्याँसको पाईपलाईनलगायतका तमाम सपनाहरु कहाँ गए भन्दै एमालेलाई प्रश्न गरे । उनीहरुले गठबन्धनले नागरिकका आधारभूत आवश्यकता पूरा गरी दीर्घकालिन विकासको नीति लिएको पनि बताए ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकामा मेयर पदका उम्मेदवार रामकृष्ण खाँण, बुटवलका मेयर पदका उम्मेदवार खेलराज पाण्डे र उपमेयरका उम्मेदवार चिनबहादुर गुरुङले आफ्ना प्रतिवद्धता व्यक्त गर्दै विगत ५ वर्षमा एमालेले जित्दा के भयो फर्केर हेर्न आग्रह गरेका थिए । कार्यक्रम काँग्रेस नेता युवराज गिरीको सञ्चालनमा भएको थियो ।