२०८२ फाल्गुन ८

समस्याको समाधान नीतिगत रुपमा खोज्ने कांग्रेस उम्मेदवार चुन्नको प्रतिबद्धता
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन ८, शुक्रबार १३:१३ गते

तिलोत्तमा ५ र ६ मा चुन्नप्रसाद शर्मा पौडेलको घरदैलो
बुटवल, ८ फागुन ।
रुपन्देही क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेलले तिलोत्तमा नगरपालिका–५ र ६ मा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । निर्वाचन आउन १३ दिन बाँकी रहँदा उनी मतदातासँग प्रत्यक्ष भेटघाट, संवाद र समस्याको पहिचानमा केन्द्रित भएका छन् ।
घरदैलोका क्रममा स्थानीय नागरिकले वर्षौंदेखि दोहोरिँदै आएका गुनासो खुलेर राखेका छन । कतै ढल निकासको समस्या, कतै सडक स्तरोन्नति अधुरो, कतै खानेपानीको अभाव, त कतै स्वास्थ्य सेवा र शिक्षाको गुणस्तरप्रति असन्तुष्टि सुनिएको छ । युवा पुस्ताले भने “रोजगारका लागि विदेशिनुपर्ने बाध्यता बन्यो” भन्दै अवसर सिर्जनाको माग गरेका छन् । स्थानीय कृषकहरूले उत्पादनको उचित मुल्य पाउनुपर्ने, मल–बिउको अभाव र बजार व्यवस्थापन कमजोर भएको गुनासो गरे । साना व्यवसायीहरूले बैंकिङ सहजता र कर प्रणालीमा सुधार आवश्यक रहेको बताए । कांग्रेस उम्मेदवारलाई मतदाताले आश्वासनले अघाएको भन्दै कामले पुष्टी गर्न सुझाव दिएका छन् ।

यी गुनासो ध्यानपूर्वक सुन्दै पौडेलले आफू किसान परिवारबाट आएको र ब्यापार–व्यवसायमा संघर्ष गरेर स्थापित भएको व्यक्तिका रूपमा स्थानीयको पीडा नजिकबाट बुझेको बताए । “मलाई यहाँका समस्या कागजमा होइन, व्यवहारमा थाहा छ,” उनले भने, “तपाईंहरूको दुःख–सुख संसदसम्म र्पुयाउने र नीतिगत रूपमा समाधान खोज्ने प्रतिबद्धता गर्दछु ।”
उनले स्वास्थ्य संस्थाको स्तरोन्नति, सामुदायिक विद्यालयको गुणस्तर सुधार, कृषि उत्पादनलाई बजारसँग जोड्ने संरचना निर्माण, युवालाई स्थानीयमै उद्यम गर्न प्रोत्साहन, तथा साना उद्योगलाई संरक्षण गर्ने नीति ल्याउने आफ्नो प्राथमिकता रहेको स्पष्ट पारे ।
पौडेलले सदनबाट मात्र होइन जनतासँग नियमित संवाद कायम राख्ने र टोलस्तरमै बसेर मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाए । “म चुनाव जितेर टाढा जाने होइन, नजिकको सहयात्री भएर काम गर्नेछु, जनताकै बिचमा रहेर सेवा गर्नेछु”– उनले भने । पौडेलसंगै समानुपातिक उम्मेदवार रिता सेन ओली पनि घरदैलोमै रहेकी छिन् । स्थानीयसँग भेटघाट गरी विकास, रोजगारी, सडक र ढल निकास लगायतका विषयमा सुझाव तथा गुनासा संकलन गरिएको छ । घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । शनिबार बिहान ६ बजेदेखि बुटवल वडा न १३ मा घरदैलो ,दिउसो ११ बजे बौद्धिक क्षेत्र एवं निबृत्त राष्ट्रसेवक निर्वाचन परिचालन समितिको आयोजनामा हुने बुद्धिजीवी भेलाको कार्यक्रम रहेको छ । सो कार्यक्रममा कांग्रेस पार्टी प्रवक्ता देवराज चालिसेको प्रमुख आतिथ्यता रहने नेपाली कांग्रेस रुपन्देही क्षेत्र न २ का निर्वाचन परिचालन मूल समितिका संयोजक तथा क्षेत्रीय सभापति प्रजापाल गिरिले जानकारी दिए ।