२०८२ फाल्गुन ९
बुटवल ८ फागुन ।
शुभयात्रा नेपाल रूपन्देहीले सञ्चालन गरेको वडास्तरीय छनौट र प्रशिक्षण पश्चात्को तिलोत्तमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताको ‘भव्य समापन’ (ग्राण्ड फिनाले) मणिग्राममा सम्पन्न भएको छ । तिलोत्तमा नगरभित्रका सबै १७ वटा वडाका विद्यार्थीबीच ‘असल नेतृत्व विकास’ अभियानसहित “मेरो वडा समस्या र सम्भावना” विषयमा छनौट चरणका कार्यक्रम गरिएको थियो । त्यस्तै “तिलोत्तमा नगरपालिका समस्या र सम्भावना” विषयमा ‘भव्य समापन’को प्रतियोगिता सञ्चालन भएको संस्थाका जिल्ला अध्यक्ष मुक्तिनाथ गैह्रेले जानकारी दिंए ।
प्रजातन्त्र दिवसका अवसरमा सञ्चालित ‘भव्य समापन’ प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एघार हजार एकसय एघार, सातहजार सातसय सतहत्तर र पाँचहजार पाँचसय पचपन्न रूपियाँ बराबरको पुरस्कार प्राप्त गरेका छन् । अन्य सहभागीले एकहजार एकसय एघार रूपियाँ बराबरको पुरस्कार प्राप्त गरेको संस्थाले जानकारी दिएको छ । राममणि बहुमुखी क्याम्पसको सभाहलमा भएको प्रतियोगितामा डिङ्गरनगर समिति, तिलोत्तमा –४ का बासिन्दा एवम् बुटवल पब्लिक स्कूलकी विद्यार्थी दिया सुवेदी पहिलो भएकी छिन् ।
त्यस्तैः करहिया समिति, तिलोत्तमा ९ की बासिन्दा एवम् न्यू इन्भाइरनमण्ट मा.वि.का विद्यार्थी विनिशा बगाले दोस्रो भएको संस्थाका निर्णायक मनोज भट्टराईले बताए ।
त्यसैगरी, गोठवा समिति, तिलोत्तमा ८ की बासिन्दा एवम् शान्ति नमूना मा.वि.का विद्यार्थी अनुश्री शर्मा तेस्रो भएकोे निर्णायक मण्डलका संयोजक पुराण गुरूङ्ले जानकारी दिए ।
संस्थाले गत कार्तिक अन्तिम सातादेखि तिलोत्तमा १७ वटै वडामा पालैपालो छनौट प्रतियोगितासँगै प्रारम्भिक प्रशिक्षण सञ्चालन गरेको थियो । सबै वडाका छनौट चरण सकिएपछि सम्पूर्ण सहभागीका लागि फागुन २ गते ‘असल नेतृत्व’ सन्दर्भमा ७ जना नेतृत्वदायी प्रशिक्षकबाट दिनभरको तालिम समेत सञ्चालन गरेको थियो ।
त्यसअघि, प्रतियोगिता उद्घाटन् गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले शुभयात्रा नेपालले अगाडी सारेको नेपालका देवभूमिक्षेत्र (गण्डकी, कोशी, कर्णाली), ७ वटा गौ–चरण क्षेत्र, क्यान्सर अस्पताल, फोहरमुक्त नेपाल र पर्यटन सहितका पञ्चसूत्रीय योजना प्रसंशायोग्य भएको बताए ।
साथै, आगामी दिनमा नगरपालिकाले शुभयात्रा नेपालसँग सहकार्य गर्दै जाने पनि बताए । नगरप्रमुख खाणले नेतृत्व विकासको दिगोपनाका ‘असल नेतृत्व वक्तृत्वकला’ कार्यक्रमले योगदान पुग्ने बताए ।
सो अवसरमा शुभयात्रा नेपालका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले नेपाली माटोको आवश्यकता बमोजिम विगत करीब ३ दशकदेखि संस्थाले विविध कार्यक्रम गर्दै आएको बताए ।
संस्थाका तिलोत्तमा नगरसमितिका संयोजक ईश्वरीप्रसाद पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै तिलोत्तमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनीले कार्यक्रमले आफू प्रभावित भएको बताए ।
शुभयात्रा नेपाल रूपन्देहीका कोषाध्यक्ष शोभा रानामगरको स्वागतमा भएको कार्यक्रममा वडाध्यक्षका तर्फबाट बोल्दै तिलोत्तमा –१० का वडाध्यक्ष गोपाल प्रसाद घिमिरेले नगरपालिकाकै नीति निर्माणमा सहयोग पुग्ने पृष्ठपोषण कार्यक्रमबाट प्राप्त भएको बताए ।
सो अवसरमा बालमैत्री सहजकर्ताहरूको तर्फबाट लक्ष्मी ज्ञवाली, शुभयात्रा नेपाल तिलोत्तमाका १७ वटा समितिका तर्फबाट जानकीध्यान समितिका भगवता बेलबासे र कोटहीमाई समितिका बालकृष्ण न्यौपानेले कार्यक्रमबाट समाजमा योगदान र आफूहरूमा आत्मसन्तुष्टि उत्पन्न भएको उल्लेख गरे ।


