२०८२ फाल्गुन ११
बुटवल, १० फागुन ।
हरेक बिहान बुटवलको देवीनगरस्थित वाणिज्य क्याम्पस नजिकै रहेको पुरानो नवदुर्गा मन्दिरको आँगनमा धूपको सुगन्ध फैलिन्छ । आरतीको मधुर ध्वनी, उज्यालो र श्रद्धालुहरूको शान्त अनुहार—यी सबैले यहाँको आध्यात्मिक वातावरणलाई अझ गहिरो बनाइदिन्छ ।
यो मन्दिरमा दैनिक पूजा, विशेष आराधना र पर्व–उत्सवको चहलपहल देखिन्छ । तर, केही वर्ष अघिसम्म यहाँ वर्षमा एक पटक मात्र पूजा हुन्थ्यो । उक्त नवदुर्गा मन्दिरलाई विधिवत दर्ता गरि व्यवस्थित बनाउने पहलसँगै यसको स्वरूप परिवर्तन भयो । यस परिवर्तनको केन्द्रमा छन्—उद्योगी, समाजसेवी तथा धार्मिक व्यक्तित्व चुन्नप्रसाद पौडेल ।
नवदुर्गा मन्दिरका संस्थापक अध्यक्ष एवं संरक्षक अर्जुन कुँवरका अनुसार, दर्तापछि पौडेलले मन्दिरको संरचना सुधारदेखि दैनिक पूजाआजाको व्यवस्थापनसम्म आर्थिक जिम्मेवारी सम्हाले । तेल, धूप, पूजा सामग्री र पुजारीको पारिश्रमिक—यी सबै खर्च वर्षौँदेखि उनले नै व्यहोर्दै आएका छन् ।
साथै, मन्दिरको दीर्घकालीन स्थायित्वका लागि पौडेलले अक्षय कोष स्थापना गरेका छन् । “पहिले यहाँ वार्षिक पूजा मात्र हुन्थ्यो, अहिले दैनिक आरतीसँगै बेला–बेलामा विशेष पूजा हुन्छ,” कुँवर भन्छन्, “यो परिवर्तनले समुदायलाई जोडेको छ ।”
तिलोत्तमा नगरपालिका वार्ड ४ स्थित श्रृगेश्वर धाम २०७२ सालमा निर्माण सम्पन्न भयो । धाम परिसरभित्र मुलमन्दीर र पशुपति सदन, नामक आश्रम पनि छ जसको निर्माण चुन्नु पौडेलले गरेका हुन् । जहाँ धर्म र सेवाको समन्वय देखिन्छ । यहाँ दैनिक पूजा मात्र होइन, ज्येष्ठ नागरिकहरूका लागि योग, भजन–कीर्तन र भोजनको व्यवस्था छ । तिलोत्तमाको ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेका अनुसार, दैनिक एक सयभन्दा बढी ज्येष्ठ नागरिक आश्रममा सहभागी हुन्छन् । जहाँ योग, प्रवचन, भजन र भोजन पनि हुने गर्दछ ।
पौडेलको योगदान केवल एउटा–दुईटा मन्दिरमा सीमित छैन । बुटवलको योगीकुटीस्थित शनि मन्दिर, कालिका नगरको नरेश्वर मन्दिर, बुटवल–५ को क्रियापुत्री हल, गोलपार्कको मन्दिर, दीपनगरको नीलकण्ठ बाबाधाम, सत्य शाही मन्दिर र शिवालय मन्दिर—यी सबैमा निर्माण, जीर्णोद्धार वा पूर्वाधारका काम गरेका छन् । त्यसमा लगानीको हिसाब भन्दा सेवा भावले गरेको पवित्र कार्यहरू रहेको पौडेले बताउँछन् ।
उनका भाइ नरेश्वर पौडेलका अनुसार नयाँ मन्दिर भवन निर्माण, मूर्ति स्थापना, प्राण प्रतिष्ठा, धर्मशाला र सभा हल निर्माणमा व्यवस्थापकीय र आर्थिक सहयोग निरन्तर हुँदै आएको छ । धेरैजसो मन्दिरहरूमा भागवत सप्ताह, पुराण प्रवचन, यज्ञ, शिवरात्री, राम नवमी र कृष्ण जन्माष्टमी जस्ता पर्वमा विशेष कार्यक्रम आयोजना हुने गरेको बताए ।
बागलुङबाट व्यापारका लागि बुटवल आएका चुन्नप्रसाद पौडेल स्थापित उद्योगीका रूपमा देशभर परिचित छन् । उत्पादन क्षेत्रबाट प्राप्त उपलब्धिलाई उनले सामाजिक र धार्मिक सेवासँग जोडेका छन् । उनी नेपाली काँग्रेसका सक्रिय नेता (महासमिति) सदस्य समेत हुन् र रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा अघि बढिरहेका छन् । तर, उनलाई चिन्नेहरूका लागि उनको अर्को पहिचान अझ बलियो छ—धार्मिक व्यक्तित्व ।
धार्मिक परिवारमा हुर्केका उनले सानैदेखि मठ–मन्दिर निर्माण र सहयोगमा आत्मसन्तुष्टि पाउने बताएका छन् । “सबैभन्दा ठुलो कमाइ भनेको आत्मसन्तुष्टि हो,” उनी भन्छन्, “त्यही सन्तुष्टिका लागि हाम्रो परिवार वर्षौँदेखि धार्मिक र सामाजिक सेवामा सक्रिय छ र निरन्तर रहनेछ ।” पौडेलको विश्वास छ—धार्मिक गतिविधिले केवल आस्था होइन, आर्थिक र सामाजिक क्षेत्रमा चलायमानता पनि बढाउँछ । यसवाहेक धार्मिक पर्यटनको सम्भावना, स्थानीय रोजगारी सृजना र युवापुस्तामा नैतिक शिक्षा प्रवद्र्धन—यी सबै पक्षमा सकारात्मक प्रभाव पर्ने उनको धारणा छ ।
