२०८२ फाल्गुन १३
पहिरो नियन्त्रण र सुकुम्बासी समस्या समाधान, तिनाउ तटबन्ध, ढल निकास र पार्किङ ब्यवस्थापनमा चुन्नकोे प्रतिबद्धता
बुटवल, १२ फागुन ।
रुपन्देही क्षेत्र नं. २ बाट नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेलले घरदैलोमा मतदाताको स्नेह र मायाले जित पक्का रहेको दाबी गरेका छन् ।
आज मंगलबार बुटवलका तीनवटा वडामा घरदैलो ,भेटघाटका क्रममा मतदाताहरुको उल्लेख्य सहभागिताले उम्मेदवारलाई हौसला र उत्साह थपिएको हो । पौडेलले मंगलबार बुटवल उपमहानगरपालिका वडा न ४, ५ र ६ मा सयौँंको उपस्थितिमा घरदैलो अभियान भएको हो । घरदैलोमा पहिरो र सुकुम्बासी समस्यामा समाधान गरिदिन मतदाताले आग्रह गरेका थिए । उम्मेदवार पौडेलले मतदाताको गुनासाहरु सम्बोधनको प्रतिबद्धता जनाए । मतदाताको घरदैलो कार्यक्रममा रहेका चुन्नप्रसाद शर्मा पौडेलले मतदाताको समस्या सुन्नेदेखि ज्येष्ठ नागरिकको आशीर्वाद थाप्नमा व्यस्त रहे ।
पौडेल र समानुपातिक उम्मेदवार रिता सेन ओलीले घरदैलो अभियानको आठौं दिन बुटवलका विभिन्न वडामा सक्रिय सहभागिता जनाए । उनीहरुलाई मतदाताले घरघरमा टीका,माला र खादा,दहि खुवाएर सम्मान गर्दै आशिर्बाद दिएका छन् । बिहान बुटवल उपमहानगरपालिका–४ को लक्ष्मीनगर गेटबाट सुरु भएको अभियान लक्ष्मीनगर, आदर्शनगर, राममन्दिर लाइन हुँदै अमरपथ क्षेत्रसम्म पुगेको थियो । स्थानीय बासिन्दाले विशेषगरी वर्षायाममा देखिने पहिरोको जोखिम, अव्यवस्थित बस्ती, सुकुम्बासी व्यवस्थापन, सडक र ढल निकासका समस्या उठाए । उम्मेदवार पौडेलले मतदातासँग भने, –‘हामी चुनाव जित्न मात्र होइन, दीर्घकालीन समाधानका लागि आएका हौं।’ पहिरो नियन्त्रण, सुरक्षित बस्ती निर्माण र सुकुम्बासी समस्याको कानुनी समाधानका लागि संघीय तहबाट पहल गर्ने प्रतिवद्वता जनाए । उनले थपे–‘बुटवललाई व्यवस्थित, सुरक्षित र अवसरयुक्त सहर बनाउन स्पष्ट योजना लिएर अघि बढेका छौ ।’
त्यसैगरी समानुपातिक उम्मेदवार ओलिले पनि मतदातासँग महिला, श्रमिक, दलित र विपन्न समुदायका मुद्दा अझै पनि ओझेलमा रहेकाले संसदमा पुगेपछि यी वर्गको आवाज मजबुत रूपमा उठाउने प्रतिबद्धता ब्यक्त गरिन् । दिउँसो १२ बजेदेखि टोली वडा नं. ५ मा पुगेको थियो । पुरानो बसपार्क, न्युरोड, सुकुम्बासी टोल, सब्जी मण्डी हुँदै अमरपथ क्षेत्रमा पुगेका उम्मेदवारहरूले व्यवसायीसँग छलफल गरेका थिए । व्यापारीहरूले बजार व्यवस्थापन, पार्किङ अभाव र व्यापारमा आएको मन्दीबारे गुनासो गरेका थिए । यस सन्दर्भमा पौडेलले स्थानीय व्यवसायी बलियो भए मात्र अर्थतन्त्र चलायमान हुने, व्यवस्थित बजार, पार्किङ व्यवस्थापन र साना व्यवसायीको संरक्षणका लागि नीति र बजेट ल्याउन पहल गर्ने बताए ।
दिउँसो ३ बजेपछि वडा नं. ६ अन्तर्गत नेपालगञ्ज रोड, ट्राफिकचोक, मैत्रीपथ, श्रवणपथ लगायतका क्षेत्रमा घरदैलो अभियान गरिएको थियो । यहाँका बासिन्दाले खानेपानी, ढल निकास र सडक स्तरोन्नतिका विषयमा ध्यानाकर्षण गराएका थिए । अभियानमा पार्टीका स्थानीय नेता, कार्यकर्ताको सहभागिता रहेको थियो । पहिलो पटक चुनावी मैदानमा आएका उद्योगपति शर्मासंग यस क्षेत्रका मतदाता मात्रै नभएर आम नागरिक उत्साहित रहेको कांग्रेसले जनाएको छ । उद्योगी तथा व्यवसायीहरु आफ्नै क्षेत्रको उम्मेद्वार पाएकोमा आफू नै उम्मेद्वार भएको जस्तै खुसी देखिएको कांग्रेस नेताहरुको भनाइ छ । उम्मेद्वार शर्माका अनुसार उनले बुटवललाई आर्थिक केन्द्रसहित आईटी हवको रुपमा विकास गर्ने, लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिस्ठानको रुपमा विकास गर्ने र आम्दा अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्ने योजना बुनेका छन् । त्यसैगरी तिलोत्तमा, सैनामैनालाई आधुनिक सहरको रुपमा विकास गर्ने, मोतिपुर सहितका ग्रामिण क्षेत्रलाई कृषि पकेट क्षेत्रको रुपमा अघि बढाउने योजना रहेको छ ।



