२०८२ फाल्गुन १३
बुटवल, १३ फागुन ।
नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार विष्णुप्रसाद पौडेलले बुधबार बुटवलका दुई वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ७ मा दिउँसोदेखि सुरु भएको घरदैलोमा स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको थियो । घर–घर पुगेर मत माग्दै पौडेलले विगतमा सम्पन्न गरिएका विकास निर्माणका कामहरू स्मरण गराउँदै बाँकी योजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, ढल निकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने बताए ।
वडा नम्बर ७ का स्थानीय रामप्रसाद न्यौपानेले आफ्नो कार्यकालमा पौडेलले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिएको बताउँदै आगामी दिनमा पनि निरन्तरता आवश्यक रहेको प्रतिक्रिया दिए । अर्की स्थानीय मतदाता गीता आचार्यले महिला उद्यमशीलता र युवालाई सीपमूलक तालिम विस्तारमा पहल गरिदिन आग्रह गरिन् । त्यसको जवाफमा पौडेलले महिलामैत्री कार्यक्रम र स्वरोजगार केन्द्रित योजनालाई अझ सशक्त बनाउने आश्वासन दिएका थिए ।
त्यसैगरी बिहान बुटवल वडा नम्बर ८ मा पनि उनले घरदैलो कार्यक्रम सञ्चालन गरेका छन् । यहाँका मतदातासँग भेटघाट गर्दै उनले बुटवललाई व्यवस्थित, आधुनिक र आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे । विशेषगरी शिक्षा, स्वास्थ्य र साना व्यवसाय प्रवद्र्धनमा थप लगानी गर्ने योजना पौडेलले सुनाए ।
वडा नम्बर ८ का सुरेन्द्र थापाले पौडेलको अनुभव र पहुँचले यस क्षेत्रको विकासमा फाइदा पुग्ने विश्वास व्यक्त गरे । अर्की स्थानीय माया रानाले बाढी नियन्त्रण र वातावरण संरक्षणमा दीर्घकालीन योजना ल्याउन आग्रह गरिन् । जवाफमा पौडेलले तिनाउ–दानव करिडोर व्यवस्थापन, हरित पूर्वाधार र दिगो सहरी विकासका कार्यक्रमलाई अघि बढाउने प्रतिबद्धता जनाए ।
उनले अधुरा आयोजनालाई छिटो सम्पन्न गर्ने, युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र शिक्षा–स्वास्थ्य पूर्वाधारलाई प्राथमिकतामा राख्ने बताए । “विकासको आधार तयार भइसकेको छ, अब त्यसलाई परिणाममा रूपान्तरण गर्न स्थिर नेतृत्व आवश्यक छ,” उनले भने ।
दुवै वडामा भएको घरदैलो कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो । मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास, स्थायित्व र समृद्धिलाई मुख्य एजेन्डा बनाएको सन्देश पौडेलले दोहो¥याएका थिए ।