२०८२ फाल्गुन १७

बुटवल–११ मा एमालेको घरदैलोः विकासप्रेमीलाई साथ दिने मतदाताको प्रतिक्रिया
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन १७, आईतवार १३:२० गते

बुटवल, १७ फागुन ।
बुटवल उपमहानगरपालिका–११ मा नेकपा (एमाले) ले घरदैलो अभियान उत्साहजनकरुपमा सम्पन्न गरेको छ । बुद्धनगर, पवित्रनगर, हात्तीसुँड लगायतका क्षेत्रमा स्थानीय मतदाताको उल्लेख्य उपस्थितिसहित एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलको नेतृत्वमा घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।
अभियानका क्रममा १ हजार ३ सय ५० जनाले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई स्वागत गर्दै पौडेलले रुपन्देही–२ को विकास, पूर्वाधार विस्तार र दीर्घकालीन योजना कार्यान्वयनमा निरन्तरता आवश्यक रहेको बताए । “यो क्षेत्रको विकासका लागि सुरु गरिएका आयोजना अधुरा नछाड्ने प्रतिबद्धता लिएको छु,” उनले भने, “स्थिर नेतृत्व र स्पष्ट दृष्टिकोणले मात्र समृद्धि सम्भव हुन्छ, यस क्षेत्रको भूमिहीन, अव्यवस्थित बसोबासी र सुकुम्बासीको समस्या एमालेले मात्रै हल गर्छ ।”
स्थानीय मतदाता कमला खत्रीले विगतका वर्षमा सडक विस्तार, खानेपानी तथा पूर्वाधार निर्माणमा देखिएको प्रगतिलाई निरन्तरता दिनुपर्ने बताइन् । “काम गर्ने नेतृत्व चाहिएको हो, भाषणभन्दा पनि परिणाम देखिनुपर्छ,” उनले भनिन् । अर्का मतदाता राजेश पुनले रोजगारी सिर्जना र युवामुखी कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आफूहरूले विकासलाई केन्द्रमा राखेर निर्णय गरेको बताए ।
एमालेले रुपन्देही क्षेत्र नम्बर २ अन्तर्गतका २३ वटै वडामा प्रदर्शन र र्यालीसमेत आयोजना गरेको जनाएको छ । पार्टीका स्थानीय नेताहरूका अनुसार घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद, सुझाव सङ्कलन र आगामी कार्ययोजनाबारे जानकारी गराइएको छ ।
पौडेलले घरदैलोका क्रममा निर्वाचनलाई विकासको निरन्तरता र स्थायित्वसँग जोडेर हेर्नुपर्ने बताए । “रुपन्देहीलाई औद्योगिक, शैक्षिक र पूर्वाधारका दृष्टिले नमुना क्षेत्र बनाउने लक्ष्यका साथ अघि बढिरहेका छौँ,” उनले भने ।
एमालेले घरदैलोका क्रममा व्यापक जनसमर्थन प्राप्त भएको दाबी गर्दै जित निश्चित भएको जनाएको छ ।