२०८२ फाल्गुन १८

मतदाताको अपार माया र सद्भावले मेरो जित सुनिश्चितः चुन्नप्रसाद शर्मा पौडेल
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन १८, सोमबार १५:०७ गते

बुटवल, १८ फागुन ।
प्रचारप्रसारको अन्तिम दिन आज रुपन्देहीको सैनामैना नगरपालिका वडा न १ मा १३५ युवा कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी नेकपामा आवद्ध सुरज बिक,नरु जिसीको नेतृत्वमा १३५ युवा कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाइ एक कार्यक्रमका बिच सोमबार नेपाली कांग्रेस क्षेत्र न २ का सभापति प्रजापाल गिरि, प्रदेशसभा क्षेत्रीय सभापति चिन्तामणी भुसाल, वडा १ का सभापति फटिक केसी, लक्ष्मण घिमिरे,अनिल पहाडीलगायतले प्रवेश गराएका हुन् ।
क्षेत्र न २ रुपन्देहीमा नेपाली काङ्ग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले आज अन्तिम दिन तिलोत्तमा र बुटवल क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् ।
तिलोत्तमा नगरपालिका–४ अन्तर्गत ड्राइभरटोल, डिङ्गरनगर, सीमानगर लगायतका क्षेत्रको घरदैलोमा स्थानीयले उत्साहजनक रुपमा सहभागिता जनाएका थिए । यस्तै बुटवल उपमहानगरपालिका वडा न ११ का विभिन्न टोलमा समेत घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन् । घरदैलोका क्रममा उम्मेदवार पौडेलले स्थानीयसँग संवाद गर्दै सुकुम्बासी समस्या समाधान, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र नदी नियन्त्रणका लागि तटबन्ध निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले क्षेत्रको समग्र विकासका लागि जनताको आवश्यकता र सुझावका आधारमा योजना अघि बढाइने पनि बताए । मतदातासँगको भेटघाटमा उनले विकास, रोजगारी सिर्जना तथा आधारभूत सेवा विस्तारलाई केन्द्रमा राखेर काम गर्ने आफ्नो योजना रहेको बताएका थिए । एउटा निर्वाचन क्षेत्रका जनप्रतिनिधिहरूको हैसियतले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूका चाहना, चासो, चिन्ता र आवश्यकतालाई सम्बोधन गराउन निरन्तर आवाज उठाउने उनको भनाइ छ । उम्मेदवार पौडेलले ज्ञान, विज्ञान र प्रविधिको विकाससंगै आएका अवसर र चनौतिको व्यवस्थापन गरी नवयुवा लगायत पछाडि परेका र पारिएका वर्ग समुदायलाई राष्ट्र निर्माणमा जोड्न समर्पित हुने बताए । घरदैलोमा स्थानीयले समेत क्षेत्रका विविध समस्या राख्दै समाधानका लागि पहल गर्न आग्रह गरेका थिए । पौडेललाइ घरदैलोमा खादा,माला,टीका लगाएर मतदाताले घरघरमा स्वागत गर्दै जितको शुभकामना र आर्शिबाद समेत प्रदान गरेका छन् । मतदाताको माया र सद्भावले आफ्नो जित सुनिश्चित भएको उम्मेदवार पौडेलले बताए ।