२०८२ फाल्गुन २६
बुटवल २६ फागुन ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा जित दर्ता गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्य दललाई पाँच सिटमा खुम्च्याइदिएको छ । यहाँ एमालेका उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, नेताहरू प्रदीप ज्ञवाली, खिमलाल भट्टराई, सूर्य थापा पराजित भएका छन् । त्यस्तै, कांग्रेस नेता चन्द्र भण्डारी, कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरी, कांग्रेस नेता किशोरसिंह राठौर, चर्चित उद्योगी विनोद चौधरी, कांग्रेस प्रदेश अध्यक्ष अमरसिंह पुनलगायतका नेताहरूले पराजय व्यहोर्नुपरेको छ ।
नेपाली कम्युनिस्ट पार्टीका देवेन्द्र पौडेल, मेटमणि चौधरी, सोमप्रसाद पाण्डेलगायतका नेताहरू पनि यसपटकको निर्वाचनमा किनारा लाग्नुपरेको छ । त्यस्तै, लामो राजनीतिक विरासत बनाएका हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्लाले पनि पराजय भोग्नुपरेको छ ।
अन्य दलका हस्तीहरूले पराजय भोग्दा रास्वपाका महामन्त्री सुनील लम्साल, नेता सागर ढकाल, सहमहामन्त्रीदेखि रास्वपाका अधिकांश उम्मेदवारले जित दर्ता गराएका छन् । २६ क्षेत्र मध्ये २१ क्षेत्रमा जित हासिल गरेको रास्वपाले अधिकांश क्षेत्रमा फराकिलो जित निकालेको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि यसै प्रदेशबाट चुनावी मैदानमा रहेकाले थप चर्चित यस प्रदेशमा प्रचण्डले जित हासिल गरेका छन् । उनको पार्टीबाट नेता वर्षमान पुनले पनि जित निकालेका छन् । रुपन्देही, पश्चिम नवलपरासी, दाङ, गुल्मी, बर्दिया, अर्घाखाँची, प्युठानमा रास्वपाले क्लिनस्विप गरेको छ । कपिलवस्तुमा दुई, बाँकेमा दुई र पाल्पामा एक सिटमा पनि रास्वपाले जित निकालेको छ ।
कांग्रेसले पाल्पा र कपिलवस्तुमा एक–एक सिट दर्ता गराउँदा नेपाली कम्युनिस्ट पार्टीले रोल्पा र रुकुम पूर्वमा जित निकालेको छ । नेकपा एमालेले बाँकेमा एउटा क्षेत्रमा जित निकालेर चित्त बुझाउनुपरेको छ ।
रुपन्देहीमा फराकिलो मतान्तरसहित क्लिनस्विप
राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देहीमा ऐतिहासिक जित निकालेको छ । यहाँ तीनवटा क्षेत्रका उम्मेदवारले ५४ हजारभन्दा पनि धेरै मतका साथ जित हात निकालेका छन् । सबै उम्मेदवारहरूको जमानत नै जफत हुने गरी उनले मत प्राप्त गरेका छन् ।
रुपन्देही ३ मा रास्वपाका उम्मेदवार डाक्टर थापा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशील गुरुङलाई भारी मतले पराजित गर्दै निर्वाचित भएका हुन् । डाक्टर थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दा कांग्रेसका गुरुङले आठ हजार ४३५ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका वासुदेव घिमिरेले आठ हजार २७५ मत प्राप्त गरेका छन् । यहाँ राप्रपाका गौरव बोहराले सात हजार ७८९ मत प्राप्त गरेका छन् । यो विगतमा राप्रपाका तत्कालीन नेता स्वर्गीय दीपक बोहराको क्षेत्र हो । यसै क्षेत्रबाट विगतमा कांग्रेस नेता बालकृष्ण खाणले पनि जित निकालेका थिए । यसपटक कांग्रेस र राप्रपाले जमानतसमेत जोगाउन सकेनन् ।
त्यस्तै, रुपन्देही १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री सुनील लम्साल निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हिराबहादुर खत्रीलाई फराकिलो मतान्तरले पराजित गर्दै जित दर्ता गरेका छन् । लम्सालले ५४ हजार ८४५ मत प्राप्त गर्दा कांग्रेसका खत्रीले ११ हजार ९८२ मत प्राप्त गरेका छन्। त्यस्तै, राप्रपाका प्रज्जवल बोहराले आठ हजार ३०१ मत प्राप्त गरेका छन् । यहाँ एमालेका दधिराम न्यौपानेले सात हजार ४८८ मत प्राप्त गरेका छन् ।
अघिल्लो निर्वाचनमा एमालेले जितेको यस क्षेत्रमा यसपटक एमालेका उम्मेदवारले जमानतसमेत जोगाउन सकेनन् । रुपन्देही २ लाई लालकिल्लाका रूपमा लिँदै आएको एमालेलाई ब्रेक लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलले ऐतिहासिक जित दर्ता गरेका छन् । यहाँ एमालेका उपाध्यक्ष विष्णु पौडेललगातारको पाँचौँ जित निकाल्न मैदानमा उत्रिएका थिए, तर खरेलले उनलाई पराकिलो मतान्तरसहित पराजित गरेका छन् । खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दा एमालेका विष्णु पौडेलले १२ हजार ८६१ मत प्राप्त गरेका छन् । त्यस्तै, कांग्रेसका चुन्नप्रसाद शर्माले नौ हजार ३९२ र नेपाली कम्युनिस्ट पार्टीका सुभाष पाण्डे विश्वदीपले एक हजार ४०९ मत प्राप्त गरे ।
रुपन्देही ४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित भएका छन् । उनले २८ हजार ६६ मत ल्याएर विजयी भएका छन् । यहाँ उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका आशुतोष मिश्रले १५ हजार ६१३ मत प्राप्त गरेका छन् । यस क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका राजनीतिक खेलाडी सर्वेद्रनाथ शुक्ला तीन हजार ४१० मतका साथ चौथो स्थानमा खुम्चिनुपरेको छ । ०७९ मा शुक्ला यस क्षेत्रबाट विजयी भएका थिए ।
रुपन्देही ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तैफिक अहमद खान निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता खिमलाल भट्टराईलाई पराजित गर्दै निर्वाचित भए । खानले ३८ हजार ८०६ मत प्राप्त गर्दा एमालेका भट्टराईले १३ हजार एक सय मत प्राप्त गरेका छन् । त्यस्तै, कांग्रेसका भरतकुमार शाहले १२ हजार ६२४ मत प्राप्त गरेका छन् । यस क्षेत्रबाट अघिल्लो चुनावमा एमालेले जित निकालेको थियो ।
नवलपरासी पश्चिममा रास्वपाको क्लिनस्विप, विनोद चाधरीलाई रोके विक्रमले
नवलपरासी पश्चिममा पनि रास्वपाले क्लिनस्विप गरेको छ । यहाँका दुवै निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ । यहाँ क्षेत्र नम्बर १ बाट रास्वपाका विक्रम खनालले जित हात पार्दा कांग्रेसका विनोद चौधरी पराजित भएका छन् ।
खनालले ४५ हजार २४१ मत प्राप्त गर्दा वरिष्ठ उद्योगी चौधरीले नौ हजार ५०२ मत प्राप्त गरेका छन् । एमालेका रामप्रसाद पाण्डेले सात हजार ९५६, जसपाका हृदयेश त्रिपाठी सात हजार ८३२ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर २ मा पनि रास्वपाका नरेन्द्रकुमार गुप्ता ४४ हजार १३८ मतका साथ विजयी भएका छन् । यहाँ कांग्रेसका भीमबहादुर थापाले १५ हजार ९४५, जसपाका देवेन्द्र यादवले सात हजार २१२, राप्रपाका ध्रुवबहादुर प्रधानले चार हजार ६९१, एमालेका लेखनाथ खरेलले चार हजार ३११ प्राप्त गरेका छन् । यसै क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका नेपाली कम्युनिस्ट पार्टीका देवेन्द्र पौडेल एक हजार ८३८ मतका साथ सातौँ स्थानमा खुम्चिनुपरेको छ ।
अर्घाखाँचीमा रास्वपाको जित
पहाडी जिल्लाहरूमा रास्वपाको प्रभाव छैन भनेर चर्चा गरिए पनि लुम्बिनीका पहाडी जिल्लाहरूमा पनि रास्वपाले ऐतिहासिक जित निकाल्दा कांग्रेस एमालेका किल्लाहरू भत्किएका छन् । अघिल्लो निर्वाचनमा टोपबहादुर रायमाझीले फराकिलो मतान्तरसहित जित हासिल गरेको अर्घाखाँचीमा यसपटक रास्वपाका उम्मेदवार हरिप्रसाद भुसाल ३५ हजार २३ मतका साथ जित हासिल गरे ।
यहाँ एमालेका उम्मेदवार पीताम्बर भुसालले २२ हजार ६४९ र कांग्रेस उम्मेदवार विष्णुप्रसाद खनाल ९मुस्कान०ले १८ हजार ९८३ मत प्राप्त गरे । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामबहादुर चौहानले तीन हजार ८४७ मत ल्याए । राष्ट्रिय जनमोर्चाका उम्मेदवार पशुपति ढकालले एक हजार ८०९ मत प्राप्त गरेका छन् ।
प्युठानमा तेस्रो भए सूर्य थापा
प्युठानमा रास्वपाका सुशान्त वैदिक निर्वाचित भएका छन् । मुख्य प्रतिस्पर्धीभन्दा करिब आठ हजार धेरै मत ल्याएर उनी विजयी भएका हुन् । वैदिक २७ हजार ४६९ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका डाक्टर गोविन्दराज पोखरेल १८ हजार ३३८ मत ल्याएर दोस्रो भए । यसअघि प्युठानबाट निर्वाचित भएका एमालेका सूर्य थापा १६ हजार ७१० मतसहित तेस्रो भएका छन्।
पाल्पामा एमालेले दुवै क्षेत्र गुमाउँदा रास्वपा र कांग्रेसलाई एक एक सिट
पाल्पा जिल्लालाई पनि एमालेले लालकिल्लाका रुपमा विश्लेषण गर्ने गरेकोमा यसपटक पाल्पाका दुवै क्षेत्रबाट पराजय भोग्नुपरेको छ । अघिल्लो निर्वाचनमा दुवै क्षेत्रमा जित हासिल गरेको एमाले यसपटक १ मा कांग्रेससँग र २ मा रास्वपासँग पराजय भएको छ ।
पाल्पा क्षेत्र नं। १ मा कांग्रेसका सन्दीप राना विजयी हुँदा एमालेका नारायण आचार्य पराजित भए । अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट विजयी आचार्य यसपटक कांग्रेसका रानासँग पराजित भए। रानाले १८ हजार ३३६, एमालेका आचार्यले १६ हजार ८१९ , रास्वपाका विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गरे ।
त्यस्तै, पाल्पा २ मा रास्वपाले जित निकाल्दा एमाले नेता ठाकुर गैरे, नेपाली कम्युनिस्ट पार्टीका सोमप्रसाद पाण्डेले पराजय भोग्नुपरेको छ । पाल्पा २ बाट रास्वपाका माधवबहादुर थापा २६ हजार ७३६ मतका साथ विजयी भएका छन् । यहाँ कांग्रेसका पहमालदत्त श्रेष्ठले १२ हजार ९९२, एमालेका गैरेले १० हजार ५०३, नेकपाका पाण्डेयले पाँच हजार २८८ मत प्राप्त गरे।
कपिलवस्तुमा दुई रास्वपा, एक कांग्रेस
कपिलवस्तुमा पनि रास्वपाको दरो उपस्थिति भएको छ । यहाँका तीनवटा क्षेत्रमध्ये दुईवटामा रास्वपा र एउटामा कांग्रेसले जित निकालेको छ । कपिलवस्तु १ मा रास्वपाका मोहनलाल आचार्य विजयी भएका छन् । उनले ३४ हजार १४८ मत ल्याएर विजयी हुँदा स्वतन्त्र उम्मेदवार आशिष शर्माले १५ हजार ८६० मत प्राप्त गरेका छन् । यहाँ कांग्रेसका अतहर कमाल मुसलमानले १४ हजार ५८२, एमालेका विश्रामप्रसाद चौधरीले सात हजार ९८१ मत प्राप्त गरे ।
क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार विक्रम थापा विजयी भए । थापाले २७ हजार ६३५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरेन्द्रराज आचार्यले २१ हजार ५२७ मत प्राप्त गरे । क्षेत्र नम्बर ३ मा कांग्रेसका अभिषेकप्रताप शाह २३ हजार ५३५ मतसहित विजयी भए । यहाँ रास्वपाका प्रकाश रजौरियाले १८ हजार ८९० मत प्राप्त गर्दा एमालेका वीरेन्द्र कानोडियाले १४ हजार ७६३ मत प्राप्त गरे ।
एमाले महासचिव पोखरेल फराकिलो मतान्तरले पराजित, दाङ पनि क्लिनस्विप
दाङमा एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेको रास्वपाले जिल्ला क्लिनस्विप पारेको छ । यहाँका तीनवटै क्षेत्रमा जित हात पारेको रास्वपाले क्षेत्र नं। २ बाट एमाले महासचिव पोखरेललाई २८ हजार २७५ मतान्तरले पराजित गरेको छ ।
यहाँ पोखरेललाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका विपिनकुमार आचार्य विजयी भएका छन् । आचार्यले ४३ हजार ५७५ मत ल्याएका छन् भने पोखरेलले १५ हजार २८७ मत प्राप्त गरेका छन् । त्यस्तै, कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार ५५८, नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यले सात हजार ८३ मत ल्याएका छन् ।
दाङ १ मा रास्वपाका देवराज पाठकले कांग्रेस नेता योगेन्द्र चौधरीलाई पराजित गरेका छन् । पाठकले ४२ हजार ६०२ मत प्राप्त गर्दा चौधरीले जम्मा १५ हजार २८० मत प्राप्त गरेका छन् । यहाँ एमालेका रेवतीरमण शर्मा घिमिरेले ६ हजार ८२५ , नेपाली कम्युनिस्ट पार्टीका मेटमणि चौधरीले चार हजार ९६५ मत प्राप्त गरेका छन् ।
दाङ ३ मा रास्वपाका कमल सुवेदी कांग्रेस नेता दीपक गिरीलाई रोकेका छन् । सुवेदीले ४४ हजार २४८ मत प्राप्त गर्दा कांग्रेसका गिरीले १६ हजार ४५३ मत प्राप्त गरे । त्यस्तै, एमालेका घनश्याम पाण्डेले १२ हजार १९५, नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्कीले नौ हजार ३२८ मत प्राप्त गरेका छन् ।
बर्दिया पनि क्लिनस्विप
रास्वपाले बर्दियामा पनि क्लिनस्विप पारेको छ । यहाँका दुवै क्षेत्रमा रास्वपाले जित निकालेको छ । क्षेत्र १ मा ठाकुरसिंह थारू निर्वाचित भएका छन् । थारू ४९ हजार ६३१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत ल्याएका छन् । यसअघि निरन्तर तीनपटक जितेका पूर्वसिँचाइमन्त्री कांग्रेस नेता सञ्जयकुमार गौतम १२ हजार ७२२ मत प्राप्त गरेर तेस्रो भएका छन् ।
क्षेत्र नम्बर २ मा पनि रास्वपाका श्रीधर पोखरेल विजयी भएका छन् । उनले कांग्रेस नेता किशोरसिंह राठौरलाई पराजित गरेका छन् । पोख्रेलले २९ हजार ६७८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राठौरले २० हजार ४०२ मत प्राप्त गरे । यहाँ नेपाली कम्युनिस्ट पार्टीका सुरेश पन्त १९ हजार १८० मत प्राप्त गरेर तेस्रो भएका छन् भने नेकपा एमालेकी विमला विकले १० हजार ७७२ मत प्राप्त गरेकी छिन् ।
बाँकेमा रास्वपाका दुई, एमालेका एक विजयी
बाँकेमा तीनवटा निर्वाचन क्षेत्रमध्ये १ र ३ मा रास्वपाका उम्मेदवार विजयी हुँदा एक सिटमा एमालेले जित हात पारेको छ । बाँके क्षेत्र नम्बर २ मा एमालेका मोहम्मद इस्तियाक राई विजयी भएका छन् । उनी तेस्रोपटक विजयी भएका हुन् । राईले २४ हजार ६२८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठले १८ हजार ६८२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका सुधांशु कोइरालाले १७ हजार ५९६ मत पाए ।
यसैगरी बाँके क्षेत्र नम्बर १ मा रास्वपाका सुरेशकुमार चौधरी विजयी भएका छन् । उनले ३२ हजार ७९२ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ३०१ मत पाएका छन् भने एमालेका सूर्य ढकालले ११ हजार ९५ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, क्षेत्र नम्बर ३ मा पनि रास्वपाका खगेन्द्र सुनार विजयी भएका छन् । उनले २९ हजार ५५१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुमन मल्लले १९ हजार ६१५ र नेपाली कांग्रेसका अमरसिंह पुनले १३ हजार २१५ मत पाएका छन् ।
गुल्मीमा नयाँले हराए हेभिवेटलाई
गुल्मीमा हेभिवेट नेताहरूलाई हराउँदै रास्वपाका उम्मेदवार विजयी भएका छन् । जिल्लाको क्षेत्र नम्बर १ मा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवाली, कांग्रेस नेता चन्द्र भण्डारी र नेकपाका नेता तथा पूर्वप्रदेशमन्त्री सुदर्शन बराललाई हराउँदै रास्वपाका नेता सागर ढकाल विजयी भए । त्यस्तै, गुल्मी २ मा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री गोकर्णराज विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी भए ।
ढकालले ज्ञवालीलाई १४ हजार ४६१ मतान्तरले पराजित गरे । ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दा ज्ञवालीले १५ हजार १८१ मत प्राप्त गरे । भण्डारीले १३ हजार ५०५ र बरालले तीन हजार १७६ मत ल्याए । त्यस्तै क्षेत्र नं। २ विष्टलाई ४९६ मतान्तरले पराजित गर्दै पन्थी विजयी भए । पन्थीले १६ हजार ९६७ मत ल्याउँदा प्रतिस्पर्धी विष्टले १६ हजार ४०६ मत ल्याए । प्रतिस्पर्धामै रहेका नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १४ हजार ४३४ मत र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार श्रीराम महतले तीन हजार ७८ मत मात्र ल्याए ।
प्रचण्ड सात हजार मतान्तरसहित रुकुम पूर्वबाट निर्वाचित
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी प्रदेशबाट चुनावी मैदानमा उत्रिँदा थप रोचक बनेको यहाको निर्वाचनमा अन्य दलका प्रभावशाली नेताहरू पराजित भए पनि प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित निर्वाचित भए । उनी करिब सात हजार मतान्तरसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले तीन हजार ४६२ मत पाए भने नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले तीन हजार ८१ मत पाइन् । रास्वपाका लखनकुमार थापाले यहाँ ८१९ मत पाए ।
१५ हजार मतान्तरसहित रोल्पामा वर्षमान पुन निर्वाचित
त्यस्तै, रोल्पामा नेकपाका वर्षमान पुन निर्वाचित भए । निकटतम प्रतिस्पर्धीलाई १५ हजारभन्दा धेरै मतले उनले पछि पारे । पुनले २७ हजार ४६० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका सुदनकुमार वलीले १२ हजार आठ मत प्राप्त गरे । रास्वपाका बालराम थापा १० हजार ८९४ मतसहित तेस्रो भए ।