२०८२ चैत्र ८
बुटवल ८ चैत ।
नेकपा (मसाल) ले अहिलेको चुनावी परिणामलाई गंभिर र अवान्छितका रुपमा टिप्पणी गरेको छ । उसले चुनावी परिणाम मुलुकको हितमा नभएको शंका पनि गरेको छ । चुनावको परिणाम नेपालको सम्पूर्ण राजनीतिक इतिहासको नै सबैभन्दा गम्भीर र अवान्छित परिणाम रहेको उल्लेख गर्दै मसालले भनेको छ, त्यो नेपालका लागि राणाशासन तथा राजाको निरङ्कुश शासन र पञ्चायती शासनभन्दा गम्भीर अभिशापको रूपमा अगाडि आएको छ ।
राणाशासन वा राजाको निरङ्कुश शासन र पञ्चायती तानाशाही व्यवस्था देशभित्रका नै प्रतिक्रियावादी व्यवस्थाहरू थिए र तिनीहरूका विरुद्ध जनताले ठुलो सङ्घर्ष गरेर तिनीहरूलाई समाप्त गर्नुपरेको थियो भन्दै मसालले भनेको छ, अहिले पनि एक वा अर्को प्रकारले प्रतिगमनले अगाडि आउने प्रयत्न गरिरहेको र त्यसको पुनस्र्थापनालाई रोक्न सङ्घर्ष गर्नुपर्ने छ ।
मसालले चुनावको परिणाम स्वरुप देशमा जुन खतरा अगाडि आएको छ, त्यो पहिलेका सबै प्रतिक्रियावादी व्यवस्थाहरूभन्दा गम्भीर रहेको र त्यसका दीर्घकालीन प्रकारका दुष्परिणामहरू हुने सम्भावनालाई अस्वीकार गर्न नसकिने जनाएको छ ।
विगतमा देश भित्रका प्रतिक्रियावादीहरुबाट मुलुकमा खतरा भए भन्दा बढी खतरा यस परिणाम पछि आउन सक्ने धारणा समेत उसले राखेको छ । मसालले प्रतिगमन अगाडी आउन खोजेको भन्दै त्यसलाई रोक्न संघर्ष गनुपर्ने आवश्यकतामा जोड दिएको छ । निर्वाचनको परिणाम नेपालको राजनीतिक इतिहासका लागि गंभिर रहेको जनाएको छ । चैत ५ र ६ गते बुटवलमा भएको केन्द्री कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मसालका महामन्त्री मोहनविक्रम सिंहले वर्तमान राजनीतिक अवस्थालाई गम्भीर मोडमा पुगेको बताएका छन् । उनले अहिले आएको जनमत अमेरिकी डिजाइन र योजनामा आएको आरोप समेत लगाए ।
उनले हालै सम्पन्न आम निर्वाचन, देशभर भएका आन्दोलन तथा हिंसात्मक घटनाबारे आफ्नो पार्टीको धारणा सार्वजनिक गर्दै यसलाई जनमत भन्न नमिल्ने जिकिर समेत गरे ।
उनले आम निर्वाचन नेपालको आवश्यकता, संविधानको मर्म र जनताको चाहनाअनुसार नभई बाह्य शक्ति, विशेषतः अमेरिकी रणनीतिअनुसार भएको आरोप लगाए । संसद् विघटनदेखि पुनः निर्वाचनसम्मको प्रक्रिया योजनाबद्ध रूपमा अघि बढाइएको दाबी गर्दै उनले त्यसबाट देशमा अमेरिकी कठपुतली सरकार निर्माणको आधार तयार भएको टिप्पणी गरे ।
महामन्त्री सिंहले चैत २३ र २४ गते देशभर भएको आन्दोलनलाई मूलतः भ्रष्टाचार, सामाजिक अन्याय र विसंगतिविरुद्धको जनअसन्तोषको अभिव्यक्ति भएको बताए । तर, स्पष्ट नेतृत्व र राजनीतिक दिशा नहुँदा उक्त आन्दोलनलाई विभिन्न अवसरवादी शक्तिहरूले आफ्नो स्वार्थअनुसार प्रयोग गरेको उनको भनाइ छ । उनले युवाहरूको स्वतःस्फूर्त सहभागिता रहेको आन्दोलनलाई “हाइज्याक” गरिएको आरोप समेत लगाए ।
उनले नेपालमा अमेरिकी प्रभाव विस्तार गर्ने प्रयास तीव्र भएको दाबी गर्दै केही राजनीतिक दलहरू त्यसप्रति नरम देखिएको टिप्पणी गरे । एमसीसीजस्ता परियोजनामार्फत नेपालमा रणनीतिक प्रभाव बढाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले त्यसले राष्ट्रिय स्वाधीनता र दीर्घकालीन हितमा नकारात्मक असर पार्ने चेतावनी दिए ।
सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत जनमत प्रभावित पारिएको दाबी गर्दै चुनावी परिणाम जनताको वास्तविक समर्थनभन्दा प्रचार र मनोवैज्ञानिक प्रभावको परिणाम भएको टिप्पणी गरे ।
पत्रकार सम्मेलनमार्फत मसालले वर्तमान राजनीतिक अवस्थालाई गम्भीर चुनौतीका रूपमा प्रस्तुत गर्दै राष्ट्रिय स्वाधीनता, पारदर्शिता र जनताको हितअनुसार राजनीति सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको छ । साथै, हिंसात्मक घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र बाह्य प्रभावबाट मुक्त राष्ट्रिय नीति अवलम्बन गर्न सबै पक्ष एकतावद्द हुनुपर्नेमा जोड दिए ।
सोही कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चुनावमा जनता झुक्कीएपनि जनताले ठिक बेठिक छुट्टाउने बताए । देशको हितमा जनताका मुद्दा उठाउंदै आउको उल्लेख गर्दै उनले संघीयता खारेज गर्न र राष्ट्रियताको पक्षमा निरन्तर जनताकोको साथमा रहने बताए ।