२०८२ चैत्र २४
बुटवल, २३ चैत ।
नवीन औद्योगिक कदरबहादुर रिता मावि देवीनगरमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई कक्षा ११ ले विदाई तथा शुभकामना कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चापाईंले कक्षा ११ का विद्यार्थीहरूले व्यवस्थित रुपमा कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरू जिम्मेवार ,सक्षम ,समय अनुकूल ,श्रम बजारमा बिक्न सक्ने सीपयुक्त जनशक्ति बनी विभिन्न क्षेत्रमा अनुकरणीय कार्य गर्नु पर्नेमा जोड दिए ।
उनले यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू घर ,परिवार, समाज र राष्ट्रमा नै योगदान पुर्याउने जनशक्ति तयार गर्न विद्यालय प्रशासन सफल रहेको धारणा राख्दै धन्यवाद व्यक्त गरेका थिए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले नवीन एक अबल विद्यार्थी उत्पादन गर्ने संस्था भएकोले यहाँ अध्ययन गर्ने विद्यार्थीहरू स्वदेश तथा विदेशका विभिन्न संस्थाहरूका उच्च पदमा पुग्ने आशा व्यक्त गर्दै नवीनका विद्यार्थीहरूको क्षमता, दक्षता र अनुशासनले गर्दा विद्यालय, वडा र बुटवल उपमहानगरपालिकाले समेत गर्व गरेको बताए ।

कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खरेल, विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, सहायक प्रधानाध्यापक अर्जुन खनाल, सहायक प्रधानाध्यापक तथा शिक्षा समूह इन्चार्ज रोमनाथ घिमिरे, सिभिल इन्जिनियरिङ इन्चार्ज सपना भट्टराई, सिभिल इन्जिनियरिङ कक्षा ११र १२ का संयोजक इन्जिनियर बिमल अर्याल, विज्ञान समूहका इन्चार्ज लक्ष्मीनारायण चौधरी, व्यवस्थापन समूह कक्षा ११ का इन्चार्ज जयराम पन्थी व्यवस्थापन समूह कक्षा १२ का इन्चार्ज केशवराज पन्थ ,कानुन समूहका इन्चार्ज अधिवक्ता लोकप्रसाद खरेल र कक्षा ११ व्यवस्थापन समूहका छात्र शालिग्राम पन्थी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा कक्षा ११ र १२ सामाजिक विषय शिक्षक अनिल पहाडीको नेतृत्वमा कक्षा ६ ७ र ८ मा अध्ययन गर्ने विद्यार्थीहरूले नहरा ,मङ्गलधुन र तीनताल ,पन्चेबाजा बजाएका थिए । बाजा बजाउने विद्यार्थीहरूलाई प्रमुख अतिथि र विशिष्ट अतिथिले सम्मान समेत गरिएको थियो ।
नवीन विद्यार्थी क्लबकी अध्यक्ष एवं विज्ञान समूह कक्षा ११ कि विद्यार्थी लक्ष्मी पाण्डेको अध्यक्षतामा विज्ञान समूह कक्षा ११ कि विद्यार्थी नितु गौड विज्ञान समूहका विवेक कुशबाहा कानुन समूहकी रूपा ढकाल र व्यवस्थापन समूहकी शोभा पाण्डेको सञ्चालनमा सम्पन्न गरिएको थियो ।
सांस्कृतिक कार्यक्रम संयोजक अर्जुन शाह ठकुरीको नेतृत्वमा रोचक समसामयिक नृत्यहरू विद्यार्थीहरूले प्रस्तुत गरेका थिए । राष्ट्रिय सेवा दलका सिनियर डिभिजनका क्याडेटहरूले राष्ट्रियता झल्कने उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए।