२०८३ जेष्ठ ७

मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८३ जेष्ठ ७, बिहीबार १३:३५ गते

बुटवल ७ जेठ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश घोषणा गर्नेगरी आवश्यक कार्यविधि निर्माणको काम छिट्टै सम्पन्न गरेर कार्यान्वयनमा लैजाने बताएका छन् ।
मानवसेवा आश्रमले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा सहभागी टोलीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यकामा बिहिवार छलफल गर्दै मुख्यमन्त्री आचार्यले मानवता र करुणायुक्त प्रदेश निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
उनले सही सडक र सही संगत मिले मानिस सही ठाउँमा पुग्न सक्ने उल्लेख गर्दै सडकआश्रित र बेसहारा मानवहरूको संरक्षण राज्य र समाज दुवैको साझा दायित्व भएको धारणा राखे ।
मानवसेवा आश्रमले बैशाख २७ गतेदेखि सुरु गरेको मेची(महाकाली राष्ट्रिय उद्धार यात्रा जेठ २२ गतेसम्म सञ्चालन हुने जनाएको छ । यात्राको क्रममा हालसम्म ११६ जना सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरिएको जानकारी दिइएको छ ।
आश्रमका अनुसार यात्रा एक महिनासम्म सञ्चालन हुनेछ । उद्धार गरिएका व्यक्तिहरूलाई संरक्षण, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलनका लागि आश्रमका सेवा केन्द्रमार्फत व्यवस्थापन गरिनेछ ।
वि.सं. २०६९ भदौ १३ गते मकवानपुरको हेटौँडाबाट औपचारिक सेवा सुरु गरेको आश्रमले हाल सातै प्रदेशका १९ जिल्लामा रहेका २५ सेवा केन्द्रमार्फत सेवा सञ्चालन गर्दै आएको छ ।