२०८३ जेष्ठ १६

संस्कार शिक्षाको महत्त्व बढ्दै गएकोमा जोड
  • लुम्बिनी खोज
  • २०८३ जेष्ठ १६, शनिबार १६:१२ गते

बुटवल १६ जेठ ।

मानिसलाई नैतिकता तथा अनुशासनमा राख्न सानै उमेरदेखि संस्कार शिक्षा पनि दिनुपर्ने आवश्यकतामा जोड दिइएको छ। मानिसलाई संस्कार शिक्षाले व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण योगदान दिने हुँदा यसको महत्त्व बढ्दै गएकामा जोड दिइएको हो। पछिल्ला पाठ्यक्रमहरूमा नैतिक शिक्षा हराउँदै गएकामा चिन्ता व्यक्त गर्दै संस्कार शिक्षालाई फैलाउनुपर्ने आवश्यकतामा जोड दिइएको छ । 

लुम्बिनी ज्योतिष तथा वास्तु सेवा प्रालि, लुम्बिनी पूजासामग्री भण्डार, बुटवलको आयोजनामा बुटवलमा भएको संस्कार शिक्षा विषयक उद्बोधन कार्यक्रममा सहभागीहरूले आधुनिक शिक्षासँगै नैतिकता, अनुशासन, जिम्मेवारी र सकारात्मक सोचको विकासका लागि संस्कार शिक्षाको आवश्यकता रहेको बताए। संस्कारमूलक शिक्षाले व्यक्तित्व निर्माण, सामाजिक सद्भाव र जिम्मेवार नागरिक उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्दै वक्ताहरूले सानै उमेरदेखि नै बालबालिकालाई संस्कार शिक्षा पनि दिनुपर्नेमा जोड दिए।

व्यावहारिक, नैतिक र जीवन उपयोगी शिक्षा अहिलेको आवश्यकता भएकामा पनि जोड दिइएको छ। युवापुस्तामा बढ्दो विकृति, सामाजिक चुनौती तथा प्रविधिको प्रभावबिच संस्कार शिक्षाको महत्त्व अझ बढेको चर्चा पनि गरिएको छ। लुम्बिनी ज्योतिष तथा वास्तु सेवा प्रालि, लुम्बिनी पूजासामग्री भण्डार, बुटवलका सञ्चालकहरू ज्योतिष जनार्दन न्यौपाने, सुन्दर भण्डारीको विशेष सक्रियतामा पछिल्ला केही महिनायता शनिबार बिदाको दिन बुटवलमा बालबालिकालाई संस्कार शिक्षा दिइँदै आएको छ।

हाल बुटवलमा ८५ जना विद्यार्थीले संस्कार शिक्षा लिइरहेका छन् भने रुपन्देहीको मणिग्राममा पनि कक्षा सञ्चालनमा आएको छ र यहाँ ३० जनाले शिक्षा लिइरहेका छन्। कार्यक्रममा संस्कार शिक्षामा सहभागी बालबालिका तथा उनका अभिभावकहरूसमेतको सहभागितामा कार्यक्रम गरिएको हो। कार्यक्रममा बाेल्दै डाक्टर स्वामी केशवानन्दले संस्कार शिक्षाको महत्त्व बढ्दो रहेको धारणा राखेका थिए। सानै उमेरदेखि नै संस्कार शिक्षा आर्जन गर्नुपर्ने भन्दै उनले संस्कार शिक्षाले मानिसलाई सकरात्मक मार्गमा अगाडि बढ्न योगदान दिने बताए ।

उनले नेपालको पाठ्यक्रममा पनि संस्कार शिक्षा  विशेष महत्त्व दिएर समेट्नुपर्ने आवश्यकतामा जोड दिए। त्यसका लागि आफ्रले केन्द्रमा पहल गर्दै आएको धारणा पनि राखे। संस्कार शिक्षालाई जताततै पुर्‍याउनुपर्ने उल्लेख गरे। कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले संस्कार शिक्षालाई उपमहानगरपालिकाले महत्त्व दिएको धारणा राखिन्। यसका लागि बजेटमा व्यवस्था गरेर अगाडि बढ्ने पनि उनले बताइन्। 

आयोजक सस्थाका ज्योतिष जनार्दन न्यौपानेले संस्कार शिक्षाको महत्त्व बुझाउँदै संस्कार शिक्षा दिन आफूहरू लागि पर्दै आएको बताए। उनले संस्कार शिक्षा, ज्योतिष शिक्षासँगै विभिन्न धार्मिक अभियानहरूलाई विशेष महत्त्व दिँदै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइएको बताए। लुम्बिनी ज्योतिष तथा वास्तु सेवा प्रालि, लुम्बिनी पूजासामग्री भण्डार, बुटवलका सञ्चालक सुन्दर भण्डारीले संस्कार शिक्षामा सहभागिता बढ्दै गएको बताए।