२०८३ जेष्ठ २३
धेरै जिल्लामा भोलि हुने
बुटवल २२ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले लुम्बिनीका जिल्लाहरुमा अधिबेशन तीव्र पारेको छ । अधिकांश पालिकाहरुको अधिबेशन सम्पन्नपछि जिल्ला अधिबेशनमा जुटेको रास्वपाले भोलि शनिबार प्रदेशका ७ वटा जिल्लामा अधिबेशन गर्दै छ ।
रास्वपाका केन्द्रीय संगठन विभाग सदस्य गोपाल घिमिरेका अनुसार प्रदेशका ७ वटा जिल्लामा शनिबार र ४ वटामा आइतबार गर्ने तयारी छ । प्रदेशका ९१ वटा पालिकाको अधिबेशन सम्पन्न भइसकेको भन्दै घिमिरेले प्रदेशमा रास्वपा वलियो शक्तिका रुपमा स्थापित भएको भन्दै संगठन अझ मजवुत पार्ने गरी पार्टी कामलाई तीव्रता दिइएको बताए । पालिका अधिबेशनहरुले नया उत्साह ल्याएको भन्दै उनले जिल्ला अधिबेशनहरुले थप उत्साह बढाउने बताए ।
लुम्बिनीमा १२ वटा जिल्ला रहेकोमा रुकुम पूर्वमा तत्काल अधिबेशन गर्ने कार्यक्रम रास्वपाले बनाएको छैन् । त्यहा हाल कायम समितिलाई यथावत राखिने भएको छ । बाकी ११ जिल्ला मध्ये रुपन्देही, अर्घाखाची, नवलपरासी पश्चिम र प्यूठानमा आइतबार अधिबेशन गरिदै छ । बाकी ७ जिल्लामा भोलि शनिबार अधिबेशन गर्ने गरी तयारी भइरहेको छ ।
कपिलवस्तु, दाङ, बाके, वर्दिया, रोल्पा, गुल्मी र पाल्पा जिल्लामा शनिबार अधिबेशन हुदै छ ।
रास्वपा रुपन्देहीका सभापति डाक्टर बुद्धिप्रसाद शर्माका अनुसार रुपन्देहीको प्रथम जिल्ला अधिवेशन आइतवार रुपन्देहीको मणिग्राममा हुदैंछ । पार्टीको प्रथम जिल्ला अधिवेशनले पार्टीको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको उनले बताए । रुपन्देही जिल्ला रास्वपाको महत्वपूर्ण र सङ्गठन निर्माणको हिसाबले बलियो जिल्लाका रुपमा स्थापित गरिएको भन्दै डाक्टर शर्माले यहाका सबै पालिकाहरुमा पार्टीका समितिहरु गठन भइसकेका बताए ।
पालिका समितिहरुका अलवा जिल्लाका ८५ प्रतिशत वडाहरुमा अधिवेशन सम्पन्न भइसकेको र वाकी वडाहरुमा तदर्थ समितिहरु गठन भएको उनले बताए । जिल्लामा पार्टीलाई सङ्गठनको रुपमा मात्र बलियो बनाउने नभई जनकेन्द्रीत अभियान, कार्यक्रम एवं खबरदारी विषयहरु तर्फ पनि जिल्लाका पार्टी सदस्यहरुले कठिन मेहनतका साथ काम गरिरहेको शर्माले बताए ।
जिल्ला अधिवेशनले जिल्ला समितिमा नयाँ नेतृत्व चयन गर्नुका साथै यसै पटक निर्वाचन क्षेत्र
समितिहरुको अधिवेशन पनि हुने भएकोले क्षेत्र समितिहरुमा समेत नयाँ नेतृत्व चयन हुने उनले बताए । भाषण भन्दा काम, सिद्धान्तको ब्यावहारिक प्रयोग, नागरिकलक्षित गतिविधिहरु र सामुहिक कार्यको भावना लगायतका अभ्यासहरुले गर्दा रास्वपा–रुपन्देही छोटो समयमै जिल्लामा बलियो स्थापित शक्तिका रुपमा प्रदर्शित हुन सकेको जिल्ला सभापति डाक्टर शर्मा बताउछन् । रास्वपाले जेठ महिना भित्र वडा देखि प्रदेशसम्मको अधिवेशनहरु सम्पन्न गर्ने कार्यतालिका बनाए अनुसार देशैभर एकै पटक अधिवेशनहरु गरिरहेको छ ।