२०८३ जेष्ठ ३१
बुटवल ३० जेठ ।
सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीको आयोजनामा बुटवलमा आयोजित विज्ञान प्रदर्शनीमा बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय देवीनगर प्रथम भएको छ।
सामाजिक विकास डिभिजन कार्यालय अन्तर्गत रूपन्देही र नवलपरासी पश्चिम जिल्लामा अध्ययनरत विज्ञान समूहमा कक्षा ११ र १२ अध्ययनरत र प्राविधिक धारमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यालयका विद्यार्थीहरू सहभागी रहेका थिए । कार्यक्रममा बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता मावि मा विज्ञान समूह कक्षा ११ मा अध्ययनरत छात्राहरु एलिसा थापा, सिर्जना यादव र टिकादेवी चौधरी समन्वय शिक्षक विनयकुमार बिकको समन्वयको टिम प्रथम भएको छ। द्वितीय शान्ति नमुना मावि तिलोत्तमा र तृतीय अक्सफोर्ड बोर्डिङ स्कुल बुटवल भएको छ ।
प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका विद्यार्थीहरूलाई सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीका कार्यालय प्रमुख हरि बहादुर बिष्ट ,विज्ञ सह प्राध्यापक कमल बहादुर रायमाझी लगायतले प्रस्कार वितरण गरेका छन् । नवीन औद्योगिक कदरबहादुर रीता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीय हुनेलाई ५ हजार नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको छ ।
उक्त कार्यक्रम मूल्याङ्कन समितिमा सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीका कार्यालय प्रमुख हरि बहादुर बिष्टको संयोजकत्वमा बुटवल बहुमुखी क्याम्पसका सह प्राध्यापक कमलबहादुर रायमाझी, सीप विकास केन्द्र बुटवलका मेकानिकल इन्जिनियर शिव पंगेनी , शिक्षा विकास तथा समन्वय इकाई नवलपरासी पश्चिमका अधिकृत सुवासचन्द्र गौतम, देवदह नगरपालिकाका सूचना प्रविधि अधिकृत बाबुलाल थापा रहेका थिए ।
सामाजिक विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख हरि बहादुर विष्टको अध्यक्षतामा सामाजिक विकास डिभिजन कार्यालय भैरहवाका अधिकृत भागीरथ अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका इकाई प्रमुख उपसचिव विष्णुप्रसाद पन्थी, विज्ञ टोलीबाट सहप्राध्यापक कमलबहादुर रायमाझी, शिक्षा विकास समन्वय इकाइ सुवास चन्द्र गौतम, नवीन औद्योगिक कदरबहादुर रीता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत लगायतले धारणा राखेका थिए ।
