२०८३ असार ८
बुटवल ८ असार ।
रुपन्देही व्यापार संघ अन्तर्गतको औषधि वस्तुगत उपसमितिको आयोजनामा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी एकदिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ । सोमबार संघको सचिवालयमा महिला व्यवसायी तथा स्थानीय महिलाहरूमा बढ्दो स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले व्यापारिक हकहितको संरक्षणसँगै सामाजिक र स्वास्थ्य क्षेत्रमा पनि संघ उत्तिकै जिम्मेवार रहेको बताउदै महिलाहरूको स्वास्थ्य नै परिवार र व्यवसायको मेरुदण्ड भएकोले क्यान्सर जस्तो घातक रोगबारे समाजमा लुकेर रहेका भ्रमहरू चिर्न आवश्यक रहेको बताए । उनले समयमै स्वास्थ्य परीक्षण गर्ने बानी बसाल्न यस्ता कार्यक्रमले ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर शिला ढकालले पाठेघरको मुख र स्तन क्यान्सरका लक्षण, रोकथामका उपाय तथा प्रारम्भिक पहिचानको महत्त्वबारे कार्यपत्र प्रस्तुत गर्दै क्यान्सर रोग सुरुवाती अवस्थामै पहिचान हुन सकेमा निको हुने बताइन् । तर चेतनाको अभाव र लज्जाबोधका कारण धेरै महिलाहरू अन्तिम अवस्थामा मात्र अस्पताल आउने गरेका कारण जटिल बन्ने गरेको उनले बताइन् । उनले ३० वर्ष नागिसकेका महिलाहरूलाई वर्षमा कम्तीमा एकपटक ’प्याप स्मियर’ वा ’भिआइए’ परीक्षण गराउन सुझाव दिइन्। यस्तै कार्यक्रममा संघका कार्यसमिति सदस्य एवं उपसमिति इन्चार्ज केदारनाथ नेपालले औषधि वस्तुगत उपसमितिको कार्ययोजना अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको बताउँदै नियमित रुपमा सामाजिक कार्यलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा सहभागीकोतर्फबाट सरिता नेपाल र सरला नेपालले कार्यक्रमबाट प्राप्त अनुभवका बारेमा धारणा राखेका थिए । कार्यक्रममा संघ अन्तर्गतका १५० भन्दा बढि महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।
संघ अन्तर्गतको औषधि वस्तुगत उपसमितिका संयोजक राजकुमार श्रेष्ठको अध्यक्षता, सह–संयोजक निर्मला पौनीको स्वागत, सचिव अमृता भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

