२०८३ असार १३

अक्सफोर्डका विद्यार्थी जब‘प्रधानमन्त्री,सभामुख,मन्त्री’ बने !
  • लुम्बिनी खोज
  • २०८३ असार १२, शुक्रबार १०:३२ गते

नमुना संसदमा विद्यार्थीहरूको जोडदार प्रस्तुति

बुटवल, १२ असार।

बुटवल स्थित अक्सफोर्ड माध्यमिक विद्यालयका विद्यार्थीहरू जब ‘प्रधानमन्त्री, सभामुख, मन्त्री, उपसभामुख र सांसद’ बने, विद्यालयको सभाहल नै वास्तविक संसद बैठकजस्तै देखियो। कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागितामा आयोजित ‘अक्सफोर्ड नमुना संसद कार्यक्रम’ ले नेपालको संघीय संसदको जीवन्त झल्को प्रस्तुत गर्‍यो।

कार्यक्रममा विद्यार्थीहरूले नेपालको संघीय संसदको कार्यप्रक्रियालाई यथार्थपरक रूपमा अनुकरण गर्दै सभामुख, प्रधानमन्त्री, मन्त्री तथा सांसदको भूमिकामा प्रस्तुति दिए। सभाहललाई संसद बैठक कक्षझैँ सजाइएको थियो, जहाँ सत्ता पक्ष र प्रतिपक्षका लागि छुट्टाछुट्टै स्थान निर्धारण गरिएको थियो। दर्शक दीर्घासमेत राखिएको कार्यक्रममा सभामुखको ड्यास, कर्मचारीहरूको व्यवस्थापन तथा प्रधानमन्त्री र मन्त्रीहरूको भूमिकामा रहेका विद्यार्थीहरूको प्रस्तुति अत्यन्त आकर्षक देखिन्थ्यो।

विशेषगरी सांसदको भूमिकामा रहेका विद्यार्थीहरूको प्रस्तुति प्रभावशाली रह्यो। उनीहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तर्कपूर्ण बहस प्रस्तुत गरे। प्रतिपक्षी सांसदहरूको भूमिका पनि उत्तिकै सशक्त थियो। राष्ट्रिय मुद्दाहरूमा विचार राख्दै उनीहरूले नेतृत्व क्षमता, विश्लेषणात्मक सोच, तार्किक क्षमता, वक्तृत्वकला तथा लोकतान्त्रिक संस्कारको उत्कृष्ट प्रदर्शन गरे।

विद्यालयका प्राचार्य दिनेश भुसालको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारी, सञ्चालक समिति सदस्य ललित खरेल, अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, प्राध्यापक सुमन भुसाल, विभिन्न तहका इन्चार्ज, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई लोकतान्त्रिक मूल्य–मान्यता, उत्तरदायित्वबोध, सार्वजनिक बोल्ने कला तथा नेतृत्व विकासका लागि व्यवहारिक अनुभव प्रदान गर्ने बताए। उनले विद्यार्थीहरूको उत्कृष्ट संसदीय अभ्यासको प्रशंसा गर्दै भविष्यमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र सशक्त बनाउँदै लैजान सुझाव दिए।

विद्यालयका प्राचार्य दिनेश भुसालले विद्यालयले विद्यार्थीहरूलाई केवल शैक्षिक ज्ञानमा सीमित नराखी नेतृत्व, निर्णय क्षमता, आत्मविश्वास, सञ्चार सीप तथा सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले विविध सिर्जनात्मक तथा व्यवहारिक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। नमुना संसदजस्ता कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यका सक्षम, जिम्मेवार, सचेत तथा लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध नागरिक बन्न प्रेरणा दिने विश्वास व्यक्त गरे।

कार्यक्रममा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरू अवलोकनकर्ताका रूपमा सहभागी भएका थिए। उनीहरूले संसदीय प्रक्रिया, बहसको शैली, नेतृत्व विकास तथा लोकतान्त्रिक अभ्याससम्बन्धी व्यवहारिक ज्ञान हासिल गर्नुका साथै आगामी दिनमा यस्ता कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने प्रेरणा प्राप्त गरेका थिए।

कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख कपिल ढकालले गरेका थिए भने संयोजन सिद्धार्थ कँडेलले गरेका थिए। उनीहरूको कुशल व्यवस्थापन, समन्वय तथा शिक्षक–शिक्षिकाहरूको सहयोगले कार्यक्रमलाई अझ व्यवस्थित, प्रभावकारी र सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको विद्यालयले जनाएको छ।

विद्यार्थीहरूको उत्साहजनक सहभागिता, सिर्जनात्मक प्रस्तुति, अनुशासित भूमिका तथा प्रभावकारी संसदीय अभ्यासले कार्यक्रमलाई अत्यन्त सफल, प्रेरणादायी र स्मरणीय बनाएको थियो। विद्यालय परिवारले यस्ता कार्यक्रमले विद्यार्थीहरूको सर्वाङ्गीण व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा लोकतान्त्रिक संस्कारको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ।