२०८३ असार १५

प्रदेश स्तरीय प्रतियोगितामा नवीन प्रथम
  • लुम्बिनी खोज
  • २०८३ असार १४, आईतवार १६:२३ गते

बुटवल, १४ असार।
शिक्षा तथा सामाजिक विकास निर्देशनालय, राप्ती उपत्यकाको आयोजनामा प्रदेश स्तरीय विज्ञान प्रदर्शनी तथा स्टिम प्रतियोगिता सम्पन्न भएको छ।
शिक्षा तथा सामाजिक विकास निर्देशनालय अन्तर्गत आयोजित उक्त प्रतियोगिता आइतबार नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय को सभाहलमा सम्पन्न भएको हो।
निर्देशनालय मातहत रहेका रुपन्देही, पाल्पा, प्युठान, दाङ, कपिलवस्तु र बाँकेका डिभिजन कार्यालयअन्तर्गत १२ जिल्लाका कक्षा ११ र १२ विज्ञान समूह तथा प्राविधिक धार सञ्चालन भएका सामुदायिक विद्यालयका विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको थियो।
स्टिम प्रतियोगितातर्फ नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय प्रथम भएको छ। त्यसैगरी जनसेवा माध्यमिक विद्यालय द्वितीय, जगन्नाथ माध्यमिक विद्यालय तृतीय तथा जनता माध्यमिक विद्यालय सान्त्वना स्थान हासिल गर्न सफल भए।
विज्ञान प्रदर्शनीतर्फ दमकडा माध्यमिक विद्यालय प्रथम, जनता माध्यमिक विद्यालय द्वितीय, बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय तृतीय तथा अक्सफोर्ड माध्यमिक विद्यालय सान्त्वना भए।
विज्ञान प्रदर्शनी मूल्याङ्कन समितिमा डाक्टर कृष्णप्रसाद शर्मा, कमलबहादुर रायमाझी तथा सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख उपसचिव हरिबहादुर बिष्ट रहेका थिए । स्टिम प्रतियोगिताको मूल्याङ्कन समितिमा हरिलाल अर्याल, बेगम केसी र सुभाषचन्द्र गौतम रहेका थिए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारी ले यस्ता विज्ञान प्रदर्शनी तथा स्टिम प्रतियोगिताले विद्यार्थीहरूको सीप, दक्षता र निपुणता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए । उनले विजेता हुँदा अत्यधिक उत्साहित नहुन र अपेक्षित स्थान हासिल नगर्दा निराश पनि नहुन विद्यार्थीहरूलाई सुझाव दिए ।
शिक्षा विकास निर्देशनालय का महानिर्देशक हरिलाल अर्याल को अध्यक्षतामा सम्पन्न कार्यक्रम सामाजिक विकास डिभिजन कार्यालयका शाखा अधिकृत भागीरथ अधिकारी ले सञ्चालन गरेका थिए ।
कार्यक्रममा विज्ञान प्रदर्शनी तथा स्टिम प्रतियोगिताको औचित्यमाथि सामाजिक विकास मन्त्रालय योजना महाशाखा प्रमुख वरिष्ठ शिक्षा अधिकृत बेगम केसी ले प्रकाश पारेका थिए । विज्ञान प्रदर्शनीका मूल्याङ्कन मापदण्डबारे बुटवल बहुमुखी क्याम्पस का सहप्राध्यापक डाक्टर कृष्णप्रसाद शर्मा ले धारणा राखेका थिए भने स्टिम प्रतियोगिताबारे सुभाषचन्द्र गौतम ले जानकारी दिएका थिए ।
सो अवसरमा नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय का प्रधानाध्यापक प्रेमबहादुर बस्नेत ले पनि कार्यक्रमका बारेमा धारणा राखेका थिए ।