२०८३ असार १६

बाणगंगा पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगर घोषणा
  • लुम्बिनी खोज
  • २०८३ असार १६, मंगलवार १४:०२ गते

स्वास्थ्य, पोषण र सुरक्षित विद्यालय अभियानमा नयाँ उपलब्धि
कपिलवस्तु १६ असार ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले स्वास्थ्य, पोषण तथा विद्यालय क्षेत्रको गुणस्तर अभिवृद्धिलाई संस्थागत गर्दै पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका दिगोपना, पोषणमैत्री स्वास्थ्य संस्था घोषणा तथा अस्वस्थकर जंडफुड खानामुक्त विद्यालय क्षेत्र घोषणा गरेको छ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी घिमिरेको प्रमुख आतिथ्यमा आयोजित घोषणा कार्यक्रममा नगरलाई मातृ तथा शिशु स्वास्थ्य, पोषण सुधार र विद्यालयस्तरमा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने स्थानीय सरकारको प्रतिबद्धताको उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।
नगरपालिकाले सार्वजनिक गरेको तथ्यांकअनुसार बाणगंगामा अधिकांश गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा लिने अवस्था सुनिश्चित भएको छ। ११९० प्रसूतिमध्ये ११८९ जना ९९.९२ प्रतिशत स्वास्थ्य संस्थामै प्रसूति भएको र चारपटक गर्भजाँच गर्ने महिला ९८.९१ प्रतिशत पुगेको छ। तीनपटक प्रसूति जाँच पूरा गर्ने दर ९८.६६ प्रतिशत रहेको पाइएको छ। नगरपालिकाले मातृ तथा नवजात शिशु स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको यी सूचकहरूले देखाएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए।
त्यसैगरी, नगरभित्रका स्वास्थ्य संस्थाहरूलाई पोषणमैत्री सेवा प्रवाहका निर्धारित मापदण्ड पूरा गराई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ। यसबाट गर्भवती, सुत्केरी महिला, बालबालिका तथा किशोरीहरूको पोषण अवस्थामा थप सुधार आउने अपेक्षा गरिएको छ।
कार्यक्रममा विद्यालय तहमा बढ्दो जंकफुडको प्रयोग नियन्त्रण, स्वस्थ खानपानको बानी विकास तथा विद्यार्थीमा पोषणसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अस्वस्थकर खाना (जंकफुड) मुक्त विद्यालय क्षेत्र घोषणा गरिएको हो। नगरपालिकाले विद्यालयपरिसरमा जंकफुड बिक्री–वितरण रोक्ने, स्वस्थकर स्थानीय खाद्य परिकारलाई प्राथमिकता दिने तथा नियमित अनुगमन गर्ने प्रतिबद्धता जनाएको छ।
सो अवसरमा स्वास्थ्य र पोषण क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मानसमेत गरिएको छ।