२०८३ असार २०

मणिमुकुन्द सेन र उजिरसिंह थापाबारे लिखित पुस्तक सार्वजनिक
  • लुम्बिनी खोज
  • २०८३ असार २०, शनिबार १४:३८ गते

बुटवल, २० असार।

पत्रकार महेन्द्र थापाद्वारा लिखित ‘मणिमुकुन्द सेन र उजिरसिंह थापा : व्यक्ति, व्यक्तित्व र योगदान’ नामक पुस्तक शनिबार बुटवलमा सार्वजनिक गरिएको छ।

बुटवलमा आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, संस्कृतिविद् एवं बुटवलका पूर्व उपप्रमुख बिमलबहादुर शाक्य, संस्कृतिविद् राजेन्द्रकुमार आचार्य तथा अग्रज पत्रकार मदनलाल पौडेलले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।

पुस्तकका लेखक महेन्द्र थापाले मणिमुकुन्द सेन र उजिरसिंह थापाको जीवन, व्यक्तित्व तथा योगदानबारे गहन अध्ययन र अनुसन्धानपछि पुस्तक तयार गरिएको बताए। उनले बुटवलको इतिहास र पहिचानसँग जोडिएका यी दुई ऐतिहासिक व्यक्तित्वबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले पुस्तक लेखिएको उल्लेख गरे।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको ऐतिहासिक महत्व उजागर गर्ने उद्देश्यले प्रकाशित उक्त पुस्तक इतिहास अध्ययन गर्नेहरूका लागि महत्वपूर्ण सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गरे। उनले नेपाल–अंग्रेज युद्धअन्तर्गत जितगढी युद्धका कमान्डर कर्णेल उजिरसिंह थापा तथा तत्कालीन पाल्पाली सेनवंशी राजा मणिमुकुन्द सेनको योगदान स्मरण गर्दै पुस्तकले बुटवलको इतिहास, पहिचान र गौरवको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

संस्कृतिविद् एवं बुटवलका पूर्व उपप्रमुख बिमलबहादुर शाक्यले पुस्तक आकारमा सानो भए पनि मणिमुकुन्द सेन र उजिरसिंह थापाबारे महत्वपूर्ण तथा जानकारीमूलक सामग्री समेटिएको बताए। उनले यस्ता अनुसन्धानमूलक कृतिले स्थानीय इतिहास संरक्षण र प्रवर्द्धनमा योगदान पुग्ने धारणा राखे।

अग्रज पत्रकार मदनलाल पौडेलले बुटवलका ऐतिहासिक पक्ष र त्यसको संरक्षणको आवश्यकतामाथि प्रकाश पारे। कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्यले इतिहाससम्बन्धी गहन अनुसन्धान र मेहनतबाट पुस्तक तयार गरिएको भन्दै लेखकको प्रशंसा गरे। उनीहरूले यस्ता कृतिले स्थानीय इतिहासको दस्तावेजीकरण र भावी पुस्तालाई ऐतिहासिक तथ्य हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।