२०८३ श्रावण ४

कपिलवस्तुमा एक वर्षमा ६८५ सवारी दुर्घटनाः ७७ जनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०८३ श्रावण ३, आईतवार १४:३४ गते

कपिलवस्तु ३ साउन ।
कपिलवस्तुमा गत आर्थिक वर्ष ०८२।८३ मा ६८५ वटा सवारी दुर्घटना भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सो अवधिमा दुर्घटनामा परी ७७ जनाले ज्यान गुमाउँदा एक हजार २११ जना घाइते भएका छन्।
जिल्लामा दुर्घटनाको संख्या अझै चुनौतीपूर्ण रहे पनि ट्राफिक नियम कार्यान्वयनमा कडाइ, नियमित निगरानी र जनचेतनामूलक अभियानमार्फत सडक सुरक्षामा सुधार ल्याउने प्रयास निरन्तर जारी रहेको प्रहरी निरीक्षक राजन ढकालले बताए।
ट्राफिक नियम कार्यान्वयनलाई प्रभावकारी बनाउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको ढकालको भनाइ छ। ‘ट्राफिक नियमको पालना सबै नागरिकको साझा जिम्मेवारी हो। चालकले लेन अनुशासन, गति नियन्त्रण, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग तथा मादक पदार्थ सेवन गरेर सवारी नचलाउने बानीको विकास गरे दुर्घटनामा उल्लेखनीय कमी ल्याउन सकिन्छ। सडक सुरक्षा केवल ट्राफिक प्रहरीको प्रयासले मात्र सम्भव हुँदैन, यसका लागि चालक, यात्रु र सर्वसाधारण सबैको समान सहभागिता आवश्यक छ,’ उनले भने।
जिल्ला ट्राफिक प्रहरीको वार्षिक विवरणअनुसार सो आवमा ट्राफिक नियम उल्लंघन गर्ने १० हजार ७३३ वटा सवारीसाधनमाथि कारबाही गर्दा एक करोड ३३ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
एक वर्षको अवधिमा एक हजार ३३५ वटा ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ६८ हजार ३९७ जनालाई ट्राफिक सचेतना प्रदान गरिएको छ। त्यस्तै, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४६२ जना चालकमाथि कारबाही गरिएको कार्यालयले जनाएको छ।
यसैगरी, तोकिएको तौलभन्दा बढी भार बोकेका एक हजार ८६९ वटा मालवाहक सवारीसाधन नियन्त्रणमा लिई यातायात व्यवस्था कार्यालयमार्फत कारबाही गर्दा एक करोड ८६ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको छ। मापसे परीक्षणका क्रममा १५ जना चालक र एकजना सहचालक पजिटिभ भेटिएपछि आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको कार्यालयले जनाएको छ।
प्रहरी निरीक्षक ढकालले सुरक्षित यात्राको संस्कार विकास गर्न सबैले ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै सडक दुर्घटना न्यूनीकरणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको प्रस्ट्याए। उनले आगामी दिनमा पनि नियम उल्लंघन गर्ने सवारीसाधनमाथि थप कडाइका साथ कारबाही गर्नुका साथै जनचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाउने बताए।