२०८१ श्रावण १२

रुपन्देही सुपरलिग न्यू होराइजन विजयी
  • लुम्बिनी खोज
  • २०७७ फाल्गुन १९, बुधबार ०९:४७ गते

भैरहवा, १९ फागुन
न्यू होराइजन क्रिकेट क्लबले रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुधबार भएको डिभिजन ‘ए’को खेलमा तिरुपति क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको छ । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएकोे तिरुपतिले निर्धारित ४४ ओभरको खेलमा २८.३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन बनायो ।
उसका लागि विपिन न्यौपानेले २०, मनोज पुनले १५ सिमान्त शाहीले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा न्यू होराइजनका पुरुषोत्तमा भट्टराईले ८.३ ओभरमा ३५ रन खर्चेर ५ विकेट लिन सफल भए । उनी म्यान अफ द म्याच समेत भए । यस्तै, तुलबहादुर थापाले २ तथा गोविन्द केसी, सुमित पराजुली र राहुल प्रजापतीले समान १÷१ विकेट लिए । जवाफी ब्याटिङ गरेको न्यू होराइजनले २३.१ ओभरमा ३ विकेटको क्षतिमा ८४ रन बनाउँदै सहजै लक्ष्य पूरा गर्यो । उसका लागि मनिष थापाले २८, अमर मिश्राले १८ र विशाल खत्रीले नटआउट १४ रनको योगदान गरे । बलिङमा तिरुपतिका वसिर अहम्मद, प्रदीप जैसवाल र विपिन न्यौपानेले समान १÷१ विकेट लिए । बिहीबार डिभिजन ‘ए’ का देवदह क्रिकेट युनिट र वेष्टर्न क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।