२०८३ श्रावण ९
बुटवल, ९ साउन ।
बुटवल स्थीत लुम्बिनी बस टर्मिनलमा विद्यार्थीहरुले सरसफाइ गरेका छन् । सरसफाइ अभियानका क्रममा करिब तीन टन फोहोर संकलन भएको थियो । सङ्कलन भएको करिब तीन टन फोहोर बुटवल उपमहानगरपालिकाले व्यवस्थापन गरेको आयोजकले जनाएको छ।
बुटवल उपमहानगरपालिका र मैनादेवी फाउन्डेसनको सहकार्यमा नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयका विद्यार्थीहरूद्धारा आयोजित वातावरणीय प्रतिस्पर्धा (ईपीएल) अन्तर्गतको सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम शनिबार लुम्बिनी बस टर्मिनलमा सम्पन्न भएको हो ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यार्थीको नेतृत्व र व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको जानकारी दिँदै आगामी सातामा समीक्षा बैठकपछि थप सरसफाइ तथा जनचेतनामूलक अभियान सञ्चालन गरिने बताए।
कार्यक्रममा कक्षा ११ र १२ का व्यवस्थापन, शिक्षा, कानुन र विज्ञान समूहका गरी १६१ विद्यार्थी सहभागी भएका थिए। त्यस्तै विद्यालयका शिक्षक निलकण्ठ न्यौपाने, नेत्र खरेल, कर्मचारी परिषद् बुटवलका अध्यक्ष देवराज चौधरी, सवारीचालक थमबहादुर थापा, विद्यालय सहयोगी आशा चौधरी लगायतको सहभागिता रहेको थियो।कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालि, बुटवल यातायात प्रणाली, बुद्ध टोल विकास समिति, नयाँ बसपार्क प्रहरी बिट तथा स्थानीय सरोकारवालाको पनि सहभागिता रहेको थियो।
कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालि, बुटवल यातायात प्रणाली, बुद्ध टोल विकास समिति, नयाँ बसपार्क प्रहरी बिट तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रमका बुटवल–९ का वडा अध्यक्ष प्रदीपकुमार श्रेष्ठले विद्यार्थीहरूको सक्रियता र लगनशीलताको प्रशंसा गर्दै बसपार्क क्षेत्रलाई स्वच्छ राख्ने अभियान अनुकरणीय भएको बताए। उनले होटल व्यवसायी, यातायात व्यवसायी, चालक तथा सहचालकलाई पान, गुट्खा लगायतका फोहोर जथाभावी नफाल्न आग्रह गर्दै स्वच्छ वातावरण निर्माणमा सबैको समान जिम्मेवारी रहेको उल्लेख गरे।
मैनादेवी फाउन्डेसनका आधिकारिक प्रतिनिधि तपेश जैसीले बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा ‘वातावरणीय प्रिमियर लिग (ईपीएल)’ सञ्चालन गरिएको जानकारी दिए। बुटवलका १५ विद्यालयलाई लक्षित कार्यक्रममध्ये १३ विद्यालय सहभागी भएको र नवीन औद्योगिक कदरबहादुर रीता माविले उत्कृष्ट योजना र व्यवस्थापनसहित अभियानको नेतृत्व गरेको भन्दै उनले विद्यार्थीहरूको मेहनतको उच्च प्रशंसा गरे।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र भुसालले विद्यार्थीहरूले अनुशासित ढंगले बसपार्क सरसफाइ अभियान सञ्चालन गरेको उल्लेख गर्दै यस्ता गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए।
नेपाल होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष माधव खनालले देशकै प्रमुख यातायात केन्द्रका रूपमा रहेको लुम्बिनी बस टर्मिनललाई सरसफाइ अभियानका लागि छनोट गर्नु प्रभावकारी भएको बताउँदै सचेतनामूलक प्लेकार्ड र ब्यानरसहितको कार्यक्रमले ७७ जिल्लासम्म सकारात्मक सन्देश पुग्ने विश्वास व्यक्त गरे।
शिक्षा समूह कक्षा १२ का विद्यार्थी विजय क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नवीन विद्यार्थी क्लबकी अध्यक्ष तथा विज्ञान समूह कक्षा १२ की विद्यार्थी लक्ष्मी पाण्डेले गरेकी थिइन्। कार्यक्रमको उद्देश्यबारे विज्ञान समूहका विद्यार्थी प्रमोद आचार्यले धारणा राखेका थिए भने सहजीकरण कानुन समूह कक्षा ११ का विद्यार्थी विशाल पाण्डेले गरेका थिए।
यस अवसरमा वडा अध्यक्ष श्रेष्ठले विद्यालयको तर्फबाट पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र भुसाललाई कार्यक्रमको पहिचान अंकित डस्टबिन हस्तान्तरण गरेका थिए।



