२०८३ श्रावण १८

जीवराज आश्रितको ८३औँ जन्मजयन्तीमा ‘जीवराज आश्रितको वैचारिक आलोक’ पुस्तक विमोचन
  • लुम्बिनी खोज
  • २०८३ श्रावण १८, सोमबार ११:५७ गते

बुटवल, १८ साउन ।
नेपालको कम्युनिस्ट आन्दोलनका नेता स्वर्गीय जीवराज आश्रितको ८३ औँ जन्मजयन्तीको अवसरमा ‘जीवराज आश्रितको वैचारिक आलोक’ (जीवनी, व्यक्तित्व र कृतित्व) पुस्तकको विमोचन तथा विमर्श कार्यक्रम सोमबार बुटवलमा सम्पन्न भएको छ ।
जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपाल, रूपन्देहीको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले पुस्तक विमोचन गर्दै जीवराज आश्रित अनुशासित, सिद्धान्तनिष्ठ र पार्टीप्रति अत्यन्त बफादार नेताका रूपमा स्थापित व्यक्तित्व रहेको बताए । उनले आश्रितले अंगालेको आदर्श, राजनीतिक संस्कार र संगठनात्मक प्रतिबद्धता आज पनि अनुकरणीय रहेको उल्लेख गरे ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा राष्ट्रियसभाका पूर्व सदस्य देवेन्द्र घिमिरेले जीवराज आश्रितलाई सिद्धान्तअनुसार जीवन जिउने सच्चा कम्युनिस्ट नेताका रूपमा स्मरण गर्दै उनको राजनीतिक निष्ठा र जीवनशैली भावी पुस्ताका लागि प्रेरणादायी रहेको बताए ।
प्रतिष्ठानका अध्यक्ष युवराज घिमिरेले प्रतिष्ठानले समाजमा सकारात्मक परिवर्तनका लागि निरन्तर वैचारिक तथा साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै पुस्तकले समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
विमोचित पुस्तकमाथि साहित्यकार ऋषिराम भुसाल र रामचन्द्र श्रेष्ठले समीक्षा तथा टिप्पणी गर्दै जीवराज आश्रितको जीवनी, वैचारिक स्पष्टता तथा नेपाली राजनीतिमा उनले पु¥याएको योगदानको चर्चा गरे । पुस्तकका लेखक डा. मुरारी पराजुलीले पुस्तककाबारेमा धारणा राखेका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, नेकपा (एमाले) रूपन्देहीका अध्यक्ष यज्ञ गैरे, डा. सागर न्यौपानेलगायतले आश्रितको व्यक्तित्व, निष्ठाको राजनीति तथा उनका विचारहरूको वर्तमान सान्दर्भिकतामाथि प्रकाश पारेका थिए । कार्यक्रमका वक्ताहरूले जीवराज आश्रितले देखाएको मार्गदर्शन, सिद्धान्त र राजनीतिक संस्कारलाई वर्तमान वामपन्थी आन्दोलनले आत्मसात् गर्न नसक्दा कम्युनिस्ट आन्दोलन विभिन्न चुनौतीको सामना गरिरहेको धारणा व्यक्त गरे ।
वाम बुद्धिजीवी, साहित्यकार, प्रतिष्ठानका आजीवन सदस्य, पदाधिकारी, सदस्य तथा स्थानीय व्यक्तित्वहरूको सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।