२०८३ श्रावण २३

वातावरण प्रिमियर लिगको तेस्रो हप्ता सम्पन्न, सरसफाइसँगै जनचेतनामूलक कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८३ श्रावण २३, शनिबार १३:५९ गते

बुटवल, २३ साउन ।
बुटवल उपमहानगरपालिका र मैनादेवी फाउन्डेसनको सहकार्यमा नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयले आयोजना गरेको वातावरण प्रिमियर लिग (ईपीएल) को तेस्रो हप्ताको कार्यक्रम शनिबार देवीनगर चौपारीमा सम्पन्न भएको छ।
कार्यक्रमअन्तर्गत विद्यालय परिसर तथा बाहिरी क्षेत्रमा सरसफाइ गर्नुका साथै वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कविता वाचन, नकुहिने फोहोरबाट निर्माण गरिएका सामग्रीको प्रदर्शन तथा सरसफाइ र फोहोर व्यवस्थापनसम्बन्धी तीज गीत र नृत्य प्रस्तुत गरिएको थियो।
कार्यक्रममा बुटवल उपमहानगरपालिका–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले विद्यार्थीहरूले व्यवस्थित रूपमा फोहोर सङ्कलन गरी उपमहानगरपालिकालाई हस्तान्तरण गरेको कार्य प्रशंसनीय रहेको बताए। उनले विद्यार्थीलाई सानै कक्षादेखि घर, परिवार र विद्यालयबाटै सरसफाइप्रति प्रतिबद्ध बनाउनुपर्नेमा जोड दिए।
सरसफाइप्रति विद्यार्थीमा चेतना विकास गर्न सके मानवीय तथा धनजनको क्षति न्यूनीकरण, चराचुरुङ्गीको संरक्षण तथा स्वच्छ, सफा र हराभरा वातावरण निर्माणमा सहयोग पुग्ने उनको भनाइ थियो। सफा र सुन्दर नेपाल निर्माणका लागि अभिभावक, सामाजिक व्यक्तित्व तथा नागरिक समाजले विद्यार्थीलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए।
मैनादेवी फाउन्डेसनका प्रतिनिधि तपेश जैसीले बुटवलमा सञ्चालन भइरहेको ३० दिने ईपीएल कार्यक्रमअन्तर्गत नवीन औद्योगिक कदरबहादुर रीता माविले आम समुदायलाई सहभागी गराएर कार्यक्रम सञ्चालन गर्नु अनुकरणीय रहेको बताए। उनले विद्यालयले वातावरण संरक्षण र सरसफाइका क्षेत्रमा गरेको प्रयासको प्रशंसा गरे।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले ईपीएलको पहिलो हप्ताअन्तर्गत साउन ९ गते लुम्बिनी बस टर्मिनलमा सरसफाइ गरी करिब तीन टन फोहोर सङ्कलन गरिएको जानकारी दिए। त्यस्तै, दोस्रो हप्ता साउन १६ गते विद्यालयको सेवा क्षेत्रमा सरसफाइ गरी करिब एक टन फोहोर सङ्कलन गरिएको उनले बताए।
उनका अनुसार ईपीएलको अन्तिम हप्तामा राजमार्ग चौराहामा बाजागाजासहित सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। सो अवसरमा जनचेतनामूलक नाटक प्रस्तुत गर्नुका साथै हालसम्म सङ्कलन गरिएका नकुहिने फोहोरबाट निर्माण गरिएका सामग्री प्रदर्शन गरिनेछ।
कार्यक्रममा ईपीएलका फोकल पर्सन नीलकण्ठ न्यौपानेले नकुहिने फोहोरबाट निर्माण गरिएका सामग्रीबारे प्रस्तुति दिएका थिए। कक्षा ११ कानुन समूहकी विद्यार्थी अनिषा बन्जाडेको नेतृत्वमा जनचेतनामूलक कविता वाचन गरिएको थियो। त्यसैगरी, विद्यार्थी अप्सना क्षेत्री र मुस्कान नेपालीले सरसफाइसम्बन्धी तीज गीत तथा नृत्य प्रस्तुत गरेका थिए। बाहिरी घेरामा नवीन स्पोर्ट्स क्लबका खेलाडीहरूले समेत नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा वातावरण सरसफाइ तथा डेङ्गु रोग नियन्त्रणसम्बन्धी जनचेतनामूलक नारासमेत प्रस्तुत गरिएको थियो। एनसीसी क्याडेट अभिच्छा श्रेष्ठ, नितु गौड तथा कक्षा ११ कानुन समूहका विद्यार्थी विशाल पाण्डेलगायतले सचेतनामूलक नाराहरू वाचन गरेका थिए।
विद्यार्थी विजय क्षेत्रीको अध्यक्षता तथा कक्षा १२ की विद्यार्थी ऐश्वर्या कुँवरको सञ्चालनमा सम्पन्न कार्यक्रममा विज्ञान समूहका विद्यार्थी प्रमोद आचार्यले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू हुमाकान्त लम्साल, अनिलकुमार ठाकुर, बन्दना पराजुली भुसाल र भावना चालिसे, शिक्षक अभिभावक सङ्घकी अध्यक्ष सीता न्यौपाने, सदस्यहरू गणेशबहादुर कुँवर, अमृत पाण्डे, दुर्गा शर्मा र ज्योति थापालगायतको सहभागिता थियो।
त्यस्तै, नेपाल सरकारका पूर्वउपसचिव केदार घिमिरे, पूर्व जिल्ला शिक्षा अधिकारी भोजबहादुर केसी, समाजसेवी चित्रबहादुर वर्मा, पूर्वप्रधानाध्यापक पुण्य गौतम, जनक फर्निचर उद्योगका सञ्चालक सुरेश शर्मा सुवेदी, नवदुर्गा मन्दिरका अध्यक्ष कुलबहादुर केसी, ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष बाबुराम खनाल, दूरदर्शी सहकारीकी अध्यक्ष मीनाकुमारी कार्की, समाजसेवी पम्फा अधिकारी, अर्जुन कुँवर, सुवास रायमाझी र रामचन्द्र तिवारीलगायतको उपस्थिति थियो।
कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थी, नवीन स्पोर्ट्स क्लबका खेलाडी, शिक्षक, अभिभावक तथा देवीनगर र माझगाउँ क्षेत्रका समाजसेवीसहित करिब २०१ जनाको सहभागिता रहेको विद्यालयले जनाएको छ।