२०८३ श्रावण २७
बुटवल २७ साउन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन । नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्राबधान अनुसार विश्वासको मत लिन थालेका हुन ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँट टुंग्याउने तयारी गरेको उनको सचिवालयले जनाएको छ । एमाले र नेकपाबीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तय भएको थियो । एमालेबाट आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने एमाले अध्यक्ष केपी ओलिले निर्णय गरेपछि आचार्य सोही अनुसार तयारीमा जुटेका हुन् ।
नयाँ सत्ता समीकरणअनुसार नेकपालाई मन्त्रालय दिने विषयमा अन्तिम सहमति जुट्न बाँकी छ । नेकपाका प्रदेश संसदीय दलका प्रमुख सचेतक इन्द्रजित थारुले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रालय बाडफाडको टुंगो लाग्ने गरी तयारी गरिएको बताए ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय छन् । हाल मुख्यमन्त्रीसहित एमालेका पाँच र जनता समाजवादी पार्टी नेपालका दुई मन्त्री सरकारमा छन् ।
लुम्बिनी प्रदेश सभा हाल ८३ सदस्यीय छ । प्रतिनिधिसभामा निर्वाचित भएपछि चार प्रदेशसभा सदस्यले राजीनामा दिएका कारण सदस्य संख्या ८७ बाट घटेर ८३ पुगेको हो । सरकार गठनका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ ।
हाल यहा एमालेका २९, कांग्रेसका २७, नेकपाका १३, राप्रपाका ४, जसपा नेपाल ३, जनमत पार्टी ३, जसपा २, राजमो १ र एक जना स्वतन्त्र सदस्य रहेका छन् । ८३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन् । नेकपालाई अर्थसहितका मन्त्रालय दिने गरी छलफल अगाडी बढेको छ ।