२०८३ श्रावण २८
ओजेटी अन्तिम मूल्याङ्कनमा वैज्ञानिक र न्यायोचित मूल्याङ्कनमा जोड
बुटवल, २८ साउन ।
नवीन औद्योगिक बदरबहादुर रिता माध्यमिक विद्यालय, देवीनगरमा कक्षा १२ सिभिल इन्जिनियरिङतर्फ २०८२ ब्याचको ओजेटी अन्तिम मूल्याङ्कन कार्यक्रम बिहीबार सम्पन्न भएको छ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड, लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख जनार्दन बास्तोलाले विद्यार्थीले ओजेटी गरेका कार्यस्थलको हाजिरी विवरण यथार्थ र विश्वसनीय हुनुपर्ने बताउँदै बाह्य विज्ञले वैज्ञानिक तथा न्यायोचित ढंगले मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए। उनले हचुवाको भरमा कुनै पनि विद्यार्थीलाई अंक नदिन मूल्याङ्कनकर्तालाई निर्देशन दिए।
बुटवल उपमहानगरपालिकाकी वरिष्ठ शिक्षा अधिकृत कमला चुदालीले चार वर्षको अध्ययनका क्रममा प्रशिक्षक तथा शिक्षकबाट सैद्धान्तिक ज्ञान हासिल गरेका विद्यार्थीले ओजेटीपछि राम्रो प्रस्तुति दिएकोमा खुसी व्यक्त गरिन्। उनले विद्यार्थीलाई आगामी दिनमा पनि लगनशील भएर थप मेहनतका साथ अघि बढ्न सुझाव दिइन्।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रम कक्षा ११ र १२ सिभिल इन्जिनियरिङकी इन्चार्ज सपना भट्टराईले सञ्चालन गरेकी थिइन्। कार्यक्रममा सिभिल इन्जिनियरिङ कक्षा ११ र १२ का संयोजक इन्जिनियर विमल अर्याल तथा प्रशिक्षक इन्जिनियर साम्भ पन्थीले धारणा राखेका थिए।
अन्तिम मूल्याङ्कनका लागि राष्ट्रिय परीक्षा बोर्डले इन्जिनियर सागर भुसाललाई बाह्य विज्ञका रूपमा खटाएको थियो। विद्यार्थीका तर्फबाट समूहगत रूपमा पर्सुन रेश्मी, सुगम घिमिरे, समीक्षा अधिकारी र सुवास पौडेललगायतले ओजेटीसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।
ओजेटीका क्रममा विद्यार्थीहरू सिँचाइ प्रणाली, सिँचाइ ड्याम, सम्पत्ति मूल्याङ्कन, राजमार्ग तथा सडक निर्माण, स्तरीकृत सामग्रीको निर्माण तथा प्रयोग, गुणस्तरीय कार्यका सूचक, टिमवर्क र पेशागत सिद्धान्तलगायतका विषयमा परिचालित भएका थिए।
कार्यक्रमले विद्यार्थीले कक्षाकोठामा हासिल गरेको सैद्धान्तिक ज्ञानलाई वास्तविक कार्यस्थलमा प्रयोग गर्दै व्यावहारिक सीप तथा पेशागत दक्षता हासिल गरेको मूल्याङ्कन गर्ने अवसर प्रदान गरेको विद्यालयले जनाएको छ।




