२०८३ श्रावण ३०
बुटवल, ३० साउन ।
बुटवलमा सञ्चालन भइरहेको वातावरण प्रिमियर लिग अर्थात् इपीएलको चौथो हप्ताको कार्यक्रम जनचेतनामूलक गतिविधिसहित सम्पन्न भएको छ।
बुटवल उपमहानगरपालिका र मैनादेवी फाउन्डेसनको सहकार्यमा नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय देवीनगरले आयोजना गरेको कार्यक्रम शनिबार राजमार्ग चौराहामा सम्पन्न भएको हो।
सरसफाइसँगै सचेतना
वातावरण संरक्षण र सरसफाइसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरू पञ्चेबाजा, ब्यानर र प्लेकार्डसहित राजमार्ग चौराहा क्षेत्रमा पुगे।
विद्यार्थीहरूले सडक तथा आसपासको क्षेत्रमा सरसफाइ गर्नुका साथै वातावरण संरक्षणसम्बन्धी कविता वाचन गरे।
त्यसैगरी, फोहोर व्यवस्थापन र सरसफाइको सन्देश दिने सडक नाटक पनि प्रस्तुत गरियो। विद्यार्थीहरूले प्रस्तुत गरेको नाटकले फोहोर जथाभावी फाल्दा हुने असर र त्यसको व्यवस्थापनमा नागरिकको भूमिकालाई प्रभावकारी रूपमा उठाएको थियो।
‘फोहोर व्यवस्थापन सबैको जिम्मेवारी’
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले फोहोर व्यवस्थापनको जिम्मेवारी उपमहानगरपालिकाले मात्रै पूरा गर्न नसक्ने बताए। उनका अनुसार बुटवललाई सफा र व्यवस्थित बनाउन आम नगरवासीको सक्रिय सहभागिता आवश्यक छ।
प्रमुख पाण्डेयले वातावरण प्रिमियर लिगमार्फत नवीन औद्योगिक विद्यालयले गरेको सक्रिय सहभागिताको प्रशंसा गर्दै विद्यार्थीहरूले प्रस्तुत गरेको सडक नाटक प्रभावकारी रहेको बताए।
यस्ता जनचेतनामूलक कार्यक्रम र सडक नाटकलाई विभिन्न सञ्चारमाध्यममार्फत आम नागरिकसम्म पुर्याउनुपर्नेमा पनि उनले जोड दिए।
फोहोरबाट उपयोगी सामग्री निर्माण
मैनादेवी फाउन्डेसनका आधिकारिक प्रतिनिधि तपेश जैसीले पनि वातावरण प्रिमियर लिगमा विद्यालयले देखाएको सक्रियताको प्रशंसा गरे।
फोहोर व्यवस्थापन र सरसफाइका क्षेत्रमा विद्यार्थीहरूले देखाएको सक्रियता अनुकरणीय रहेको भन्दै जैसीले फोहोरबाट उपयोगी सामग्री निर्माण तथा फोहोर व्यवस्थापनमा विज्ञान र प्रविधिको प्रयोगलाई समेत प्रशंसनीय बताए।
कार्यक्रममा विद्यालयका वातावरण प्रिमियर लिग फोकल पर्सन नीलकण्ठ न्यौपानेले नकुहिने फोहोरबाट सङ्कलित सामग्री प्रयोग गरी निर्माण गरिएका विभिन्न सामग्री प्रस्तुत गरेका थिए।
विज्ञान समूहका विद्यार्थी प्रमोद आचार्यले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए भने कानुन समूहकी विद्यार्थी अनिषा बन्जाडेले सडक नाटकको निर्देशन गरेकी थिइन्।
तीन सय विद्यार्थीको सहभागिता
विद्यार्थी विजय क्षेत्रीको अध्यक्षता तथा विद्यार्थी अनुष्का बेलबासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक–अभिभावक सङ्घका पदाधिकारी, प्रधानाध्यापक प्रेमबहादुर बस्नेत, सहायक प्रधानाध्यापक अर्जुन खनाललगायतको सहभागिता थियो। त्यस्तै विद्यालय व्यवस्थापन समितिका सदस्यहरू हुमकान्त लम्साल, अनिलकुमार ठाकुर र भावना चालिसे, शिक्षक–अभिभावक सङ्घकी अध्यक्ष सीता न्यौपाने, सदस्यहरू गणेशबहादुर कुँवर, अमृत पाण्डे र ज्योति थापा, लगायतको पनि सहभागिता रहेको थियो।
त्यस्तै, भौतिकशास्त्र शिक्षक विनयकुमार विक, इसीए इन्चार्ज नेत्र खरेल, सामाजिक विषय शिक्षक अनिल आचार्य, नवीन स्पोर्ट्स क्लबका अध्यक्ष दीपककुमार क्षेत्री, विद्यालय कर्मचारी परिषद् बुटवलका अध्यक्ष देवराज चौधरी, विद्यालय सहयोगी आशा चौधरीलगायत व्यवस्थापन, विज्ञान, सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समूहका करिब ३०० विद्यार्थी सहभागी थिए।
वातावरण प्रिमियर लिगअन्तर्गत विद्यालयले विभिन्न स्थानमा सरसफाइ, सचेतना तथा सिर्जनात्मक गतिविधिमार्फत फोहोर व्यवस्थापन र वातावरण संरक्षणसम्बन्धी सन्देश प्रवाह गर्दै आएको छ।
प्रधानाध्यापक प्रेमबहादुर बस्नेत सरसफाइ अभियानसँगै विद्यार्थीमार्फत सडक नाटक, कविता, पञ्चेबाजा तथा फोहोरबाट उपयोगी सामग्री निर्माणजस्ता गतिविधि प्रस्तुत गरेर फोहोर व्यवस्थापन र वातावरण संरक्षणको सन्देश समुदायसम्म पुर्याउने प्रयास भइरहेको बताउछन् । उनका अनुसार वातावरण प्रिमियर लिग केवल प्रतिस्पर्धामा सीमित छैन। यसले विद्यार्थीलाई वातावरण संरक्षणको व्यवहारिक अभियानसँग जोड्दै ‘सफा वातावरण, स्वस्थ समाज’को सन्देशलाई समुदायस्तरमा पुर्याउने काम गरिरहेको छ।




