२०८३ भाद्र १
बुटवल १ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन । प्रदेश सभाको आज दिउसो बस्ने बैठकमा उनले विश्वासको मत लिने कार्यक्रम रहेको छ । प्रदेश सभा सचिवालयका अनुसार आज सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकको सम्भावित कार्यसूचीमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यक्रम छ । ।
सम्भावित कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउनेछन । त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्नेछन ।
मुख्यमन्त्रीले प्रस्ताव पेश गरेपछि उक्त प्रस्तावमाथि प्रदेश सभा बैठकमा छलफल हुनेछ । छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिनेछन । मुख्यमन्त्रीको जवाफपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन ।
लुम्बिनी प्रदेश सभामा कुल ८३ जना प्रदेश सभा सदस्य छन् । सरकार गठनका लागि आवश्यक बहुमतका लागि ४२ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमतभन्दा बढी प्रदेश सभा सदस्यको समर्थन जुटाउने गरी तयारी गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।