२०८३ आश्विन १७

वातावरण प्रिमियर लिगमा अक्सफोर्ड माध्यमिक विद्यालय प्रथम
  • लुम्बिनी खोज
  • २०८३ आश्विन १६, शुक्रबार १३:२४ गते

दीप बोर्डिङ दोस्रो, मणिमुकुन्द मावि तेस्रो; १५ विद्यालयबीच एक महिनासम्म सञ्चालन भएको थियो वातावरणसम्बन्धी प्रतियोगिता

बुटवल, १५ असोज ।

वातावरण संरक्षण र विद्यार्थीको सिर्जनशीलता प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा सञ्चालन गरिएको वातावरण प्रिमियर लिगमा अक्सफोर्ड माध्यमिक विद्यालय प्रथम भएको छ ।

बुटवल उपमहानगरपालिका र मैनादेवी फाउन्डेसनको सहकार्यमा आयोजित वातावरण प्रिमियर लिगको समापन बिहीबार बुटवलमा गरिएको हो । समापन कार्यक्रममा प्रतिनिधिसभा सदस्य केपी खनालले प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यालय तथा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयका प्रतिनिधिलाई पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा अक्सफोर्ड माध्यमिक विद्यालय प्रथम, दीप बोर्डिङ स्कुल द्वितीय, मणिमुकुन्द माध्यमिक विद्यालय तृतीय भएका छन् । नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेको छ । प्रथम भएको अक्सफोर्ड माध्यमिक विद्यालयले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

बुटवल उपमहानगरपालिकाअन्तर्गतका १५ वटा सामुदायिक तथा संस्थागत विद्यालयबीच एक महिनासम्म वातावरण प्रिमियर लिग सञ्चालन गरिएको थियो । प्रतियोगितामार्फत विद्यार्थीमा वातावरण संरक्षणसम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै सिर्जनशीलता, नेतृत्व, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ ।

प्रथम स्थान हासिल गरेपछि अक्सफोर्ड माध्यमिक विद्यालयले विद्यार्थीको मेहनत, प्रतिभा र उत्कृष्ट टोलीभावनाबाट प्राप्त यो उपलब्धिले आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न प्रेरणा मिलेको जनाएको छ । विद्यालयले प्रतियोगितामा सहभागी सबै विद्यार्थी, शिक्षक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै सबैको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ ।

वातावरण प्रिमियर लिगअन्तर्गत विभिन्न विधामा पनि विद्यालय तथा विद्यार्थीलाई पुरस्कृत गरिएको छ । कान्ति माध्यमिक विद्यालय बुटवलले ‘इको एक्सिलेन्सी अवार्ड’, इडन बोर्डिङ स्कुलले ‘कम्युनिटी हिरो अवार्ड’, कालिका मानवज्ञान माध्यमिक विद्यालयले ‘सोसल मिडिया अवार्ड’, नहरपुर माध्यमिक विद्यालयले ‘इनोभेसन अवार्ड’, स्कलर्स होम बोर्डिङ स्कुलले ‘ग्रीन इम्प्याक्ट अवार्ड’, नयाँगाउँ माध्यमिक विद्यालयले ‘एक्सेसिबिलिटी अवार्ड’ र न्यू होराइजन बोर्डिङ स्कुलले ‘टिमवर्क अवार्ड’ प्राप्त गरेका छन् ।

त्यसैगरी बेस्ट स्कुल कोअर्डिनेटर अवार्ड विभिन्न विद्यालयका संयोजकले प्राप्त गरेका छन् । अवार्ड प्राप्त गर्नेमा मणिमुकुन्द कलेजका दिनेशराज खनाल, न्यू होराइजन बोर्डिङ स्कुलका रिजन श्रेष्ठ, दीप बोर्डिङ स्कुलकी दीपा केसरी, अक्सफोर्ड बोर्डिङका विश्व पन्थी र दीप बोर्डिङका कुशल अर्याल रहेका छन् ।

कार्यक्रम वातावरण प्रिमियर लिगका संयोजक सरोज घिमिरेको अध्यक्षता तथा दिप्सन अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।