२०८३ आश्विन २५

राममणि क्याम्पसमा शिक्षक सेवा तयारीदेखि भिडियो निर्माण प्रतियोगितासम्म
  • लुम्बिनी खोज
  • २०८३ आश्विन २४, शनिबार १२:३० गते

विद्यार्थीलाई अभिमुखीकरण, उत्तीर्णलाई बधाई र सिर्जनात्मक प्रतिभालाई पुरस्कार

रुपन्देही, २४ असोज ।

राममणि बहुमुखी क्याम्पसले विद्यार्थीको क्षमता अभिवृद्धि, व्यावसायिक तयारी र सिर्जनात्मक प्रतिभाको विकास गर्ने उद्देश्यले तीनवटा छुट्टाछुट्टै कार्यक्रम सम्पन्न गरेको छ। क्याम्पसले शिक्षक सेवा आयोगको तयारीसम्बन्धी अभिमुखीकरण, स्नातक तह उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना र भिडियो सामग्री निर्माण प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेको हो।

क्याम्पसको विद्यार्थी परामर्श तथा रोजगार समितिको आयोजनामा बीएड तहका विद्यार्थीलाई लक्षित गरी शिक्षक सेवा आयोगको तयारीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थी परामर्श तथा रोजगार समितिका संयोजक भीमलाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय, सिद्धार्थनगरका एकाइ प्रमुख हरि बिष्टले प्रशिक्षण दिएका थिए।

कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले शैक्षिक ज्ञानसँगै विद्यार्थीलाई प्रतिस्पर्धात्मक परीक्षाको तयारी र व्यावसायिक जीवनका लागि सक्षम बनाउने उद्देश्यले क्याम्पसले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डे, शिक्षा तथा मानविकी संकायका प्रमुख लक्ष्मण खरेल तथा प्राध्यापकहरू नारायणप्रसाद भुसाल, मधुसुदन खनाल, जीवनकुमार पौडेल, कविता पन्थी, वेदप्रसाद न्यौपाने र कुलबहादुर क्षेत्रीलगायतको उपस्थिति थियो।

स्नातक उत्तीर्ण विद्यार्थीलाई बधाई

यसैगरी, क्याम्पसले स्नातक तहको चौथो वर्ष उत्तीर्ण गरेका विद्यार्थीलाई बधाई तथा शुभकामना प्रदान गरेको छ।

कार्यक्रममा क्याम्पस प्रमुख पराजुलीले स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई अध्यापन गराउनसमेत क्याम्पस तयार रहेको बताए। उनले विद्यार्थीको आगामी शैक्षिक तथा व्यावसायिक यात्राको सफलताको कामना गरे।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डे, व्यवस्थापन संकायका प्रमुख राजेन्द्र थापामगर तथा प्राध्यापकहरू कृष्णकुमार रेग्मी र मधुसुदन खनाललगायतले मन्तव्य व्यक्त गर्दै उत्तीर्ण विद्यार्थीलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिएका थिए।

भिडियो निर्माणमा सुजन प्रथम

क्याम्पसले आयोजना गरेको भिडियो सामग्री निर्माण प्रतियोगिताका विजयी विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरेको छ। प्रतियोगितामा उत्कृष्ट भिडियो सामग्री निर्माण गर्ने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो।

प्रतियोगितामा सुजन सुवेदी प्रथम हुँदै पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। नवीन गौतम र सुमित अग्रहरीको संयुक्त सामग्री दोस्रो भयो। उनीहरूले तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

त्यसैगरी, समीर सुवेदी, सुजाता पन्थी र आराधना भण्डारीको सामग्री तेस्रो भयो। उनीहरूलाई जनही दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको क्याम्पसले जनाएको छ।

विद्यार्थीको शैक्षिक क्षमता, व्यावसायिक दक्षता र सिर्जनात्मक प्रतिभा अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रमले उनीहरूलाई आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।