२०८३ कार्तिक २२

विज्ञान विषय प्रवर्द्धनका लागि नवीन औद्योगिकको अन्तरविद्यालय भ्रमण
  • लुम्बिनी खोज
  • २०८३ कार्तिक २१, शुक्रबार १६:४५ गते

बाँके र कैलालीका नमुना विद्यालयसँग असल शैक्षिक अभ्यासबारे अन्तरक्रिया

बुटवल, २० कात्तिक ।

बुटवलस्थित नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय देवीनगरले विज्ञान विषय प्रवर्द्धन तथा शैक्षिक गुणस्तर सुधारका लागि अन्तरविद्यालय भ्रमण कार्यक्रम सुरु गरेको छ। कार्यक्रमअन्तर्गत विद्यालयको टोलीले बाँके र कैलाली जिल्लाका नमुना विद्यालयमा पुगेर असल शैक्षिक अभ्यासबारे अन्तरक्रिया तथा अनुभव आदानप्रदान गरेको छ।

भ्रमणका क्रममा बिहीबार बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित मङ्गलप्रसाद नमुना माध्यमिक विद्यालय र कैलालीको गोदावरी नगरपालिकास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय अत्तरियामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन्।

मङ्गलप्रसाद नमुना माध्यमिक विद्यालयमा आयोजित कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकेश सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। त्यसैगरी दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा आयोजित कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो।

दुवै कार्यक्रममा प्रमुख अतिथिका रूपमा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्री तथा विशिष्ट अतिथिका रूपमा उपमहानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत कमला चुदाली सहभागी थिए। विद्यालय सल्लाहकार समितिका संयोजक तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खरेललगायतले पनि शैक्षिक अभ्यास र अनुभव आदानप्रदानको महत्त्वबारे धारणा राखेका थिए।

कार्यक्रममा मङ्गलप्रसाद नमुना माध्यमिक विद्यालयकी प्रधानाध्यापक सन्ध्या गुप्ता र दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरसिंह महताले स्वागत मन्तव्यसहित आ–आफ्ना विद्यालयमा अपनाइएका असल शैक्षिक अभ्यासबारे जानकारी गराएका थिए।

नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले आफ्नो विद्यालयका शैक्षिक अभ्यास प्रस्तुत गर्नुका साथै अन्तरक्रियाको सहजीकरण गरेका थिए। कार्यक्रममा विभिन्न विद्यालयका तर्फबाट शंकर गौतम, सन्तोष पछाई र जयराम पन्थीले समसामयिक विषयमा जिज्ञासा तथा प्रश्न राखेका थिए।

विज्ञान विषयको प्रवर्द्धन, शैक्षिक अभ्यासको आदानप्रदान र विद्यालयबीच अनुभव साटासाट गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालय सल्लाहकार समिति, व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका सदस्य, सहायक प्रधानाध्यापक, शिक्षक र कर्मचारीसहित ८३ जनाको सहभागिता रहेको थियो।