२०८२ कार्तिक २८

उद्योग संघको टोली भ्रमणमा उद्योग तथा पर्यटन क्षेत्रको विकासमा जोड 
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ २३, सोमबार ०५:५६ गते

बुटवल ।

रुपन्देही उद्योग संघको संघसंस्था अवलोकन भ्रमण सम्पन्न गरेको छ । संघका अध्यक्ष माधव प्रसाद पौडेलको नेतृत्वको टोलीले छिमेकी जिल्ला कपिलवस्तु र अर्घाखाँचीको संघसंस्था, धार्मिक एर्व पर्यटकीय क्षेत्रहरुको तथा पर्यटन अवलोकन भ्रमण गरेको हो । भ्रमणका क्रममा त्यहाँ रहेका उद्योगी व्यवसायीहरुसँग सामुहिक छलफल तथा अन्तरक्रिया गरिएको संघका महासचिव हरि बहादुर खत्रीले बताए । भ्रमणको पहिलो दिन कपिलबस्तु उद्योग वाणिज्य संघ जितपुरको आयोजनामा अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले संस्थागत रुपमा गरिने भ्रमण तथा अवलोकन कार्यक्रमले व्यवसायिक अनुभव साटासाट गर्न तथा सहयोग आदान प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

बक्ताहरुले यस क्षेत्रको आर्थिक विकासका लागि औद्योगिक विकास हुनु जरुरी भएको कुरामा जोड दिदै कपिलवस्तुमा औद्योगिक ग्राम सञ्चालन गर्न र पर्यटन उद्योगलाई बलियो बनाउन पहल थाल्न आग्रह पनि गरिएको थियो । संघका अध्यक्ष परिषद्का संयोजक एवं लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलमले स्थानीय आवश्यकता र उपभोक्ताहरुको चाहनालाई ध्यानमा राखेर आर्थिक गतिविधि गर्न सकियो भने संमृद्धिको लक्ष्य प्राप्त हुने विश्वास व्यक्त गरे । रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले सरकारले औद्योगिक विकासका लागि नीति र कार्यक्रम तथा वजेटमा समावेश गरेका सहुलियतहरु कार्यान्वयनमा ल्याउन सकेमा औद्योगिक बातावरण बन्ने हुँदा त्यसमा ध्यान दिन आग्रह गरे । कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले कपिलवस्तुमा आर्थिक विकासका धेरै सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि सहकार्य, सहमती जरुरी रहेको भन्दै संघसंग सहकार्यको प्रस्ताव राखे । कपिलबस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले संघले स्थापनाको छोटो समयमा केही महत्वपूर्ण कामहरु गरेको बताए ।

संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीका अनुसार कार्यक्रममा रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोरा, पूर्व अध्यक्ष प्रद्युम्मलाल श्रेष्ठ, वोनिन पिया, सल्लाहाकार भुपाल कुमार श्रेष्ठ र ऋषि भण्डारी अवलोकन भ्रमण कार्यक्रमका संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, कपिलबस्तु उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तुल्सीराम घिमिरे लगायतले आर्थिक क्षेत्रका बारेमा चर्चा गरेका थिए । टोलीले अर्घाखाँचीको धार्मिक पर्यटकिय स्थल नरपानी तथा सुपादेउरालीको अवलोकन गरेको छ । त्यस अवसरमा नरपानी क्षेत्रको पर्यटकिय विकाससँगै त्यहाँ रहेको चुनढुङा खानीको अवस्थाका बारेमा स्थानियहरुसँग जानकारी लिएको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताएका छन ।