२०८१ श्रावण १२

दूरसंचार सेवाका बारेमा बृहत अन्तरक्रिया गुणस्तर सुधार्न र सेवा प्रभावकारी बनाउन माग
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ २७, शुक्रबार १६:४८ गते

बुटवल ।
दूरसंचार सेवा अझ बढी प्रभावकारी बनाउन गुणस्तर सुधार र सेवा विस्तार गर्न लुम्विनी प्रदेशका सरोकारवालाहरुले माग राखेका छन । उनीहरुले शहर समेत नेपाल टेलिकमसहित दूरसंचार सेवा प्रवाह गर्ने निकायहरुको सेवा गुणस्तरीय हुन नसकेको गुनासो गर्दै सेवा प्रभावकारी बनाउन नेपाल दूरसंचार प्रधिकरणले प्रभावकारी भुमिका निर्वाह गर्न सुझाव समेत दिएका छन ।
शुक्रवार बुटवलमा गरिएको कार्यक्रममा लुम्विनी प्रदेशका विभिन्न निकायको प्रतिनिधिहरुले दूरसंचार सेवा प्रभावकारी नहुदा विभिन्न समस्या झेल्नु परेको समेत बताए । लुम्विनी प्रदेशमा दूरसंचार सेवाको बर्तमान अवस्था, अब गर्नु पर्ने काम , दूरसंचार सेवाको गुणस्तरलगायतको विषयमा सेवा प्रदायक र सरोकारवाला संग गरिएको कार्यक्रममा टेलिफोन देखि इन्टरनेटसम्मका सेवा सुधार्न सरोकारवालाहरुले घच्घचाएका थिए ।
बुटवलमा समेत गुणस्तरीय सेवा नपाएका गुनासा राखेका सहभागिहरुले पहाडी जिल्लामा अझै पनि सहज रुपमा सबै स्थानमा सेवा नपाएको गुनासो राखेका थिए । मोवाइलमा कुरा गर्न रुखमा चढ्नुपर्ने अवस्था देखि इन्टरनेट चलाउन अग्गा अग्ला डाडाहरुमा पुग्नुपर्ने बाध्यता रहेको ग्रामीण क्षेत्रबाट कार्यक्रममा आएका ब्यक्तित्वहरुले बताएका थिए ।
गुणस्तर सुधार्नुपर्नेमा मन्त्रीको जोड

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले दूरसंचार सेवा प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिदै गुणस्तरलाई सुधार गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । उनले दूरसंचार सेवा प्रभावकारी बनाउन प्रदेश सरकार आवश्यक भुमिका निर्वाह गर्ने तथा समन्वय गरेर अगाडी बढ्ने भन्दै सेवाग्राहीबाट आएका गुनासा तथा समस्या हल गर्दै अगाडी बढ्न प्राधिकरणलाई सुझाव दिए ।
त्यस्तै प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले नेपाल टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तरमा सुधार ल्याउनुपर्नेमा जोड दिए । जिल्ला समन्वय समिति अर्घाखाचीका प्रमुख जीवनारायण कोइराला, सुनवल नगरपालिका प्रमुख विमला अर्याल, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ती, पाणिनी गाउपालिकाका अध्यक्ष टेकराज न्यौपानेले शहरमा नै प्रभावकारी बन्न नसकेको दुरसंचार सेवामा ग्रामीण क्षेत्रमा अझ बढी समस्या रहेको भन्दै समस्या समाधान गर्ने गरी सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
नेपाल चेम्बर अफ कमर्सका प्रदेश अध्यक्ष टंक पोखरेल, उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, चेम्बर्स अफ कमर्स तिलोत्तमाका अध्यक्ष बाबुलाल भुसाल, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका सचिव लिलाधर लुइटेल , पत्रकारहरु प्रकाश खनाल, लक्ष्मण पौडेल, दिनेश पाण्डेलगायतले दूरसंचार सेवाका बारेमा धारणा राख्दै विभिन्न सुझाव दिएका थिए ।
चारवटा कार्यपत्र प्रस्तुत
कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरण उपभोक्ता हित संरक्षण महाशाखाका निर्देशक अर्जुन घिमिरेले कार्यपत्र प्रस्तुत गर्दै दूरसंचार सेवाका बारेमा जानकारी गराएका थिए ।
त्यस्तै नेपाल टेलिकमका वरिष्ठ ईञ्जिनियर डाक्टर मधुसुधन दाहालले टेलिकमले लुम्बिनी प्रदेशमा पुर्याएको सेवाका बारेमा चर्चा गरेका थिए । एनसेलको सेवाका बारेमा एनसेलका निर्देशक रमेश घिमिरे, इन्टरनेट सेवा प्रदायकको तर्फबाट वल्ड लिंकका प्रमुख कार्यकारी अधिकृत केशब नेपालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष नवराज कुवरले सुचना प्रविधिको महत्वलाई ध्यान दिदै दूरसंचार सेवालाई थप प्रभावकारी बनाउन दूरसंचार प्राधिकरणसहितका निकायहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।
समस्या समाधान गर्दै दूरसंचार सेवा थप प्रभावकारी बनाउने अध्यक्ष खनालको भनाइ

दूरसंचार सेवा सुधार देखि गुणस्तरका बारेमा उठेका प्रश्नहरुलाई सम्वोधन गर्दै नेपाल दूर संचार प्रधिकरणका अध्यक्ष पुरुषोत्तम प्रसाद खनालले लुम्विनी प्रदेशमा दूरसंचार सेवाका समस्या बुझ्न र समाधान गर्न प्राधिकरणले प्रदेश स्तरीय कार्यक्रम गरेको भन्दै दूरसंचार सेवामा तत्काल सुधारका काम हुने बताए । सेवाको गुणस्तर सुधार गर्दै प्रभावकारी बनाउन प्राधिकरणले आवश्यक भुमिका निर्वाह गर्ने भन्दै उनले आगामी दिनमा गुनासा आउन नदिने गरी काम हुने बताए ।
मुलुकमा योजना वद्ध विकास नहुदा समस्या हुने गरेको चर्चा गर्दै अध्यक्ष खनालले आवश्यक स्थानमा टावरहरु राख्न सबै ठाउमा सहज रुपमा उपलब्ध नहुदा पनि समस्या हुने गरेको बताए । टावर राख्न सहज रुपमा घर धनी देखि विभिन्न निकायले दिएमा सेवा प्रभावकारी बनाउन सहज हुने धारणा पनि उनले राखे । उनले दूरसंचार सेवाको गुणस्तरका बारेमा प्रदेश सरकार तथा स्थानिय सरकारले पनि सेवाग्राहीका गुनासा सम्वोधन गर्ने गरी भुमिका निर्वाह गर्न सक्ने पनि बताए । प्रदेश तथा स्थानिय सरकारसग आवश्यक समन्वय तथा सहकार्य गरेर अगाडी बढ्ने धारणा पनि उनले राखे ।

प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्माले संचार क्षेत्रका बारेमा चर्चा गरेको कार्यक्रममा प्रदेशको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव यमवहादुर केसीले पनि दूर संचार सेवाको गुणस्तर सुधारमा ध्यान जानुपर्नेमा जोड दिएका थिए ।