२०८१ मंसिर २१

लुम्विनीमा कुलप्रसाद नेतृत्व सरकारको एक वर्ष सरकार भन्छः कार्यकाल सफल
  • लुम्बिनी खोज
  • २०७९ श्रावण २९, आईतवार १६:३८ गते
बुटवल ।
लुम्विनी प्रदेशमा कुलप्रसाद केसी नेतृत्वको सरकार गठन भएको एक वर्ष पुरा भएको उपलक्ष्यमा प्रदेश सरकारले ५२ वुद्धे उपलब्धी सार्वजनिक गरेको छ । सरकारले आइतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका उपलब्धीहरुमा विभिन्न कामलाई समेटिएको छ ।
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम घोषणा भई प्रदेशका १०९ वटै स्थानीय तहमा लागू भई कार्यान्वयनमा आएको,. ४ वटा प्रदेश गौरवका आयोजनाको रुपमा राप्ती उपत्यकामा राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय र रामपुर, पाल्पादेखि पातिहाल्ना, रोल्पा सडक आयोजना घोषणा गरिएको तथा मुटु, मृगौला र क्यान्सर रोगको उपचारार्थ विपन्न नागरिक उपचारमा थप सहयोग रु २ लाखसम्म प्रतिव्यक्ति उपचार सहायता उपलब्ध गराउने कार्यक्रम अन्तर्गत कार्यविधि तर्जुमा गरी २ सय ७६ जनाले सहायता प्राप्त गरेको प्रदेश सरकारले जनाएको छ ।
त्यस्तै सरकारका उपलब्धीमा पाँचौं प्रदेश समन्वय परिषद्को बैठक सम्पन्न भई निर्णयहरूको कार्यान्वयन गरिएको देखि नवनिर्वाचित १०९ स्थानीय तहका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्षसँग प्रदेश सरकार र स्थानीय तह बीचको समन्वय र अन्तरसम्बन्धका सम्बन्धमा विज्ञहरु सहित छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई पनि समावेस गरिएको छ । त्यस्तै संघीय शासन व्यवस्थाको सबलीकरणका लागि राष्ट्रिय सभाका सम्माननीय अध्यक्षसमेतको सहभागितामा राष्ट्रिय सभाका माननीय सदस्यहरु, संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारीहरुबीच बृहत् बहुपक्षीय अन्तरक्रियात्मक कार्यक्रम लाई पनि सरकारले उपलब्धी ठानेको छ । १२ वटै जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखसँग छलफल तथा अन्तरक्रिया सम्पन्न गरिएको , प्रदेशवासीका गुनासाहरुलाई समयमै सम्बोधन गरी शासकीय व्यवस्थामा सुधार ल्याउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा “हेलो मुख्यमन्त्री“ कार्यक्रम सञ्चालनमा ल्याइएकोलाई पनि उपलब्धीमा समावेश गरिएको छ ।
के के भए त विकास? .
लुम्विनी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माका अनुसार प्रदेश को स्थायी राजधानीमा आवश्यक संरचना निर्माणका लागि विभिन्न कामले गति लिएको छ । त्यस्तै यस अवधिमा २२३ कि.मि. सडक कालोपत्रे, २६५ किमि ग्राभेल र १२१ कि.मी नयाँ ट्रयाक खोलिएको छ । प्रदेश स्थापना पश्चात् हालसम्म ७२ ओटा सडक पुल निर्माण भएकोमा ४० ओटा यसै वर्ष सम्पन्न भएका छन् भने २३ ओटा झोलुङ्गे पुलमध्ये ११ ओटा यस वर्ष सम्पन्न भएका छन ।
सिंचाईतर्फ थप २६५८ हेक्टर कृषियोग्य जमिनमा सिंचाई सुविधा विस्तार भएको छ । ३७० हेक्टर जमिन तटबन्धमार्फत् जमिन उकास गरिएको छ ।. विपद् व्यवस्थापन तर्फ ७५३ घरपरिवारलाई थप राहत प्रदान गरिएको छ भने. १५३ क्षतिग्रस्त घरको पुनर्निर्माणमा सहायता उपलब्ध गराएको छ । राप्ती र लुम्बिनी प्रादेशिक अस्पतालहरूमा बहिरङ्ग सेवा र जनरल बेड सेवामा लाग्ने शुःल्क २०७९ साउन १ गतेदेखि पूर्ण रुपमा निःशुल्क गरिएको तथा लुम्बिनी प्रदेश सरकारबाट सञ्चालित अस्पतालहरूमा निःशुल्क रगत प्रदान गर्ने कार्य सुरु गरिएको पनि सरकारले जनाएको छ । सिकलसेलको निदान र उपचारको कार्यमा प्रदेश सरकारले तराईका ६ वटै जिल्लाका ८ ओटा अस्पतालमा सिकलसेल कर्नर स्थापना गरिएको पनि प्रदेश सरकारले जनाएको छ । सरकारका प्रवक्ता शर्माले मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको एक वर्षको कार्यकाल सफल रहेको दावी गरे । यो अवधीमा बजेटको कार्यान्वयन सन्तोषजनक रहेको देखि अन्य महत्वपूर्ण कामहरु भएको बताए । प्रदेशलाई सम्वृद्ध वनाउदै जनतामा परिवर्तन ल्याउने गरी कामको थालनि भएको मन्त्री शर्माले बताए ।