२०८१ श्रावण १२

हतियारको कुरा नगरेकाले विप्लवसंगको सहमति शंकाको घेरामा ः शान्ति समाज
  • लुम्बिनी खोज
  • २०७७ फाल्गुन २७, बिहीबार ०८:४१ गते

बुटवल २७ फागुन ।
मानव अधिकार तथा शान्ति समाजका नव निर्वाचित केन्द्रीय सभापति गोबिन्द खनालले सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच भएको सहमतिमा हतियारका बारेमा कुरा नगरेका कारण स्वागतयोग्य भएपनि शंकाको घेरामा रहेको बताएका छन ।
पोखरामा सम्पन्न समाजको २३ औं राष्ट्रिय परिषद बैठकका निर्णय सार्वजनिक गर्न बुटवलमा सोमबार गरिएको पत्रकार सम्मेलनमा वोल्दै सभापति खनालले सहमतिमा हतियार व्यवस्थापनबारे कुनै उल्लेख नहुंदा शंकाको घेरामा रहेको बताए । शान्तिको विकल्प हिंसा हुनै नसक्ने भन्दै उनले शान्तिपूर्ण बाटोमा आउने निर्णयलाई स्वागत गरिएको बताए ।
राष्ट्रिय परिषद बैठकबाट सभापतिमा निर्वाचित खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेर संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई सर्वोच्च बचाएको उनले बताए । शान्ति समाज कुनै पनि प्रकारको हिंसाको विरोधमा रहेको भन्दै उनले मुलुकको शान्ति, मानवअधिकारका अतिरिक्त अन्तराष्ट्रमा हुने हिंसात्मक गतिविधिका विरुद्धमा उभिदै आएको र आगामी दिनमा पनि हिंसाका विरुद्धमा उभिने बताए । वर्मामा भएको सैनिक कूको विरोध गर्दै उनले दमन रोक्न र लोकतन्त्र पुनःवहालीका लागि सबै लोकतन्त्रवादी एक भएर आवाज उठाउनुपर्ने उनले बताए । विश्वका ९ शक्ति राष्ट्रले आणविक अस्त्र निशस्त्रीकरण सन्धिमा हस्ताक्षर नगर्दा विश्व सुरक्षित हुन नसकेकाले त्यसतर्फ विश्वभरका शान्तिगामीको ध्यान जानुपर्ने सभापति खनालले बताए ।
मुलुकमा लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानव अधिकार कमजोर बनाउन हुने जुनसुकै प्रयासविरुद्ध शान्ति समाज उभिने र त्यस्ता प्रयास असफल बनाउने सभापति खनालले बताए । पत्रकार सम्मेलनमा जिल्ला सभापति डीपी खनालले देशभरका ७७ शाखामध्ये रुपन्देही शाखा उत्कृष्ट शाखाका रुपमा पुरस्कृत भएको जानकारी गराए ।