२०८२ माघ २५

लुम्विनीमा लौरो अभियानका उम्मेदवार घोषणा
  • लुम्बिनी खोज
  • २०७९ भाद्र ३१, शुक्रबार १६:२८ गते

बुटवल ।
‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले लुम्विनी प्रदेशका विभिन्न जिल्लाका केही निर्वाचन क्षेत्रका लागि उम्मेदवारी घोषणा गरेको छ ।
शुक्रवार बुटवलमा गरिएको घोषणा कार्यक्रममा रुपन्देही, कपिलवस्तु, प्यूठानका केही निर्वाचन क्षेत्रका उम्मेदवार घोषणा गरिएको छ । रुपन्देहीमा प्रतिनिधि सभा सदस्यतफ क्षेत्र नम्वर–१ मा विशाल बास्कोटा, २ मा डाक्टर निकोलस भुसाल, ३ मा प्रख्यात बन्जाडे र ५ मा भीष्म रानालाई उम्मेदवार घोषणा गरिएको छ । त्यस्तै केही प्रदेश सभा सदस्यका उम्मेदवार पनि रुपन्देहीबाट घोषणा गरिएको छ ।
यस्तै कपिलवस्तु क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा इन्जिनियर देवेन्द्रकुमार शर्मा र प्युठानमा रामचन्द्र केसीले उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनीहरु लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्ने घोषणा भएको हो । उनीहरुलाई चुनाव चिन्ह लौरो प्रदान गरिएको थियो । त्यस्तै सोही कार्यक्रममा कैलाली तथा कञ्चनपुरका केही क्षेत्रका उम्मेदवारलाई समेत परिचित गराइएको थियो । त्यस्तै चुनाव चिन्ह लौरो सुरक्षित गर्न दल दर्ता गरिएको जानाकारी पनि गराइएको थियो ।कार्यक्रममा लौरो अभियानका संयोजक सुमन सायमी, हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरे तथा उम्मेदवारहरुले मुलुकमा परिवर्तनका लागि लौरो अभियान मार्फत निर्वाचनमा होमिएको बताएका थिए । सबै निर्वाचन क्षेत्रबाट लौरो अभियानका उम्मेदवारलाई जिताउन आग्रह गरेका उनीहरुले अब काठमाण्डौंमा मात्रै बालेन साह भएर नहुने भन्दै देशभर बनाउन लौरो अभियानका उम्मेदवारहरुलाई जिताउनुपर्ने बताएका थिए । ठूला दल तथा पुराना पार्टी र पुराना नेताहरुबाट मुलुकको विकास हुन नसकेको भन्दै मुलुकको विकासका लागि युवा तथा सक्षम उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए ।