२०८१ श्रावण १२

इन्धन उत्पादन गर्ने उद्योगलाई कच्चा पदार्थको अभाव उद्योग नै बन्द हुन थाले
  • लुम्बिनी खोज
  • २०७७ फाल्गुन २७, बिहीबार ०९:१२ गते

बुटवल २७ फागुन ।
सीमा क्षेत्रमा हुने तस्करी नरोकिदा त्यसको असर स्वदेशी उद्योगहरुमा देखा पर्न थालेको छ । फालिएका थोत्रा टायर तथा ट्यूवको भारत तस्करी हुँदा फर्नेश आयल उत्पादन गर्ने उद्योग कच्चा पदार्थको अभावमा संकटमा परेका छन् । रुपन्देहीमा रहेका दुईवटा उद्योगमध्ये एउटा पूर्णरुपमा बन्द भएको छ घने अर्को बन्द हुने अवस्थामा पुगेको छ ।
सिक्टहनमा रहेको बाबा इनर्जी उद्योग फागुन लागेदेखि नै बन्द छ । विगतमा पनि कच्चा पदार्थ अभावमा चल्ने बन्द हुने गर्दै आएको उद्योग अहिले बन्द नै गर्नु परेको उद्योगका सञ्चालकले बताएका छन । बाबा इनर्जीले दैनिक २५ सय लिटर इन्धन उत्पादन गर्दै आएको थियो । तर फागुन लागेदेखि उद्योग बन्द अवस्थामा रहेको उद्योगकका सञ्चालक बोनिन पियाले जानकारी दिए । उनको उद्योगमा १० जनाले रोजगारी पाएका थिए । यस उद्योगमा साढे ४ करोड लगानी भएको छ । कच्चा पदार्थको तस्करी नेपालबाट भारत तर्फ भएको कारण कच्चा पदार्थको कमी भएको उद्योग सञ्चालकहरुको भनाइ छ ।
त्यस्तै जिल्लाको केरवानीमा रहेको स्पीड इनर्जी इण्डष्ट्रिज प्रालि कच्चा पदार्थको अभावले बन्द हुने अवस्थामा पुगेको हो ।
“भारत तस्करी नहुने हो भने यहीं उपलव्ध हुने थोत्रा टायरले उद्योगका लागि आवश्यक कच्चा पदार्थको माग पूरा गर्छ, तस्करी नियन्त्रण हुन नसक्दा स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेको छ”–उद्योगका प्रवन्ध सञ्चालक अजयमान श्रेष्ठले भने ।
२०७२ सालदेखि सञ्चालनमा आएको उद्योगको क्षमता दैनिक १० हजार लिटर तेल उत्पादन गर्ने रहेपनि अहिले भने चारहजार लिटरको हाराहारीमा मात्रै उत्पादन भैरहेको उद्योगी श्रेष्ठले बताए । यो उद्योगले काम नलाग्ने टायर, ट्यूव जस्ता रबरहरुलाई कच्चा पदार्थको रुपमा प्रयोग गरी पायरोलाईसिस प्रक्रियाद्वारा विभिन्न उद्योगहरुले इन्धनको रुपमा प्रयोग गर्ने फर्नेश आयल उत्पादन गर्ने गर्छ । त्यस्तै कोइलाको प्रतिष्थापनको रुपमा प्रयोग हुने कार्वन र स्टील वायर जस्ता औद्योगिक वस्तु उद्योगबाट उत्पादन हुन्छ । यो उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ बेलहिया, विरगन्ज, विराटनगर, नवलपरासीको महेशपुर, कृष्णनगरलगायतका नाकाबाट तस्करी भई भारत निकासी भइरहेको प्रवन्ध सञ्चालक श्रेष्ठको भनाइ छ । प्रतिदिन १८ देखि २० टन कच्चा पदार्थ आवश्यक पर्नेमा अहिले बढीमा १० टनसम्म प्राप्त भैरहेको उनको दावी छ । उनले आन्तरिक रुपमा उत्पादित फर्नेश आयल स्थानीय उद्योगले अनिवार्य उत्पादन गर्नुपर्ने नीतिगत व्यवस्था गर्ने हो भने इन्धन आयातमा कमी आउने पनि दावी गरे । “उद्योगले चाहे अनुसारको कच्चा पदार्थ पाए यहींबाट वार्षिक २५ लाख लिटर इन्धन उत्पादन गर्छौ, यस्ता उद्योग देशभर चारवटा छन्”–श्रेष्ठले भने । एकातिर आयात भएका फर्नेश आयलसँग स्थानीय उत्पादनले प्रतिष्पर्धा गर्न नसक्ने अवस्था र अर्कोतिर कच्चा पदार्थको अभावले उद्योग सञ्चालनमा निकै कठिनाई झेल्नुपरेको उनले बताए । आन्तरिक उत्पादन बढ्दै जाँदा आवश्यक पुरानो टायर ट्यूव, रवरजन्य आवश्यक कच्चा पदार्थको विदेशबाट आयात गर्ने व्यवस्था भन्सार मूल्यांकनमा निःशुल्क दरमा समावेश गर्नुपर्ने उद्योगीको माग छ । उद्योगी श्रेष्ठले आन्तरिक रुपमा उत्पादित फर्नेश आयलको खपतलाई घटाइ नपुग इन्धन मात्र आयातको अनुमति दिनुपर्ने माग पनि गरे । हाल वार्षिक पाँच करोड लिटर इन्धन आयात हुँदा ३० अर्व रकम बाहिरिने भन्दै यसलाई कम गर्नका लागि आन्तरिक उत्पादन, माग र खपथ सुनिश्चित गर्नुपर्ने उनले बताए । यस्ता उद्योग धनगढी, विराटनगर र विरगन्जमा एक–एकवटा छन् । नेपालमा खपत हुने फर्नेश आयल मध्ये स्वदेशी उद्योगको उत्पादन तीन प्रतिशत मात्र छ ।
उद्योगका प्रवन्ध सञ्चालक श्रेष्ठले अहिले यो उद्योगले वार्षिक सातसय टन कार्वन भारत निर्यात गरिरहेको जानकारी दिए । दुईवटा प्लान्ट सञ्चालनमा ल्याएको उद्योगको लगानी अहिले १६ करोड पुगेको छ । सवा दुई बिघा क्षेत्रफलमा रहेको उद्योगले ३० जनालाई रोजगारी दिएको छ ।

अनाधिकृत निकासी रोक्न माग गर्दै उद्योग संघले बुझायो ज्ञापन पत्र

अनाधिकृत रुपमा उद्योगका कच्चा पदार्थहरु निकासी बढेको भन्दै रुपन्देही उद्योग संघले त्यसलाई रोक्न माग गर्दै सम्बन्धित कार्यालयहरुमा ज्ञापन पत्र बुझाएको छ । गैर कानूनी ढंगबाट निकासी बढेका कारण नेपाली रिसाइक्लिन उद्योगहरु बन्दको अवस्थामा पुगेको भन्दै संघले प्रशासन र भन्सार कार्यालयहरुको ध्यानाकर्षण गराएको हो ।
हाल भन्सारबाट पुराना टायर, प्लाष्टिक, फलाम तथा कागज लगायतका कवाडी सामानहरु तस्करी मार्फत भारत तर्फ निकासी भइरहेको र त्यसका कारण उद्योगहरुले कच्चा पदार्थको अभाव खेप्नु परेको संघले जनाएको छ । संघको डेलिगेसन टोलीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, बेलहिया भन्सार कार्यालयका प्रमुख मनिराम पौडेल र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलसँग भेट गरी समस्याबारे अवगत गराएको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताए ।
संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वमा गएको डेलिगेसन टोलीले संघमा आवद्ध उद्योगीहरुले खेप्नु परिरहेका समस्या समाधानका लागि तत्काल पहल कदमका लागि आग्रह समेत गरेको थियो । अध्यक्ष बोहोराले स्वदेशी उद्योगको संरक्षण, रोजगारी अभिबृद्धि र आर्थिक विकासका लागि खुल्ला भन्सार बाधक बनेको भन्दै तत्काल गैर कानूनी क्रियाकलाप रोक्नुपर्नेमा जोड दिए । ज्ञापन पत्र बुभ्mदै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी घिमिरेले मातहतका सबै निकायहरुलाई तत्काल निर्देशन जारी गर्ने र उद्योगहरुको समस्या समाधानका लागि गम्भिर रुपमा अघि बढ्ने बताएको संघले जनाएको छ ।
त्यस्तै पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी पाठकले जिल्लामा हुने गरेका गैर कानूनी क्रियाकलापहरु रोक्न आपूmहरु सधैं कटिवद्ध रहेको र अनाधिकृत निकासी हुन नदिने आश्वासन समेत दिए । भन्सार कार्यालयका प्रमुख पौडेलले गैर कानूनी निकासी गतिविधिलाई कारवाहीको दायरामा ल्याउने बताए । प्रहरी उपरीक्षक पोखरेलले गैर कानूनी निकासीका सूचनाहरु तत्काल प्रहरी समक्ष पु¥याउन आग्रह गर्दै सबै प्रहरी प्रशासनलाई थप चनाखो बनाई परिचालन गर्ने प्रतिवद्धता व्यक्त गरे । डेलिगेसन टोलीमा संघका निवर्तमान अध्यक्ष गणेशप्रसाद अधिकारी, पूर्ब अध्यक्ष बोनिन पिया, वरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेल, दितीय उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, पूर्व उपाध्यक्ष अजयमान श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सहभागिता रहेको थियो ।