७ जेष्ठ २०८१, सोमबार

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारीमा उद्योग संघ
  • लुम्बिनी खोज
  • १० आश्विन २०७९, सोमबार ००:३६

बुटवल ।
रुपन्देही उद्योग संघले आगामी पुस ७ देखि १९ गतेसम्म बुटवलमा गर्न लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारीका काम अगाडी बढाएको छ । “संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका साथ हुन गइरहेको प्रदर्शनीका लागि संघले नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँग सहकार्य गर्दैछ ।

तयारीका क्रममा संघका अध्यक्ष माधब प्रसाद पौडेलको नेतृत्वको प्रतिनिधि मण्डलले काठमाडौं स्थित विभिन्न मन्त्रालय र सम्बन्धित विभागहरुमा भेट गरेको छ । टोलिले विभिन्न पक्षसग सह आयोजक र प्रवद्र्धक बनिदिन तथा आयोजनालाई सफल बनाउनका निम्ति सहकार्य गर्न आग्रह गरेको छ ।

टोलीले पूर्व उपप्रधान एवं अर्थमन्त्री बिष्णु प्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोयानारायण ज्ञवाली, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुन, लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका महानिर्देशक बिष्णु प्रसाद भुसाल, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौला, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्राविधिक शाखा प्रमुख लेखनाथ कंडेल तथा पर्यटन बोर्डका पदाधिकारीसँग भेटघाट गरी आयोजनाको विस्तृत प्रस्ताव पत्र पेश गरेको संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले बताए । टोलीले स्वरोजगार श्रृजना, उद्यमीलाई प्राविधिक ज्ञान र सरल बैकिङ्ग सुविधासँग जोड्ने उद्देश्यका साथ बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवन कुमार गोल्याण र पदाधिकारीहरु्रसँग समेत छलफल गरिएको संघका अध्यक्ष पौडेलले जानकारी दिए ।

नेपाल भित्र रहेका स्वदेशी उत्पादन र छिमेकी देशहरुमा प्रयोग भइराखेको नविनतम प्रविधिहरुबारे नेपाली उद्यमीहरुलाई जानकारी दिने गरीे आयोजनालाई थप प्रभावकारी बनाउन कसरी सकिन्छ भन्ने बिषयमा समेत सरोकारवाला पक्षसग भ्रमणका क्रमका टोलीले छलफल गरेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनीहरुको आयोजना गरी अनुभव संगालेको स्पेश मिडिया सलुसन प्रा.लि.सँग समेत संघको पदाधिकारी टोलीले आयोजनाका विषयमा बृहत छलफल गरेको संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाले बताए ।

वि.सं. २०४५ सालमा काठमाडौं बाहिर प्रथम पटक राष्ट्रिय औद्योगिक प्रदर्शनी गरी इतिहास रचेको रुपन्देही उद्योग संघले हरेक पटकका आयोजनाहरुलाई समयानुकुल परिमार्जन र परिस्कृत गर्दै अघि बढिसकेको छ । यस पटकको १५ औं संस्करणको आयोजनाले स्वदेशी उत्पादनको प्रवद्र्धन, प्रदर्शन र बजारीकरणका लागि टेवा पुग्ने विश्वास लिइएको संघले जनाएको छ । १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा कृषि, प्रविधि र पर्यटन प्रवद्र्धनलाई विशेष जोड दिइने संघका महासचिव हरि बहादुर खत्रीले बताए । यस आयोजनामा बुटवल उपमहानगरपालिका र लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र सह—आयोजकको रुपमा र सम्बन्धित मन्त्रालयहरु र विभागहरु प्रवद्र्धकको रुपमा रही सहकार्य गर्ने संघले जनाएको छ ।

प्रदर्शनी सफल पार्न विभिन्न उपसमिति गठनका प्रक्रिया समेत अघि बढेको र यस पटकको आयोजनाले स्वदेशी उद्यमशिलताको विस्तार, स्वरोजगार अभिबिृद्धि र रोजगारी श्रृजनामा महत्वपूर्ण भूमिका खेल्ने संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताए ।