२०८१ श्रावण १२

चन्द्रमामा अन्तरिक्ष स्टेशन बनाउने योजनामा चीन र रुस
  • लुम्बिनी खोज
  • २०७७ फाल्गुन २७, बिहीबार १०:०९ गते

बिबिसि नेपाली सेवाबाट

चीन र रुसले चन्द्रमामा अन्तरिक्ष स्टेशन बनाउने घोषणा गरेका छन्।

रुसी रोसकोसमोसले चीनको न्याश्नल स्पेस एड्मिनिस्ट्रेशनसँग चन्द्रमाको सतह, बाहिरी कक्ष वा दुवै स्थानमा अनुसन्धान सुविधाहरू विकास गर्न सहमति गरेको बताएको छ। दुवै देशको अन्तरिक्ष निकायहरूको एउटा वक्तव्यमा स्टेशन अन्य देशका लागि पनि उपलब्ध हुने उल्लिखित छ। रुसले पहिलो मानवयुक्त अन्तरिक्षयानको उडानको साठिऔँ वार्षिकोत्सव मनाउने तयारी गरिरहँदा यो घोषणा भएको हो। इन्टरन्याश्नल साइन्टिफिक लूनर स्टेशनले चन्द्रमाको अध्ययन र उपयोग अनुसन्धान लगायतका अन्तरिक्षसम्बन्धी कामहरू गर्ने विज्ञप्तिमा जनाइएको छ।

“चीन र रुसले अन्तरिक्ष विज्ञान, अध्ययन र विकासमा बटुलेको अनुभव एवम् अन्तरिक्ष उपकरण र अन्तरिक्ष प्रविधि प्रयोग गरेर संयुक्त रूपमा इन्टरन्याश्नल साइन्टिफिक लूनर स्टेशनको निर्माणका लागि कार्ययोजना तयार गर्नेछन्,” चिनियाँ भाषाको विज्ञप्तिमा भनिएको छ।

सहकार्य

विज्ञप्तिमा योजना, डिजाइन, विकास र सञ्चालनका लागि चीन र रुसले सहकार्य गर्ने बताइएको छ। चीनको अन्तरिक्ष कार्यक्रममा विज्ञता हासिल गरेका चेन लानले एएफपी समाचारसंस्थालाई यो ठूलो महत्त्वको कुरा भएको बताए। “चीनका लागि यो सबैभन्दा ठूलो अन्तरिक्ष सहकार्य योजना हो, त्यसैले यो महत्त्वपूर्ण छ,” उनले थपे। अन्तरिक्षको विषयमा चीन नवागन्तुक देश हो तर गत वर्षको डिसेम्बरमा चिनियाँ यानले चन्द्रमाबाट चट्टान र माटो सफलतापूर्वक पृथ्वीमा फर्काएको छ।

यसलाई चीनको अन्तरिक्ष क्षमताको उदाहरणको रूपमा हेरिएको थियो। अन्तरिक्ष अध्ययनमा अग्रणी भूमिका खेलेको रुसलाई भने अमेरिका र चीनले हालैका दिनमा ओझेलमा पारेका छन्। गत वर्ष स्पेसएक्सको सफलतापछि रुसले इन्टरन्याश्नल स्पेस स्टेशनमा यात्रु ओसार्ने एकाधिकार गुमाएको थियो। अमेरिकाले सन् २०२४ मा चन्द्रमामा फर्किने योजना बनाएको छ। योजनाअनुसार भएमा सन् १९७२ पछि पहिलो पटक एक अमेरिकी पुरुष र एक महिलाले चन्द्रमाको सतहमा पाइला टेक्नेछन्।