२०८२ असार ८
बुटवल ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको हठले नेकपा टुक्रिएको बताएका छन । बहुमतको निर्णय नमान्ने तानाशाही ओलीले संविधान कुल्चिएर अराजकता मच्चाएको आरोप नेपालले लगाए । गठबन्धन दलले शुक्रबार रुपन्देहीमा आयोजना गरेको प्रशिक्षक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीको कडा आलोचना गरेका थिए । एमालेबाट केही समयअघि बाहिरिएर गठबन्धन दलको तर्फबाट उम्मेदवार भएका घनश्याम भुसाललाई समेत व्यंग्य गर्दै उनले ओलीलाई भुसालले पनि धुन नसकेको उल्लेख गरे । नेता भुसालतर्फ हेर्दै नेपालले भने, ‘उहाँले ओलीलाई धुन्छु भन्नु भएको थियो । साबुन पानीले धुँदाधुँदै पाखा लाग्नु पर्यो । मैले पहिले नै भनेको थिएँ ओली सुध्रिने वाला छैनन ।’ आफूहरूले गठबन्धन गरेर मुलुकलाई निकै ठूलो संकटबाट बचाएको उल्लेख गर्दै अध्यक्ष नेपालले ओली नयाँ तानाशाह भएको आरोप लगाए ।