२०८१ मंसिर २१

रुपन्देही-१ मा शिक्षा र स्वास्थ्य क्षेत्रमा के गर्न चाहान्छन घनश्याम ?
  • लुम्बिनी खोज
  • २०७९ कार्तिक २९, मंगलवार १०:२३ गते

बुटवल ।  घनश्याम भुसाल र उनको टिमले रुपन्देही-१ मा  देशका मात्रै नभएर विदेशका विद्यार्थीसमेत अध्ययनको लागि आउने गरि यहाँको शिक्षा क्षेत्रको विकास गर्न  देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको पूर्वाधार निर्माण कार्य  सम्पन्न गरि बौद्धदर्शनको अध्ययन  र अनुसन्धानका लागि महत्वपुर्ण विश्वविद्यालयको रुपमा विकास गर्ने बताएका छन् ।

उनको घोषणा पत्रमा लुम्बिनी बौद्ध विश्वविद्यालयलाई देवदह क्षेत्रमा सञ्चालन गरिने र  बौद्धकालीन अध्ययन अनुसन्धान केन्द्र स्थापना गरिने उल्लेख छ। साथै उनले बुद्ध मावलीको रुपमा देवदहलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न पहल गर्ने बताउदै आएका छन्। त्यसो हुन सके देवदह र आसपासको क्षेत्रको विकासमा महत्वपुर्ण कोशेढुंगा थपिने उनको
भनाइ छ। देवदहमा रहेको देवदह आदर्श बहुमुखी क्याम्पस र तिलोत्तमा रहेको पशुपति कलेजमा स्नातकोत्तर तह सञ्चालन गर्ने प्रतिबध्दतामा उल्लेख छ भने राम नरेश आदर्श माध्यमिक विद्यालय परिसरमा स्नातक तहको क्याम्पस स्थापना र सञ्चालन गराइने योजना भुसालले अघि सारेका छन् । शिक्षा क्षेत्रका १० योजना अन्तरगत क्षेत्रगत रुपमा प्रविधिक शिक्षा स्थापना र सञ्चालन गराइनेछ उल्लेख गरेका उनले क्षेत्रभित्र रहेका विद्यालयहरूमा शैक्षिक गुणस्तर कायम गर्ने, विद्यालयलाई स्विकृति दिलाई आवश्यक पर्ने शिक्षक दरबन्दीको व्यवस्था गर्ने नीति बनाउन पहल गर्ने बताउदै आएका छन् ।
गुणस्तरीय शिक्षाका लागि प्रविधियुक्त शिक्षण सामाग्री तथा पुस्तकालयको निर्माण गरिने बताएका भुसालले दक्ष शैक्षिक जनशक्तिका लागि शैक्षिक तालिम र पुरस्कारको व्यवस्था गरिने, प्रत्येक विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था र १२ कक्षासम्मको शिक्षा निःशुल्क गराउने उल्लेख छ।  शिक्षा क्षेत्रलाई बालमैत्री तथा परिसरहरू अपाङ्ग मैत्री बनाउनेमा जोड दिएको भुसाल नेतृत्व गठबन्धन प्यानलले प्रत्येक वडाका माध्यमिक विद्यालयमा कुनै एक प्राविधिक विषयमा शीप हासिल हुने कोर्स सञ्चालनका लागि विशेष जोड दिने जनाएको छ ।

त्यसैगरी भुसालले ५ बर्षमा स्वास्थ्य क्षेत्रमा गर्ने आफ्ना ५ प्रतिबद्दता सार्वजनिक गरेका छन्।  उनले भने, ‘ हामीले ५  बर्षमा स्वास्थ्य क्षेत्रमा कम्तिमा ५ वटा काम गर्ने भनेका छौ जसमा प्रत्येक पालिकामा अत्याधुनिक प्रविधि र स्तरीय सेवासहितको अस्पताल निर्माण गर्ने र प्रत्येक वार्डमा स्वास्थ्य चौकी स्थापना गरी प्राविधिक जनशक्तिको व्यवस्था र नियमित औषधि सेवा उपलब्ध गराउने कुरा प्राथमिकतामा छन्।’ उनले तिलोत्तमा १७ वि.पी. ग्राममा स्थापना भएको अस्पताललाई यथाशीघ्र सञ्चालनमा ल्याउने, स्वास्थ्य बीमालाई सरल र सुलभ बनाउने, आयुर्वेदिक अस्पताल स्थापना गरी प्राकृतिक चिकित्सा र योग शिक्षा सञ्चालन गरिने लगायतका योजना आफ्नो प्रतिबद्दतापत्रमा उल्लेख गरेका छन्।