२०८१ माघ १८
देशभर गठबन्धनको परिस्थीति सकरात्मकः गृहमन्त्री खाँण
बुटवल ३० कात्तिक ।
गृहमन्त्री बालकृष्ण खाँणले देश भर नै गठबन्धनको पक्षमा चुनावी माहोल बनेको दावी गरेका छन । बुधवार बुटवलमा आयोजित कार्यक्रममा उनले देश भर नै गठबन्धनको परिस्थीति सकरात्मक बनेको बताए ।
उनले विभिन्न पत्रपत्रिका तथा मिडियाले गरेको प्ररम्भिक सर्वेमा गठबन्धनको १ सय ३१ भन्दा पनि बढी सिटमा अग्रता रहेको दावी गरे । मिडियाको सर्वै भन्दै उनले पतिस्पर्धी साथीहरुको जम्मा २१ सिटमा अग्रता रहेको पनि बताए । त्यस्तै जसपा ३ र राप्रपा शुन्य सिटमा अग्रता रहेको बताए ।
उनले अब विकासको युग शुरु भएको भन्दै यो दशक विकासको भएको बताए । विकासका लागि अधिकांश स्थानिय सरकार गठबन्धनको बनेको र प्रदेश र केन्द्र सरकार पनि गठबन्धनकै बन्ने बताए । विकासका लागि गठबन्धनलाई सहयोग गर्न पनि उनले आग्रह गरे ।
गृहमन्त्री खाणले लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीको बुटवलमै कायम हुनुपर्नेमा पनि जोड दिए । पूर्वाधार रहेको रुपन्देही सबै हिसावले राजधानीका लागि उपयुक्त भएको अवस्थामा स्थायी राजधानी तोक्ने क्रममा भएको निर्णय सच्चाउनु पर्नेमा जोड पनि दिए । विगतमा चुनाव जितेमा स्थायी राजधानी बुटवल राख्छौं भन्दै मत माग्ने साथीहरुले चुनाव जितेपछि बुटवलमा राजधानी चाहिदैन भन्दै मत जाहेर गरेपछि यहाका मतदाताको मन कुडिएको पनि बताए । । उनले स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा राजधानी लैजाँदा नेपाल सरकारको खर्बौं रकम लगाउनुपर्ने भएकाले उक्त निर्णय सच्चाउनुपर्ने बताए ।
गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा बुटवलमा आफ्नो अगुवाइमा अस्थायी राजधानी स्थापना गरेको धारणा राख्दै उनले प्रदेश सरकारले हतारिएर चुनावको मुखमा यहाँका सामान लोड लगेर दाङ लैजान हतार गरेको भन्दै असन्तुष्टि पोखे । सहमति बिना राजधानी सारिए बाटोबाटै फर्काउने समेत उनले चेतावनी दिए ।
पाँच दलीय गठबन्धनले जे बोल्छ त्यही गर्छ । छलछाम गर्दैन तर प्रतिपक्षीले दिग्भ्रमीत सन्देश प्रवाह गरेको छ भन्दै उनले त्यस्तो भ्रममा नपर्न पनि आग्रह गरे ।
कार्यक्रममा रुपन्देही क्षेत्र नम्वर २ का गठबन्धनका उम्मेदवार केसब बहादुर सर्यबशी थापाले रुपन्देही २ ले परिवर्तन खोजेको बताउँदै बिकासको लागि गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउन आग्रह गरे ।
प्रदेशसभा २ एक का उम्मेद्वार दिर्घबहादुर केसीले कांग्रेस नेतृत्वको गठबन्धनले संविधानको रक्षाको साथै समग्र देशकै बिकासका कामहरु गर्ने बताउँदै सो क्षेत्रमा रहेका समस्या समाधानमा आफुले नियमित काम गर्ने बताए ।
त्यस्तै क्षेत्र नं २ दुइबाट प्रदेश सभा सदस्य पदका उम्मेद्वार बामदेव क्षेत्रीले आफूहरुले जिते विद्यमान सुकुम्बासी समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । एमालेले झुटो प्रचार गरेको भन्दै एमालेका नेताहरु बुटवलमा एउटा कुरा र दाङमा अर्कै कुरा गरेर जनतालाइ झुक्काएको बताए । उनले वर्तमान सरकारले सुकुम्बासी समस्या समाधानको लागि आफ्नो काम अगाडि बढाएको बताउँदै त्यसलाई पूर्णता दिनको लागि पनि गठबन्धनकै सरकार आवश्यक रहेको भनाई राखे ।
नेकपा एकिकृत समाजबादीका नेता राजु गुरुङले एमाले उपाध्यक्ष बिष्णु पौडेलले राजधानीसित अर्थमन्त्री साटेको र बालुवाटारमा भ्रष्ट्रचार गरेको आरोप लगाउदै अहिले फेरि भोट माग्दै हिड्नु गैर राजनीतिक चरित्र भएको दाबि गरे ।