२०८२ असार ७
बुटवल ।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यभार सम्हालेका छन्। सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर कार्यभार सम्हालेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि उनले कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा रहेका पुष्पलालको सालिकमा माल्यार्पण गरेका थिए। यस्तै, उनले पेरिसडाँडास्थित पार्टी कार्यालयमा रहेको सहिद तथा बेपत्ता स्मृति स्तम्भमा पनि माल्यार्पण गरेका थिए। उनले कार्यभार सम्हालेसँगै मन्त्रिपरिषदको बैठक पनि बसेको हो। बैठकमा नवनियुक्त मन्त्रीहरू सहभागी छन्।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो सरकारमा काम गर्न सहज हुने बताएका छन्। सोमबार साँझ कार्यभार सम्हालेर मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यसपालिको सरकारमा काम गर्न सहज हुने बताएका हुन्। काम गरेरै छाड्ने संकल्प भएकाहरूको केन्द्रीकरण भएकाले पनि आफूलाई सहज भएको उनले बताए। ‘केही नयाँ गरेरै छाड्ने संकल्प भएकाहरूको केन्द्रीकरण भएको छ। मलाई सहज छ,’ उनले भने। नयाँ सरकार गठनले जनतामा आशा र भरोसा भएको देखिएको पनि उनले बताए। यस्तै मन्त्रिपरिषदको बैठकले प्रतिनिधि सभाको बैठक बोलाउने पनि निर्णय गरेको उनले बताए। ‘हाम्रो अगाडि देशको अगाडि, थुप्रै जटिलता र चुनौतीहरू छन्। तर यो मन्त्रिपरिषद जस्तो किसिमले बनेको छ। र गएको निर्वाचनमा मतदानको जस्तो परिणाम देखियो त्यसलाई समेटेको छ र आशा जगाएको छ,’ उनले भने, ‘हामी भर्खरै पहिलो बैठक सक्यौं। र हामीले यो बैठकमा पनि सबैभन्दा पहिला नेपालको अर्थतन्त्रको स्थिति जटिल र चुनौतिपूर्ण दिशातर्फ छ, त्यसलाई सुधार्नेबारे छलफल गर्यौं।’उनले जनताले पाइरहेको सास्तीलाई कम गर्ने बारेमा पनि निर्णय भएको बताए।
राहदानी विभाग, यातायात विभाग लगायत लामो लाइन हुने ठाउँहरूमा जनताले सास्ती भोग्न नपर्ने गरी नियन्त्रण र व्यवस्थापन गरिने उनले बताए। ‘जनताले ठाउँठाउँमा पाइरहेका सास्ती र दु:खहरूलाई कम गराउनेबारे; जस्तो राहदानी, लाइसेन्स सम्बन्धी विषयमा लामालामा लाइन र पीडा देखिएका छन्। त्यस विषयमा केन्द्रित भएर समयभित्रै नियन्त्रण गर्ने र प्रधावकारी ढंगले सेवा दिनेबारे निर्णय गरेका छौं,’ उनले भने।