२०८१ श्रावण १२

तिलोत्तमामा कोरोना विरुद्धको खोप अभियान सुरु
  • लुम्बिनी खोज
  • २०७७ चैत्र २, सोमबार ०९:५२ गते

१७ वडामैं खोप केन्द्र, पहिलो दिन २,३७७ जनाले खोप लगाए

वुटबल १ चैत । तिलोत्तमा नगरपालिकामा आइतबारबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ । नगरका सबै १७ वडामैं खोप केन्द्र कायम गरी कोरोना विरुद्धको खोप अभियान चलाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

वडा नं. ५ को खोप केन्द्रबाट अभियानको सुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले नगरबासीले आफ्नो घर नजिकैंबाट खोप सेवा पाऊँन् भन्ने उद्देश्यले आवश्यक प्रबन्ध मिलाएर हरेक वडामा खोप केन्द्र कायम गरिएको बताए । उमेर खुल्ने सरकारी कागजातसहित आफ्नो नजिकको खोप केन्द्रमा पुगी खोप लगाउन सबै नगरबासीलाई अनुरोध गर्दै नगर प्रमुख घिमिरेले जनस्वास्थ्यको संवेदनशीलतालाई ख्याल राख्न सबैलाई आग्रह गरे । नगर उपप्रमुख जागेश्वरी चौधरीले विश्व स्वास्थ्य संगठनले प्रयोग अनुमति दिएको खोप लगाईं कोभिड–१९ बाट सुरक्षित रहन सबै नगरबासीलाई आह्वान गरिन ।
तिलोत्तमामा चैत ३ गतेसम्म चल्ने अभियान अन्तर्गत् ६५ वर्ष उमेर पुगेका झण्डै दश हजार ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाउने अनुमान छ । अभियानको पहिलो दिन २ हजार ३७७ जनाले खोप लगाएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले जानकारी दिए । आइतबार खोप लगाएका कसैमा पनि अवाञ्छित घटना नभएको बताउँदै उनले खोप लगाएपछि हुन सक्ने अवाञ्छित घटनाको सन्दर्भमा तीन वटा एम्बुलेन्स र तालिम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्था मिलाइएको जानकारी दिए । खोप अभियानमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारीको साथैं टोल विकास संस्था, क्लवहरुले समेत सहयोग पुर्याएका छन् । हरेक वडामा खोप केन्द्र भए पनि स्थानीयको सहजताको लागि सवारीसाधनको समेत व्यवस्थापन मिलाइएको छ ।
मुटु रोग, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह (सुगर), शिकलसेल, एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरुले यो खोप लिन जरुरी रहेको बताइन्छ ।
कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन् । यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन् । यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जाने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।