२०८१ कार्तिक ३०
बुटवल, १४ पुस ।
नेपालमा पर्यटन क्षेत्रबाट प्रशस्त लाभ लिन सकिने संभावना रहेको भएपनि सो अनुरुपका काम पर्यटन क्षेत्रमा हुन नसकेको सरोकारवालाहरुले औल्याएका छन ।
पर्यटन क्षेत्रको विकासका लागि ठोस नीति नवन्दा पर्यटनको प्रचुर सम्भावना रहेर पनि नेपाल पछाडी परेको उनीहरुको भनाइ छ । १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको अवसरमा वहिवार प्रदर्शनी स्थल बुटवल मण्डपमा आयोजित पर्यटन उद्योगः विकास र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सो क्षेत्रका अगुवाहरुले नेपालको समग्र विकासको प्रमुख आधारका रुपमा पर्यटन उद्योगलाई सहि रुपमा उपयोग गर्ने नीतिी तथा कार्ययोजनाको खाचो रहेको बताए ।
कार्यक्रममा पर्यटन उद्योग विकास र सम्भावनाबारे कार्यपत्र प्रस्तुत गर्दै डा.हरिध्वज राईले पर्यटन उद्योगमा लगानी भए पनि पर्यटन उद्योगको मार्केटिङ र ब्राण्डिङ हुन नसकेको धारणा राखे । पर्यटन ग्रामिण विकास तथा शहरी विकास मन्त्रालयका सचिव डा.जक्कि मोहमद अन्सारीले उद्योग र पर्यटनको प्रवद्र्घनमा महोत्सवको महत्व रहेको बताउँदै कार्यान्वयन पाटोमा कमजोरीलाई हटाउने गरी लाग्नुपर्ने बताए ।
लुम्बिनी प्रदेशका पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीले चुरेको रेन्ज नै पर्यटन विकासको सम्भावना भएको बताउँदै १२ जिल्लामा गन्तव्य पहिचान गरिरहेको बताए । लुम्बिनी प्रदेश पर्यटनको सम्भावना नै सम्भावना भएको प्रदेश भएको उनको भनाइ छ ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष शिद्धिचरण भट्टराईले पर्यटन क्षेत्रमा काम गर्नेहरुले आ आफनो भूमिकालाई बुझ्ने र काम गर्न जरुरी रहेको धारणा राखे । रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले नीजि क्षेत्रका उद्योगी व्यवसायीहरुले पर्यटन क्षेत्रमा लगानी गर्ने र नेपालको पर्यटनलाई उद्योगको रुपमा स्थापित गर्न चाहेको तर राज्यले पर्यटन मैत्री नीति बनाउन नसकेको बताए ।
कार्यक्रममा पर्यटन ब्यवसायी माधव नेपाल, संघका महासचिव हरि बहादुर खत्री, गोष्ठी उपसमितिका संयोजक राजु घिमिरेलगायतले पर्यटन क्षेत्रको चर्चा गरेका थिए ।