२०८१ मंसिर ८
बुटवल ।
बुटवलमा जारी १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९मा शनिवार दर्शकहरुको भिड अत्यधिक हुन पुगेको आयोजकले बताएका छन । प्रदर्शनी स्थल बुटवल मण्डपको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रको क्षेत्र अवलोकन कर्ताहरुले भरिभराउ भएको थियो । दर्शकहरुको भिड बढेपछि लाइन व्यवस्थापन गर्दै सहज प्रवेश र निकासकाद्वारहरु पनि थप गरिएको थियो ।
रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ नेपाल उद्योग परिसंघको सहकार्यमा पुस ७ गतेदेखि सञ्चालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दर्शकहरुको अत्यधिक भिडलाई ब्यवस्थीत गरी सहज रुपमा अवलोकन गर्ने व्यवस्था मिलाउन आयोजकहरुलाई हम्मेहम्मे परेको थियो । दर्शकहरुको लगातारको आगमन प्रदर्शनी स्थलमा स्थानको अभाव भएपछि प्रवेशद्वार करिव १ घण्टा रोकेर व्यवस्थापन गर्नु परेको प्रदर्शनी प्रवन्धक यादव प्रसाद भण्डारीले बताए ।
शनिवार प्रदर्शनी स्थलमा दर्शकहरु टिकट काटेर अवलोकन गर्न विहानैबाट ओइरो लाग्न थालेका थिए । सार्वजनिक विदा परेका कारण दर्शकहरुको भिड अत्याधिक हुने अनुमान गरिएको भए पनि आयोजकले अनुमान गरेको भन्दा धेरै दर्शक आएपछि एकछिन व्यवस्थापन गर्न समस्या परेको सदस्य सचिव हरि बहादुर खत्रीले बताए । प्रर्दशनी स्थल भित्र रहेका स्टल क्षेत्र, मञ्च रहेको खुल्लाचौर र बाल उद्यानको क्षेत्रमा मान्छे उभिने ठाउँको अभाव हुन थालेपछि टिकट विक्री बन्द गर्दै करिव एक घण्टा प्रवेश रोकेर मानिसहरुलाई बाहिर पठाउने प्रवन्ध मिलाएको खत्रीले जनकारी दिए ।
प्रदर्शनी सचिवालयले दिएको जानकारी अनुसार शनिवार एकै दिन प्रदर्शनी अवलोकन गर्न १ लाख ५० हजार दर्शक मण्डपमा प्रवेश गरेको अनुमान गरिएको छ । प्रदर्शनी अवलोकन गर्न आउने दर्शकहरुलाई टिकट लिन सहज होस भन्दै आयोजकको तर्फबाट विहानै टिकट काउन्टर थप गरी प्रवेश टिकट विक्री गरिएको थियो । दर्शकहरुको भिड बढेपछि थप गरिएको टिकट काउन्टरबाट समेत टिकटको माग पुरा गर्न नसकिएको प्रदर्शनीका सहसंयोजक कृष्ण प्रसाद पराजुलीले बताए । प्रदर्शनी अवलोकन क्षेत्रमा भिड बढेपछि कुनै दुर्घटना नहोस् भनेर आयोजक मुल समितिका सदस्यहरु सबै जना खटिएको आयोजकले बताएका छन ।
आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले दर्शकहरुको उपस्थितिले आगामी आयोजनाका क्रममा थप सचेत बनेर काम गर्ने प्रेरणा, जिम्मेवारी र उत्साह दिएको बताए । मण्डपको क्षमता भन्दा बढी दर्शहहरुको घुइँचो बढेको अवस्थामा टिकट विक्री बन्द गरी व्यवस्थापन गर्ने काम गरिएको आयोजकको भनाइ छ । मण्डप भित्रका दर्शकहरुलाई बाहिर निकाल्नका लागि २ वटा छुट्टै निकासको व्यवस्था गरिएको थियो ।
भजन प्रतियोगिता शुरु
प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुती तथा प्रतियोगिताहरुको छनौट चरण अन्तिममा पुगेको छ । राष्ट्रिय लोक दोहोरी गित प्रतियोगिताको फाइनल शुक्रवार भएको छ भने शनिवारबाट भजन प्रतियोगिता शुरु भएको छ । भजन प्रतियोगितामा लुम्बिनी प्रदेशका ८ समूहले प्रतिष्पर्धा गर्दैछन् ।
यता प्रदर्शनी आइडल–२०७९ प्रतियोगिता अन्तरगत अन्तिम टप ४ गायकको प्रस्तुती शनिवार भएको छ । शुक्रवार प्रतियोगितामा टप ५ सम्म पुगेका प्रतियोगिले आफ्नो प्रस्तुती राखेकोमा कपिलबस्तु वाणगंगाका किशोर विक छनौटबाट बाहिरिएका छन् । भोटिङका आधारमा छनौट हुने प्रतियोगितामा अब टप ४ का प्रतियोगिहरुको प्रस्तुति बाँकी छ । प्रतियोगिताको फाइनल भिडन्त पुष १८ गते हुनेछ ।
स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती अन्तरगत शनिवार लोकदोहोरी गायक खेम सेन्चुरी, मानसिंह खड्का, लोकदोहोरी गायिका मन्जु पौडेल र अस्मिता डल्लाकोटी, नृत्य प्रशिद्धी ढकाल लगायतको प्रस्तुती रहेको थियो । आइतवार ¥यापर बाबु बिलिभर, ¥यापर ओफिम, हरिमाया रायमाझी, आधुनिक गायक रामहरि प्रेमी, लोक तथा दोहोरी गायक भरत क्षेत्री, नारायण बि.पि.,गायक तथा उद्घोषक दिपु मगर, डान्सर बबिता बोहोरा, आइडल उद्घोषक गोपाल, अधिकारी र उद्घोषक नारायण लेकाली लगायतको प्रस्तुति रहने छ ।