२०८१ श्रावण १२

प्रदेश प्रमुखले गराए लुम्बिनीका सबै सांसदको शपथ
  • लुम्बिनी खोज
  • २०७९ पुष १७, आईतवार १७:१४ गते

बुटवल, १७ पुस । लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनियताको शपथ लिएका छन । अरू प्रदेशमा जेष्ठ सदस्यले सम्बन्धित प्रदेश प्रमुखबाट सपथ ग्रहण गरेपछि अरू बाँकी सदस्यलाई शपथ ग्रहण गराउने गरे पनि लुम्बिनी प्रदेशमा सबै सांसदलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन्।

प्रदेशसभा नियमावली २०७९ को ४ को अनुसूची १ मा उल्लेख भएको ढाँचा अनुसार सबै सदस्यलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। अघिल्लो प्रदेशसभाको कार्यकालमा तत्कालीन प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा बनेको समितिले बनाएको नियमावलीमा प्रदेशसभा र प्रदेश प्रमुखको समन्वयमा सबै प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले नै पद तथा गोपनियताको शपथ ग्रहण गराउने उल्लेख गरिएको छ।त्यही नियमावली अनुसार प्रदेश प्रमुख शेरचनले सपथ ग्रहण गराएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए।

लुम्बिनी प्रदेशमा प्रत्यक्षका ५२ र समानुपातिकका ३५ गरी ८७ सदस्य छन्। नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का ९ सदस्य रहेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन तथा राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रका एक/एक प्रदेशसभा सदस्य छन् ।