२०८१ श्रावण १२

बुटवलमा कृषि मेला सुरु
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २, मंगलवार १३:३८ गते

बुटवल २ फागुन ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा मंगलबारदेखि बुटवलमा एघारौं संस्करणको कृषि मेला–२०७९ सुरु भएको छ । मेलाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कृषिको व्यवसायिक विकासमा सरकार गंभिर बन्नुपर्नेमा जोड दिए । कृषि प्रधान देशमा कृषिजन्य बस्तुको उपभोग पनि आयातमा धानिएको बताउँदै उनले यहि अवस्थामा अगाडि बढ्ने हो भने मुलुकको अर्थव्यवस्था झनै खस्किँदै जाने धारणा राखे । कृषिको व्यवसायिक विकास, प्रविधिको प्रयोग र वैज्ञानिक कृषि प्रणाली अपनाउनु पर्ने बताउँदै उनले यस तर्फ सरकार पनि गम्भिर हुनु पर्ने धारणा राखे ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कृषिको व्यवसायिक विकासको लागि प्रवद्र्धनात्मक रुपमा कृषि मेला सञ्चालन गर्दै आएको बताए । उनले कृषि बस्तुको प्रवद्र्धन तथा विविधिकरण गर्ने माध्यमको रुपमा खाद्य परिकारको प्रवद्र्धन पनि एउटा माध्यम भएकोले कृषि मेलामा पोर्क (बंगुर)का परिकार सहितको फेस्टिवल आयोजना गरिएको बताए । त्यसबाहेक च्याउ, दुग्ध, कोदो माछाका परिकार पनि मेलामा राखिएको र खाने प्रबृत्तिको विकासले स्थानीय कृषि बस्तुको प्रवद्र्धन गर्नुको साथै पोषणमा सुधार तथा आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने विश्वास उनले ब्यक्त गरे ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँ, बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले कृषिको व्यवसायिक विकासको लागि वैज्ञानिक कृषि प्रणाली, प्रतिस्पर्धी क्षमताको बस्तु उत्पादन, उत्पादित बस्तुको लागत घटाउन र कृषिलाई कसरी रोजगारीसँग जोड्न सकिन्छ भन्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका सभापति अरुण सुमार्गी, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, संघका सल्लाहकार तथा पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौल, बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख टेकराज पन्थी, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल लगायतले कृषि क्षेत्रको चर्चा गरेका थिए ।
बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको कृषि मेला यहि फागुनको ६ गते सम्म चल्ने छ । ‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कृषि मेलामा ‘प्रथम पोर्क फेष्टिवल’ समेत आयोजना गरिएको छ ।
पाँच दिनसम्म सञ्चालन गरिने मेलामा प्रविधिको प्रदर्शनी, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शनी, कृषि सेवा सम्बन्धि जानकारीमुलक र पोर्क पेष्टिवलका समेत गरी ५० स्टल समावेश गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराए । कृषिका अत्याधुनिक प्रविधि तर्फ धान रोप्ने मेसिन, बालि काट्ने मेसिन, गोड्ने मेसिन, बेलर मेसिन, थोपा सिचाई प्रविधि, हाईड्रोपोनिक्स, मौरी पालन, जैविक मल लगायतको प्रदर्शनी गरिने छ । त्यस्तै कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल र दुग्धपान प्रतियोगिता, लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी तथा विक्रि वितरण तथा कृषिमा आधारित सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने छ ।
संघले विगतमा विभिन्न मेला सफलता पूर्वक सम्पन्न गरिएको र यस पटकको कृषि मेला पनि सफलता पूर्वक सम्पन्न हुने विश्वास संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले ब्यक्त गरे ।