२०८१ श्रावण १२

भलाई कोषको साधारण सभाः दुर्घटना न्यूनिकरणमा व्यवसायी र मजदूरको मुख्य भूमिका
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन ४, बिहीबार १३:०८ गते

बुटवल, ४ फागुन ।

सवारी दुर्घटना न्युनीकरणका लागि यातायात व्यवसायी तथा मजदूरहरुको मुख्य भूमिका रहने सरोकारवालाहरुले बताएका छन् ।यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलको ४५ औं वार्षिक साधारण सभा तथा २३ औं अधिवेशनको उदघाटन सत्रमा बिहीबार बोल्ने वक्ताहरुले दुर्घटना न्युनीकरणसँगै यातायात क्षेत्रको व्यवस्थापनमा आपसमा सहकार्यउ गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

साधारण सभा तथा अधिवेशनको उदघाटन गर्दै कोषका पुर्व अध्यक्ष एवं मानार्थ सदस्य कुमार थापा मगरले दुर्घटना न्युनीकरण र दुर्घटना पछिको व्यवस्थापकीय भूमिकामा भलाई कोषले महत्वपूर्ण भूमिका खेलेको बताए । “दुर्घटना न्युनीकरण र क्षतिपुर्तीको विषय राज्यले अगाडि बढाउनुपर्ने हो, तर राज्यले गर्नुपर्ने काम भलाई कोषले गरेको छ”–थापाले भने । उनले यातायात व्यवसायी तथा मजदूर वर्गले उठाएका जायज मागलाई राज्यले संबोधन गर्नुको साटो कानुन विपरित जरिवाना असुल्ने काम गरेकाले त्यसविरुद्ध काठमाडौंमा आन्दोलन भएको बताए । तर आन्दोलन नियन्त्रणबाहिर जाँदा त्यसले यातायात व्यवसायी र मजदूरलाई नै घाटा पुगेको उनको भनाई छ ।

उनले बढ्दो दुर्घटना कम गर्न जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न पनि यातायात सम्बद्ध संस्थाहरुलाई आग्रह गरे । थुप्रै समस्या र चुनौतीको सामना गर्दै आएको कोषमाथि अहिले पनि थुप्रै चुनौती रहेको भन्दै थापाले चुनौतीको सामना गर्न सिंगो टिम एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । उनले चालक होसियार भए दुर्घटना न्यूनिकरणमा ७५ प्रतिशतले कमी आउने दावी गरे ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोषका अध्यक्ष दिनेश फुल्लेलले सवारीसाधनको वृद्धिसँगै दुर्घटनामा पनि वृद्धि हँुदै गएको र यसले थप चुनौती सिर्जना गरेको भन्दै चुनौतीलाई अवसरको रुपमा लिएर अघि बढ्ने बताए । उनले राज्यले यातायात क्षेत्रको सिण्डिकेट प्रथा अन्त्य गर्दा त्यसबाट भलाई कोषलाई जोगाएर यहाँसम्म ल्याएको भन्दै यसका लागि सिंगो टिमलाई धन्यवाद दिए । उनले संस्थाको मुख्य आम्दानीको श्रोत सवारीसाधनको शुल्क भएको भन्दै सवारी वृद्धि अभियान, सवारी धनीसँग घरमा, पसलमा, उद्यमी व्यवसायीसँग कलकारखाना, फ्याक्ट्री र फर्ममा भन्ने नाराका साथ अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।

कार्यक्रममा कोषका निवर्तमान अध्यक्ष नारायण भट्टराईले कोभिड १९ का बाबजुद संस्थाले हासिल गरेको सफलताले आगामी दिन झनै सहज हुने विश्वास व्यक्त गरे । कोषका पुर्व अध्यक्ष चिनबहादुर गुरुङले यातायात व्यवसायी र मजदूरको मात्र नभएर यात्रुहरुको सुरक्षामा पनि कोषले महत्वपूर्ण भूमिका खेलेको दावी गरे ।

साधारणसभाले अध्यक्ष, महासचिव, कोषाध्यक्ष र लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । त्यस अवसरमा तीनजना वृद्ध मजदूरका साथै कोष वृद्धि अभियानमा महत्वपूर्ण सहयोग पु¥याउनेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष डिलबहादुर थापा, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, एमाले जिल्ला सदस्य बाबुराम बोहोरा, नेपाली काँग्रेस बुटवल नगर उपसभापति ज्योती भण्डारी, नेपाल ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्ले, ट्रेड युनियन काँग्रेसका प्रदेश उपाध्यक्ष कृष्ण बेलबासे, कोषका उपाध्यक्ष छविालाल थापा, महासचिव योगबहादुर गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए । शुक्रबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।